मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ९ शुक्रबार १६:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रविधिमैत्री कक्षा र परीक्षाका लागि बाटो खुला गरिएको छ : शिक्षामन्त्री पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ९ शुक्रबार १६:१६:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले प्रविधिमैत्री ढंगले कक्षा र परीक्षा सञ्चालन गर्न बाटो खुला गरेको बताएका छन् ।

‘संकटको वेला सिकाइलाई अवरुद्ध पार्नुहुन्न, वैकल्पिक पद्धतिबाट भएपनि सिकाइ र सिर्जनात्मक अभ्यासलाई निरन्तरता दिनुपर्छ, यसका लागि संघले मात्रै हाेइन, प्रदेश र स्थानीय तहले पनि सहजीकरण गरेका छन्,’ मन्त्री पोखरेलले भने । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले गरेको ‘युवा वैज्ञानिक फोरम’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरका ६ सय ३७ वटा स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भइसकेका बताए । ‘सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना देखेको छ, त्यसका लागि युवा प्राविधिक वैज्ञानिक जनशक्तिको अग्रसरता अनिवार्य छ,’ उनले भने, ‘त्यसका लागि सरकार सधैँ तयार छ ।’

मन्त्री पोखरेलले सरकारले विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति नै जारी गरिसकेको र कार्ययोजना बनाएर काम गरिरहेको बताए । सरकारले ‘स्मार्ट नाष्ट’को अवधारणामा नाष्टअन्तर्गत सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना रहेको उनले बताए । 

वैज्ञानिक जनशक्तिको उत्पादन र प्रविधिको विकासकै लागि सरकारले अन्तराष्ट्रियस्तरको मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय स्थापना गर्न लागेको बताए । मन्त्री पोखरेलले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापनाका लागि समेत छलफल भइरहेको बताएका छन् । 

‘अहिले पनि देशभर करिब ९० हजार वैज्ञानिक जनशक्ति छ, तर त्यसको प्रयोग भएको देखिएन,’ मन्त्री पोखरेलले भने, ‘त्यसैले त्याे वैज्ञानिक जनशक्तिको सहभागितामा नवीन खोज र नवप्रवर्तनका काम गर्न युवा वैज्ञानिक फोरमले भूमिका खेल्नेछ ।’ 

मन्त्री पोखरेलले ग्लोबल इनोभेसन इन्डेक्समा यस वर्ष नेपाल १४ स्थान माथि उक्लिएकामा खुसी व्यक्त गरे । ‘हामीले गरेको कामको नतिजा देखिएको छ, अझै पनि बाहिरबाट जनशक्ति ल्याएर काम गर्नुपरेको अवस्था छ, हामीले हाम्रै वैज्ञानिकलाई घर फर्काए मात्र पनि दक्ष जनशक्तिको अभाव हुँदैन,’ उनले भने ।