१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मकरन्द परान्जपे
२०७७ असोज ९ शुक्रबार ०६:५६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यस्तो भारतमा मात्रै हुन सक्छ

न्यायालय समाजको अन्तिम इमानदार स्तम्भ हो । यो ढल्यो भने फेरि के नै बाँकी रहला र ?

Read Time : > 2 मिनेट
मकरन्द परान्जपे
२०७७ असोज ९ शुक्रबार ०६:५६:००

उदयपुरको लक्ष्मी विलास प्यालेस होटेल किनबेच मामिलामा सिबिआईको विशेष अदालतले १५ सेप्टेम्बरमा अरुण सौरीका खिलाफ आपराधिक मुद्दा चलाउन आदेश दिएको छ । मुद्दा सन् २००२ मा दायर गरिएको थियो । सिबिआईले सन् २०१९ मा अगाडि सारेको ‘क्लोजर रिपोर्ट’लाई खारेज गर्दै न्यायाधीश पूरनकुमार शर्माले अटलविहारी वाजपेयीको मन्त्रिमण्डलमा अर्थमन्त्रीका रूपमा सौरीले ‘सामूहिक र स्वतन्त्र रूपमा आफ्नो पदको दुरुपयोग गरेको’ ठहर गरेका छन् ।

न्यायालयले होटेल किनबेचमा सरकारलाई २२४ करोड नोक्सान भएकोसमेत बताएको छ । यस मुद्दामा मेसर्स कान्ति करमसी एन्ड कम्पनीलाई पनि आरोपित गरिएको छ, जसले सम्पत्तिको मूल्यांकन ४५ रुपैयाँ प्रतिवर्गफुटका दरले गरेको थियो । यसबारे टिप्पणी गर्दै न्यायाधीशले भने, ‘होटेलको एउटा चम्चा पनि योभन्दा महँगो हुन्छ ।’

एक सातापछि ८० वर्षमा पाइला टेक्दै गरेका सौरी आफ्नो व्यक्तिगत सत्यनिष्ठा र इमानदारीका लागि चिनिन्छन् । सत्य बोल्न र सत्यको बाटोमा हिँड्न खुट्टा कमाउने व्यक्तिमध्ये उनी पर्दैनन् भन्ने उनलाई चिन्नेहरू सबैलाई थाहा छ । अमेरिकाको सिरेक्युज विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले विश्व बैंकमा काम गरेका थिए ।

भारत फर्केपछि उनी इन्डियन एक्सप्रेसको सम्पादक बने । एक्सप्रेसका मालिक दुस्साहसी रामनाथ गोयनका थिए । उनी संकटकालमा पनि प्रधानमन्त्री इन्दिरा गान्धीसँग लड्न डराएनन् । गोयनका र सौरीको जोडी भारतीय राजनीति र लोकतन्त्रका लागि एउटा बलियो शक्ति बनिसकेको थियो । इन्दिरा गान्धीले सबै हतकण्डा प्रयोग गर्दा पनि उनी झुकेनन् ।

त्यसपछि सौरीले महाराष्ट्रका आठौँ मुख्यमन्त्री अब्दुर रहमान अंतुलेका खिलाफ भ्रष्टाचारविरोधी अभियान चलाएर उनलाई राजीनामा दिन बाध्य बनाइदिए । तिनताका अन्तुले गान्धीका विश्वास पात्र र बफादारका रूपमा प्रसिद्ध थिए । उनले शरद पवारलाई बेदखल गरेर मुख्यमन्त्रीको पद पाएका थिए ।

यसभन्दा अघि पवार र उनको प्रगतिशील लोकतान्त्रिक मोर्चाले सन् १९७८ मा कांग्रेसका वसन्तदादा पाटिललाई अपदस्त गरेका थिए । त्यसैले अब प्रतिशोध लिने पालो कंग्रेसको थियो । संकटकाललगत्तै कंग्रेस विभाजित भए पनि अंतुलेले गान्धीलाई साथ दिइरहे । वास्तवमा इन्दिरा कांग्रेस अथवा कांग्रेस (आई)को योजना अंतुलेको निवासमै बुनिएको थियो । सन् १९८० मा गान्धी लोकसभा निर्वाचनमा ३५३ सिटसहित भारी बहुमतका साथ सत्तामा आइन् । त्यसपछि अंतुलेलाई महाराष्ट्रको मुख्यमन्त्री बनाएर पुरस्कृत गरियो । उनी त्यो पदमा स्थापित हुने पहिलो मुस्लिम थिए । 

इन्डियन एक्सप्रेसको सम्पादक हुँदै गर्दा अरुण सौरीलाई गुप्त रूपमा भेट्न एकजना आइपुगे । ती व्यक्ति अस्पताल खोल्न चाहन्थे । तर, त्यसका लागि अंतुलेले उनीसँग ५ करोड माग गरे । यो पैसा इन्दिरा गान्धी प्रतिभा प्रतिष्ठानका नाममा नवगठित ट्रस्टलाई दिनुपर्ने थियो । सौरी र महाराष्ट्र टाइम्सका सम्पादक गोविन्द तलवलकरले यस मामिलामा छानबिन सुरु गरिदिए ।

इन्डियन एक्सप्रेसका मालिक दुस्साहसी रामनाथ गोयनका थिए । उनी संकटकालमा पनि प्रधानमन्त्री इन्दिरा गान्धीसँग लड्न डराएनन् । गोयनका र सौरीको जोडी भारतीय राजनीति र लोकतन्त्रका लागि एउटा बलियो शक्ति बनिसकेको थियो ।

कोयना बाँध पुनर्वास परियोजनाका दुईजना कर्मचारीको सहयोगमा सौरी र तलवलकरले ट्रस्टको खातापाता हात पारे । उनीहरूले ती दस्ताबेजका सबै पन्ना फोटोकपी गरे, जसमा सहयोग गर्नेहरूको सूची र चेक नम्बर दर्ता गरिएको थियो । उनीहरूले महाराष्ट्रको विभिन्न व्यवसायमा संलग्नसय जनाभन्दा धेरै सम्भावित लाभार्थी, कम्पनी र व्यक्तिसँग सम्बन्धित दस्ताबेज हात पारेका थिए ।

इन्दिरा गान्धीलाई आफ्नो नवगठित पार्टीका लागि ठूलो मात्रामा आर्थिक सहयोग चाहिएको थियो भन्ने स्पष्ट छ । र, आर्थिक सहयोग जुटाउनका लागि अंतुले अग्रणी व्यक्ति थिए । तर, इन्दिरा गान्धी प्रतिभा प्रतिष्ठानलाई सहयोग गर्नेहरूप्रति सरकारले ‘सफ्ट कर्नर’ राख्दै छ भन्ने सौरीले स्थापित गर्नुपर्ने थियो । महाराष्ट्र सरकारले एउटा सर्कुलरमार्फत चिनी र सिमेन्ट कम्पनीलाई 

‘प्रतिबोरा’का हिसाबले ट्रस्टलाई चन्दा दिनेहरूलाई छुट दिन निर्देशन थिएको थियो । तिनताका चिनी र सिमेन्ट दुवै सरकार नियन्त्रित वस्तुको श्रेणीमा थिए । यो सर्कुलर भ्रष्टाचारको बलियो आधार थियो । दुईजना उद्योगपतिले एउटा भेटघाटमा उनीहरूलाई सबै महत्वपूर्ण दस्ताबेज उपलब्ध गराएका थिए । भोलिपल्ट रिपोर्ट छापियो । संसद्मा निकै हंगामा भयो । अन्ततः यसै विवादका कारण अंतुलेले राजीनामा दिनुपर्‍यो । 

भारतमा परिवर्तनका अप्रतिम दूत र नेता सौरी ३० भन्दा धेरै पुस्तकका लेखक÷सम्पादक हुन् । सन् १९८२ मा रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित भइसकेका उनी सन् १९९० मा पद्मभूषणबाट पनि सम्मानित छन् । त्यसैगरी तहलका पत्रिकाको स्टिङ अप्रेसनसँग जोडिएर २० वर्ष पुरानो एउटा मुद्दामा ३० जुलाई २०२० मा प्रतिष्ठित वरिष्ठ नागरिक जया जेटलीलाई चार वर्षको कारावास सजायका लागि उनले भूमिका निर्वाह गरेका थिए । कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने सही हो । तर, प्रतिष्ठित र प्रतिभाशाली मानिस त यति लाचार हुन सक्छन् भने अन्यको के हालत हुँदो हो ? न्यायालय समाजको अन्तिम इमानदार स्तम्भ हो । यो ढल्यो भने फेरि के नै बाँकी रहला र ?

(लेखक सिमलास्थित भारतीय उच्च अध्ययन संस्थानमा प्रोफेसर र निर्देशक छन्) द प्रिन्टबाट