मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज ८ बिहीबार २०:२१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ऐँसेलुखर्कका ११ घर पहिरोको जोखिममा 

Read Time : > 1 मिनेट
२०७७ असोज ८ बिहीबार २०:२१:००

पहिरोका कारण ऐँसेलुखर्क गाउँपालिकाका ११ घर जोखिममा परेका छन् । भारी वर्षाका कारण पहिरो जान थालेपछि वडा नम्बर– ४ जलेश्वरीका ११ घर जोखिममा परेका हुन् । 

जलेश्वरीस्थित मावाका बस्तीभन्दा तलबाट सुरु भएको पहिरोले स्थानीय बासिन्दाको घर जोखिममा परेको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । ‘गाउँभन्दा माथि र तलबाट खनिएको सडकबाट पहिरो जान थालेको छ,’ उनले भने, ‘बस्तीको दुवैतिरबाट सुरु भएको पहिरोले जोखिम बढाएपछि उक्त बस्ती नै उठाउनुपर्ने अवस्था आएको छ ।’ 

बस्तीभन्दा तल खनिएको सडकको भित्ताबाट पहिरो सुरु हुँदा माथिल्लो क्षेत्रका बस्ती जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् । बस्तीमुनिको पहिरोबाट दिलबहादुर राई, टेकबहादुर राई र जुनकिरी राईको घर उच्च जोखिममा परेको वडाध्यक्ष नैनकुमार राईले बताए ।  

स्थानीय लालबहादु राई, पर्शुराम राई, पूर्णबहादुर राई, मनकुमार राई, मुगाधन राई, प्रेमबहादुर राई, अम्बिर राई र नैनकुमार राईको घरसमेत जोखिममा पारेको उनले बताए । 

बस्तीभन्दा माथिको पहिरो गत वर्ष जालीसहितको पर्खाल हालेर नियन्त्रण गर्ने प्रयास गरिए पनि नरोकिएको वडाध्यक्ष राईले बताए । दुवैतिरबाट पहिरो झर्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । पहिरोको कारण पानीको मुहानसमेत सुकेको स्थानीयले बताएका छन् ।

यस्तै, पहिरोका कारण हुर्लुङ–जालपा–ऐँसेलुखर्क सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण सडक खण्डअन्तर्गत वडा नम्बर–७ माक्पाको भदौरेमा पहिरो खस्दा २ असोजदेखि यातायात अवरुद्ध छ ।

सडकमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष निरौलाले जानकारी दिए । 

१० स्थानीय तह रहेको जिल्लामा केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो झर्दा ग्रामीण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोले अवरुद्ध ग्रामीण सडक खुलाउन सम्बन्धित स्थानीय तह र यातायात व्यवसायीले संयुक्त रूपमा पहल गरिरहेका छन् । 

वर्षाका कारण खोटाङमा अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘ऐँसेलुखर्कमा बस्ती जोखिममा परेको खबर प्राप्त भएको छ,’ उनले भने, ‘पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले पुग्न सकिएको छैन ।’