गत साल चैत ११ बाट बन्द लामो दूरीका सार्वजनिक सवारीसाधन असोज १ देखि सञ्चालनमा आएका छन् । सरकारले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै विभिन्न सेवा तथा क्षेत्रको सञ्चालन खुला गर्दै जाने कार्यक्रमअनुसार सार्वजनिक यातायात खुलेको हो ।
सरकारले नै सुरक्षा विधि अपनाएर दुईजनाको सिटमध्येमा एक सिटमा एकजना यात्रु राखेर सवारी चलाउन सकिने निर्णय गरेको छ । तर, सार्वजनिक यातायात चल्न थाले पनि सरकारले कोरोनाबाट बच्न बनाएका नियम भने लागू हुन सकेको छैन ।
यातायात व्यवसायीले सिट क्षमताभन्दा आधा मात्र यात्रु राखे पनि स्वास्थ्य सुरक्षा सतर्कता पालना कायम हुन नसकेको देखिएको छ । सरकारको निर्णयअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न त्यस्ता सवारीमा स्यानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि सही रूपमा कार्यान्वयन हुन नसकेको गुनासो बढेको छ ।
सुरक्षा सतर्कताविना नै सवारीसाधन सञ्चालनमा
गत सातादेखि सञ्चालनमा आएको सार्वजनिक यातायातका सवारीकासाधनको सडकमा चाप बढेको छ । सरकारको निर्णयअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न सवारीमा स्यानिटाइजरसमेत राखेर चलाउन सकिने निर्णय भए पनि कार्यान्वयन हुन नसकेको वीरगन्ज बसपार्कमा भेटिएका यात्रु शत्रुघन तिवारीले बताए । सार्वजनिक सवारीसाधन सञ्चालनमा आएको वेलादेखि गाडीभित्र कुनै किसिमको स्वास्थ्यका मापदण्ड पालना नभएको उनले बताए ।
विगतदेखि नै यातायात व्यवस्था विभागले बनाएका नियम नमान्ने गरेका सार्वजनिक यातायातले यसपटक पनि त्यस्तै गर्न थालेको यात्रुको गुनासो छ । दूरी कायम नगरी यात्रु सवारीमा राख्दा कोरोनाको संक्रमण फैलन सक्ने भए पनि अनुगमन नहुँदा चालक, सहचालकले पुरानो बानी नसुध्रने देखिएको अर्को यात्रु शत्रुघन यादवको भनाइ छ । सिट क्षमताभन्दा आधा कम यात्रु राखेकैले लिन पाउने ५० प्रतिशत भाडा भने सिटभर यात्रु राखेर पनि असुल गर्न थालिएको छ ।
अनुगमन नै हुँदैन सार्वजनिक यातायातमा
सरकारले बस वा अन्य कुनै पनि यातायातको साधनमार्फत यात्रा तय गर्दा स्वास्थ्य सुरक्षाका लागि साधन सञ्चालकदेखि यात्रुले पालना गर्नुपर्ने केही विशेष मापदण्ड तय गरेको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहर (सिट)मा एकजना बस्ने, सवारीसाधनमा स्यानिटाइजरको अनिवार्य व्यवस्था हुनुपर्नेजस्ता व्यवस्था छन् ।
यस्तै क्षमताभन्दा करिब आधा संख्याका यात्रु मात्र बोक्नुपर्ने भएकाले निर्धारित भाडादरमा ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था गरिएको छ । तर, यातायात व्यवसायीले सरकारको व्यवस्थाको विपरीत सबै कार्य गर्दै आएको गुनासो छ।
नारायणी यातायात व्यवसायी संघका इन्चार्ज अशोक गुप्ताले सरकारको घोषणाअनुसार वीरगन्जका यातायात व्यवसायीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दुई सिटको एक लहरमा एकजना मात्रै यात्रु राख्ने व्यवस्था गरेर व्यवसायीले यातायात सञ्चालन गरेको बताए ।
सरकारको निर्देशनअनुसार यातायात व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दे यात्रा गर्नेको पिसिआर परिक्षण रिपोर्ट, नेपाली नागरिकता र भाडाको ५० प्रतिशत बढी भाडा लिने गरेको उनको दाबी छ ।
सुरक्षाका मापदण्डविना तोकिएभन्दा धेरै संख्यामा यात्रु राखिएको पाए कारबाही गर्ने ट्राफिक प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी निरीक्षक कमलराज पण्डितले बताए । माथिल्लो निकायको निर्देशनबमोजिम ठाउँठाउँको चेकपोस्टमा अनुगमन र निरिक्षण गरिँदै आइएको छ, प्रहरी निरीक्षक पण्डित भन्छन्, ‘निर्देशनविपरीत सुरक्षाका मापदण्ड विा तोकिएभन्दा धेरै संख्यामा यात्रु राखिएको फेला परे कारबाही गरिने बताए ।