१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज ८ बिहीबार १४:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिरासतमा आत्महत्या प्रयास गरेका युवकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज ८ बिहीबार १४:४६:००

२३ भदौमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा आत्महत्या प्रयास गरेका एक युवकको मृत्यु भएको छ ।

२२ भदौमा एक बालकको हत्या आरोपमा पक्राउ परेका मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका– ६ स्थित गडुवानका २९ वर्षीय सुवास वाइबाको आत्महत्या प्रयास गरेको ११ दिनपछि २ असोजमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाका अनुसार १४ भदौमा हराएका एक बालकको हत्यामा संलग्न रहेको अभियोगमा वाइबा पक्राउ परेका थिए ।

पक्राउ परेको एक दिनपछि हिरासतमै रहेको अवस्थामा शौचालयमा डोरीले घाँटीमा बेरी झुन्डिएर आत्महत्या प्रयास गरेका वाइबाको उपचारको क्रममा २ असोजमा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको डिएसपी रानाले बताए । बालकको शव १९ भदौमा गडुवान खोलानजिकैको झाडीमा भेटिएको थियो । 

शव फेला परेपछि वाइबा र बालकका फुपूका छोरा २७ वर्षीय मंगलसिंह वाइबालाई २२ भदौमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपछि अनुसन्धानको क्रममा सुवास वाइबाले हत्या गरेको स्विकारेको डिएसपी रानाले जानकारी दिए । अभियोग स्वीकारपछि मानसिक तनावका कारणले आत्महत्या प्रयास गरेको हुन सक्ने रानाको भनाइ छ । 

वाइबासँगै पक्राउ परेका मंगलसिंह हाल प्रहरी हिरासतमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको रानाले जानकारी दिए ।