१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हशिद खुद्दार
२०७५ माघ २१ सोमबार ०६:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रदेश सभाको एक वर्ष पूरा

७२ बैठकबाट १७ ऐन पारित, ३ सांसद मात्र सबै बैठकमा उपस्थित

Read Time : < 1 मिनेट
हशिद खुद्दार
२०७५ माघ २१ सोमबार ०६:२२:००

प्रदेश २ सभाले आजबाट एक वर्ष पूरा गर्दै छ । संघीयता कार्यान्वयनका क्रममा भएको प्रदेश निर्वाचनपछि २१ माघ ०७४ मा प्रदेश २ सभा गठन भएको थियो । सभाले आफ्नो पहिलो वार्षिकोत्सव धुमधामका साथ मनाइरहेको छ ।  एक वर्षको अवधिमा ७२ वटा बैठक गरेको प्रदेश सभाले विभिन्न १७ वटा ऐन पारित गरेको छ । सातवटा विधेयकको मस्यौदामाथि छलफल चलिरहेको छ । यस अवधिमा सभाले दुई आर्थिक वर्षको बजेट ल्याएको छ । २ भदौमा  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा करिब ४५ मिनेट  सम्बोधन गरेका थिए । त्यसैगरी, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

सभामा सक्रिय सांसदबैठकका दौरान विपक्षी दल कांग्रेसका सांसद शिवचन्द्र चौधरी र नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्मा सबैभन्दा बढी समय सक्रिय रहे । उनीहरूले २६ वटा बैठकमा विभिन्न विषयमा  आफ्ना धारणा राखेका थिए । यस्तै, ज्वालाकुमारी साहले १६, मनीषकुमार सुमनले १४, रामसरोज यादव, परमेश्वर साह, उपेन्द्रप्रसाद कुशवाह, दिलीपकुमार साह, पारस साह, लालबाबु साह र रामचन्द्र मण्डलले १२ वटा बैठकमा मन्तव्य राखे । पाँचजना सांसद एक वर्षको अवधिमा बोलेनन् । तर, उनीहरूको नाम सचिवालयले सार्वजनिक 
गर्न चाहेन । 
६१ दिन अनुपस्थित
नेकपाका सांसद कुन्दनप्रसाद कुशवाह ७२ मध्ये ६१ बैठकमा अनुपस्थित देखिएका छन् । उनी जम्मा ११ वटा बैठकमा मात्र सहभागी रहेको संसद् सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता उपसचिव रञ्जितकुमार यादवले सांसदहरूको उपस्थिति औसतमा ५० देखि ६० बैठक पाइएको बताए । ७२ वटै बैठकमा सहभागी हुनेमा सभामुख सरोजकुमार यादव, बच्चा राउत अहिर र प्रमिला दास छन् ।