Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुदर्शन पौडेल
२०७७ असोज ८ बिहीबार १०:३६:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जनस्वास्थ्य र सामाजिक न्यायको सेतु 

बहस

Read Time : > 5 मिनेट
सुदर्शन पौडेल
२०७७ असोज ८ बिहीबार १०:३६:००

हरेक सामाजिक युद्ध सही सूचना र कडा अनुशासनको पालनाबाट मात्रै जितिएका छन्, यो वेला आधिकारिक सूचनाहरू निश्चित मापदण्ड पूरा गरेर मात्रै प्रवाह गरिनुपर्छ 

सञ्चार व्यवहार परिवर्तनका लागि प्रभावकारी अस्त्र हो । आमनागरिकलाई स्वास्थ्य र सामाजिक न्यायबारे सुसूचित पार्न र जोखिम समूहलाई जोगाउन पनि सञ्चारले धेरै ठूलो भूमिका खेल्न सक्छ । यद्यपि, सञ्चारको प्रयोगमा हेलचेक्य्राइँ वा गलत सन्देशको प्रवाहले ठूलो क्षतिसमेत भोग्नुपरिरहेको हुन्छ । त्यसैले, सञ्चारलाई दुईधारे तरवार पनि भनिन्छ । राष्ट्रिय संकटको अवस्थामा यो तथ्य थप सान्दर्भिक हुन्छ । वर्तमान कोभिडको विश्वव्यापी जनस्वास्थ्य संकट र यसले खलबल्याएको सामाजिक आर्थिक व्यवस्थालाई काबुमा राख्न सूचना सञ्चारको उच्च दक्षताका साथ परिपालन गरिनु आवश्यक हुन्छ । किनकि जारी यो संकटसँग जुझ्न हाम्रो आनिबानीमा व्यापक परिवर्तन अपरिहार्य बनेको छ, जसका लागि सञ्चारको भूमिका महत्वपूर्ण रूपले अपेक्षित छ । 

जनस्वास्थ्य र सामाजिक न्यायका मामलामा हतारमा काम गर्ने र फुर्सदमा पश्चात्ताप गर्ने प्रवृत्ति प्रत्युत्पादक हुन्छ । यस्ता गम्भीर दूरगामी असर पर्ने विषयमा कुनै पनि निर्णय लिँदा, विषयविज्ञबीच प्रशस्त अन्तरक्रिया गर्नु अत्यावश्यक हुन्छ । समस्याका सम्भाव्य कारक, त्यसको प्रभाव र समाधानको उपायको सम्बन्धमा तथ्यपरक विश्लेषण आवश्यक हुन्छ । यस्ता कुरामा सामाजिक अगुवा, पेसाकर्मी वा राजनेताहरूले प्रवाह गर्ने खराब सञ्चारले समाजमा अराजकता फैलिने र राष्ट्रिय संकट आउने पनि हुन सक्छ । यस्तो अवस्थामा हरेक वर्ग, क्षेत्र र उमेर समूहका नागरिकका सवाललाई बुझेर तथ्यपरक समाधान दिन सक्ने र स्थितिलाई काबुबाहिर जान नदिने नेतृत्वको आवश्यकता खड्किन्छ । नेतृत्वको सफलता सूचना र सञ्चारको प्रयोगको दक्षतामा निर्भर रहन्छ ।

कोभिड–१९ को सन्दर्भमा सञ्चारलाई विभिन्न मुलुकले आफ्नै मौलिक ढंगले प्रयोगमा ल्याए । जहाँ–जहाँ सञ्चारमाध्यमको परिचालनमा राम्रो तयारी गरियो, त्यहाँ यो रोगलाई समयमै नियन्त्रण लिन सफलता पनि मिल्यो । चीनले सुरुवाती अवस्थादेखि कोभिडको सम्बन्धमा नियन्त्रित सूचना प्रवाह गर्‍यो । हरेक नागरिकले पाएको सूचनामा एकरूपता कायम हुन सक्यो । फलस्वरुप नागरिकहरूले असामान्य अवस्थामा पनि राज्यका आदेशात्मक नियम पालना गरे । 

त्यसको केही समयपछि महामारी फैलिएको युरोप अमेरिकालगायत विकसित मुलुकमा कोरोनाको संक्रमणले विकराल रूप लिनुको मुख्य कारण गलत खालका समाचार वा सन्देश पनि धेरै हदसम्म जिम्मेवार छन् । बेलायत, इटली, अमेरिका, ब्राजिललगायत कोभिडको उच्च संक्रमण भएका मुलुकका शासकले जनस्वास्थ्य विज्ञहरू र अन्तर्राष्ट्रिय (स्वास्थ्य) निकायहरू वा विज्ञहरूको चेतावनीका बाबजुद गलत र भ्रामक प्रचारबाजी जारी राखे । आर्थिक रूपमा सम्पन्न, शारीरिक रूपमा सबल, साना बच्चा वा तन्नेरीहरूलाई कोरोनाले छुनै नसक्ने दाबी गरे । 

यस रोगसँग लड्न सबै नागरिक समाज तथा राज्य एकजुट हुनुपर्नेमा विभाजित समाजमा कोभिडले थप फैलिने वातावरण पायो । जसका लागि गलत सन्देशहरूको सञ्चारले भूमिका खेलेको स्पष्ट छ । आप्रवासीहरूको उल्लेख्य संख्या भएका मुलुकमा उपचारमा विभेदसमेत भयो । यस्ता घटनाले समाजमा विभाजन ल्यायो । त्यो अवस्थालाई चिर्न नागरिक समाज, राजनीतिक दल, शैक्षिक प्रतिष्ठान, उद्योग व्यवसाय, अधिकारवादीहरू, सञ्चार क्षेत्रले प्रभावकारी काम गर्न सकेनन् । त्यसैबीच सरकारको संरक्षणमा फैलिएको भ्रष्टाचार, अव्यवस्था र उच्च जोखिममा परेका नागरिकको स्वाभिमानमा ठेस पुग्ने कदमका कारण थप निराशा र आक्रोश बढ्यो । शैक्षिक, व्यावसायिक क्षेत्रले आफ्ना नियमित सेवा ठप्प पारेर गैरजिम्मेवारी प्रकट गरे । स्वास्थ्य क्षेत्रमा पनि प्रशस्तै असंवेदनशील घटना घटे । यस्तो समयमा जिम्मेवार सूचना प्रवाहका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुन सक्थ्यो, त्यो मौकाको पनि सही सदुपयोग गर्न सकिएन । 

इडेलमेन ट्रस्ट ब्यारोमिटर, २०२० को प्रतिवेदनअनुसार अधिकांश मुलुकमा सरकार वा विज्ञहरूले नागरिकको विश्वास गुमाएको पाइएको छ । कोभिड–१९ को महामारीको सन्दर्भमा विश्वव्यापी रूपमा सरकारमाथि नागरिकको विश्वास ११ अंकले गिरावट आएको उल्लेख छ । पछिल्लो समयमा राज्यले प्रवाह गरेका आधिकारिक सूचनालाई समेत नागरिकले नपत्याउने र त्यसको अनादर गर्ने प्रवृत्ति बढेको छ । यसै मौकाको फाइदा उठाउँदै विश्वव्यापी रूपमा स्वघोषित विज्ञको दाबी गर्ने कुत्सित स्वार्थप्रेरित मानिस एवं संस्थाहरू पनि निकै उदाए । यस परिपे्रक्ष्यमा कुन कुरालाई सही र कुन कुरालाई गलत मान्ने द्विविधा पैदा भयो । प्राप्त तथ्यका आधारमा प्रमाणित सत्यलाई अस्वीकार गर्ने र आममानिसमा भ्रम सिर्जना गर्ने व्यक्ति वा संस्थामाथि कारबाही भएन । यसले पनि जारी संकटलाई थप गम्भीर बनाउन सहयोग गरिरहेको छ । 

आर्थिक तथा राज्य व्यवस्थाका अरू पक्षका सुधारको संकेत नदेखिएको वर्तमान सन्दर्भमा नागरिक र नेतृत्वका (प्राविधिकसमेत) बीच विश्वासको दूरी थप बढ्नुमा राजनीतिक स्वार्थ सिद्ध गर्न उद्यत सरकारका जिम्मेवार व्यक्तिका भद्दा गतिविधि जिम्मेवार छन् । त्यसको एक ज्वलन्त उदाहरण अमेरिकाले आफ्ना कमजोरीको ढाकछोप गर्न विश्व स्वास्थ्य संगठनलाई दोष थोप¥यो । अझै अगाडि बढेर डब्ल्युएचओबाट आफूलाई अलगसमेत गर्‍यो । केही व्यक्ति र समूहले त्यस्ता निकायको साखलाई सखाप पार्ने गरी प्रचार गरे, फलस्वरूप अवस्था यतिसम्म डरलाग्दो भयो कि विश्व स्वास्थ्य संगठनका सूचनालाई चुनौती दिन थालियो ।

हालै अमेरिकामा गरिएको प्रारम्भिक सर्वेक्षणमा ३० प्रतिशत नागरिकले कोभिड, प्रयोगशालामा विकास गरिएको रोग भएको विश्वास गरेको पाइयो । साथै सर्वेक्षणमा संंलग्न गरिएका ३५ प्रतिशत नागरिकले कोरोनाको भ्याक्सिन तयार भएको अवस्थामा पनि उक्त खोप प्रयोग नगर्ने बताएका छन् । यस्तै अवस्था फ्रान्स, इटली, ब्राजिललगायत देशमा पनि रहेको छ । यस तथ्यले विकसित, शक्तिशाली देशका नागरिकको मनोदशा झल्काउँछ । नेपाललगायत अन्य कतिपय विकासोन्मुख देशहरूको प्रस्तुतीकरण फरक होला, तर सारमा समानता छ, किनकि यहाँ पनि साक्षर र सम्भ्रान्त भड्काउ र पाखण्डको कमी छैन, जसले आमनागरिकलाई गलत सन्देश दिएर उनीहरूको जीवन दाउमा लगाइदिएको छ । 

कोभिड–१९ को सन्दर्भमा सञ्चारलाई विभिन्न मुलुकले आफ्नै मौलिक ढंगले प्रयोगमा ल्याए । जहाँ–जहाँ सञ्चारमाध्यमको परिचालनमा राम्रो तयारी गरियो, त्यहाँ यो रोग समयमै नियन्त्रणमा लिन सफलता पनि मिल्यो । चीनले सुरुवाती अवस्थादेखि कोभिडको सम्बन्धमा नियन्त्रित सूचना  प्रवाह गर्‍यो ।

विश्वका कतिपय मध्यम आय भएका मुलुकहरू जस्तै– अफ्रिकाको रुवान्डाले सञ्चार र सूचना प्रवाहमा निकै सराहनीय काम गरेका कारण त्यहाँ कोभिड संक्रमित र ज्यान गुमाउनेको संख्या अत्यन्त न्यून हुन गयो । त्यस्तै दक्षिण अमेरिकी देश क्युवा र पूर्वी युरोपका मुलुकमा पनि कोरोनाको असर निकै कम भयो । दक्षिणपूर्वी एसियाका देशमध्ये भुटानले सूचना एवं सञ्चार सम्पे्रषण गर्ने सवालमा निकै सराहनीय काम गरेको छ । त्यसका अलावा श्रीलंका, पाकिस्तान, भारतको केरलालगायत प्रदेशले चालेका केही सकारात्मक प्रयासका कारण राज्यको सीमित कोष रित्याउनुपरेन, नागरिक भोकभोकै बस्नुपरेन, अत्यावश्यकीय काममा कमै मात्र रोकावट भयो, फलस्वरूप त्यहाँको सामाजिक आर्थिक सुअवस्थामा धेरै नकारात्मक असर नपर्ने प्रक्षेपण छ ।

कोभिडको सन्दर्भमा नेपालले सूचना सञ्चारको तयारीका साथै व्यवस्थापकीय तयारीका लागि राम्रो मौका पाएको थियो । त्यो मौकालाई सही सदुपयोग गर्न सकिएन । हरेक समस्यालाई अन्तिम वेलामा निर्णय गर्ने पुरानो रोग पनि बारम्बार दोहोरियो । कतिपय गम्भीर निर्णयहरू सामाजिक दबाबको नाममा मुल्तवी भए । सूचना प्रवाहमा प्रभावकारी सञ्चार क्षेत्रले विभिन्न स्रोतको हवाला दिँदै अपुष्ट समाचार प्रसारणलाई निरन्तरता दिइरहे । कतिपय अवस्थामा सरकार जिम्मेवार व्यक्तिहरूले राज्यका नियम वा निर्देशनहरूको उपहास हुने वक्तव्यबाजी गरे । कुनै ठूलो बहादुरी गरेझैँ सस्तो लोकप्रियताका लागि भ्रामक कुरा गर्ने होडबाजी नै चल्यो, चल्दै छ । 

यदाकदा कोभिड निको पार्ने दाबी गर्नेहरू पनि सञ्चारमा खुबै चर्चामा आए । सस्तो लोकप्रियताका लागि प्रयोजन गरिएका समाचार कसैकसैका लागि क्षणिक फाइदाको व्यापार पनि भयो । त्यस्ता गतिविधिलाई समयमा नियन्त्रण गर्न सकिएन । त्यस्ता गतिविधि रोक्न पेसागत सञ्चारकर्मीहरूसमेतको भूमिका अपेक्षित हुन्छ । देशको स्थायी सरकारको रूपमा चिनिने कर्मचारी संयन्त्र पनि आफ्नो पेसा वा दक्षताको विषयमा निकै कमजोर र उदासीन सिद्ध भयो । आजसम्म राज्यको ओतमा अनुभवले खारिएको कर्मचारी वा पेसाकर्मीले सोचविचार गरी निर्णय लिन र राजनीतिक नेतृत्वलाई सल्लाह दिन सकेन । आफैँ नयाँ चमत्कार त केही गर्नुपरेको थिएन, अरू देश र समाजबाट राम्रा कुराको सिको गरेको भए पनि धेरै हदसम्म स्थिति नियन्त्रणबाहिर जाने थिएन । कोरोनाबारे अफवाह र भ्रमपूर्ण सन्देश प्रवाह गर्नमा युट्युब च्यानलहरूको भूमिका सबैभन्दा बढी देखिएको छ । उनीहरू यो संकटलाई समेत भ्युअर बढाउन उपयोग गरिरहेका छन्, जुन अमानवीय पनि हो ।

अन्तमा, कोभिडजस्तो गम्भीर संक्रामक रोगको नियन्त्रणको प्रयासमा तथ्यपरक योजना र त्यसको परिपालनमा कडाइ आवश्यक हुन्छ । यस प्रयासमा (सैन्य) युद्धका नियम लागू हुनुपर्ने हो । युद्धस्तरमै अत्यावश्यक सामग्रीको जोहो गर्ने र भविष्यको अवस्थाको सही आकलन र बन्दोबस्ती मिलाउनुपर्ने हो । विश्वका हरेक सामाजिक युद्धहरू सही सूचना र कडा अनुशासनको पालनाबाट जितिएका नजिर पर्याप्त छन् । यस्तो अवस्थामा आधिकारिक सूचनाहरू निश्चित मापदण्ड पूरा गरेर प्रवाह गरिनुपर्ने हुन्छ । विश्वव्यापी रूपमा कोभिडको सम्बन्धमा सावधानीका उपायबारे तथ्यपरक सूचनाहरू समयमै प्रसारण गर्न नसक्दा कोभिड थप गम्भीर संकट हुँदै छ । जनस्वास्थ्यको यत्रो विपत्तिमा राज्यका संयन्त्र, राष्ट्रिय अन्तर्राष्ट्रिय निकायहरू, जिम्मेवार निकाय र त्यहाँको नेतृत्व अनि विज्ञहरूको गैरजिम्मेवारी र बेलगाम सञ्चार प्रवाहको कारण आजको स्थिति नियन्त्रणभन्दा बाहिर गइसकेको छ । यस प्रवृत्तिले निरन्तरता पाउँदा भविष्यमा आइपर्न सक्ने मानवीय विपत्ति र सामाजिक न्याय कायम गर्न कठिनाइ पर्नेछ । 

(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायका सह–प्राध्यापक हुन्)