मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ७ बुधबार १५:५६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मानसिक रोग वा तनाव : आत्महत्या गर्न केले प्रेरित गर्छ ?

Read Time : > 1 मिनेट
२०७७ असोज ७ बुधबार १५:५६:००

स्वस्थ जीवनयापनका लागि मानसिक रूपमा स्वस्थ रहनु निकै महत्वपूर्ण हुन्छ । मानसिक अवस्थाले नै व्यक्तिको दैनिक क्रियाकलापमा भूमिका निर्वाह गरिरहेको हुन्छ । अझ महामारीजस्तो विशेष अवस्थामा मानसिक स्वास्थ्यको महत्व झन् बढी हुन्छ । यो वेला भनेको उसै पनि मानसिक समस्या सिर्जना हुने वेला हो । 

मानसिक समस्याको अर्थ मानसिक रोग मात्रै नभई तनाव र तनावले निम्त्याउने सामान्य अवस्थालाई पनि जनाउँछ । मानसिक समस्यासम्बन्धी धारणामा बिस्तारै परिवर्तन आइरहेको पाइन्छ । सामान्यतया जैविक कारण (जिन वा मस्तिष्कमा हुने रासायनिक परिवर्तन), जीवनशैली, पारिवारिक तथा सामाजिक व्यवहार आदि कारणले मानसिक समस्या निम्त्याइरहेका हुन्छन् । पछिल्लो समय भएका अध्ययनले विश्वभर प्रत्येक पाँचजनामध्ये एकजना कुनै न कुनै किसिमको मानसिक समस्याबाट पीडित हुने गरेको छ । जसमध्ये डिप्रेसन, वायोपोलार डिसअर्डर र ट्रम्याटिक स्ट्रेस डिसअर्डर आदि मुख्य छन् ।

मानसिक रोग र आत्महत्या
अध्ययनअनुसार आत्महत्या गर्ने करिब ९० प्रतिशत व्यक्तिमा कुनै न कुनै मानसिक रोग हुने गर्छ । यद्यपि मानसिक रोग नभएका व्यक्तिले समेत आत्महत्याको व्यवहार देखाउने गरेको पाइन्छ । सामान्यतया व्यक्तिगत, पारिवारिक तथा सामाजिक कारणले गर्दा हुने मानसिक समस्या र समस्यासँग जुध्न नसक्दा आत्महत्याको घटना भइरहेको पाइन्छ । अध्ययनअनुसार डिप्रेसन र वायोपोलार डिसअर्डरको समस्या भएका व्यक्तिले बढी आत्महत्या प्रयास गरेको पाइन्छ । मनोवैज्ञानिक विकार जस्तै चिन्ता, उदासीपन आदि कारणसमेत आत्महत्याको कारक बन्न सक्छन् । असफलता आदिको कारणले निम्त्याउने निराशा र आवेगले छोटो समयमा आत्महत्याको सोच आउने गरेको पाइन्छ ।

तनाव र आत्महत्या
मानसिक रोग र तनाव भिन्न विषय हुन् । कतिपय मानसिक रोगको कारण तनाव हुन सक्छ । दैनिक जीवनमा तनावपूर्ण रहनु सामान्य मानिन्छ, तर लामो समयसम्म तनाव रहिरहनु र स्वास्थ्यमा असर पार्दै जानु मानसिक स्वास्थ्यका लागि प्रतिकूल हुन्छ । तनावले दैनिक क्रियाकलापमा प्रभाव पार्नु मानसिक समस्या हो । अचानक हुने दुर्घटना र स्थायी समस्याका कारण हुने तनावले एन्जाइटी पैदा गर्छ जुन आत्महत्याको कारण बन्न सक्छ । 

तनावपूर्ण घटनाहरू आत्महत्याको मुख्य कारणमध्ये एक हो । समस्यासँग जुध्न नसक्दा आत्महत्याको सोच आउने गर्छ । सामान्यतया समस्याका कारण हुने तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्यालाई विकल्पको रूपमा लिएकोसमेत पाइन्छ । तर, प्रत्येक व्यक्तिमा आत्महत्याको सोच भिन्न कारणले देखापर्न सक्छ । अध्ययनअनुसार शरीरमा हुने एक किसिमको जिनका कारणसमेत तनाव व्यवस्थापन गर्न गाह्रो हुन्छ । जसको कारणले समेत आत्महत्याको सोच आउन सक्छ । पछिल्लो समय आत्महत्या दरमा निकै वृद्धि भएको छ । महामारीको समयमा आत्महत्याको दर बढेकाले मानसिक अवस्था र रोगबारे समयमै सचेत हुन आवश्यक छ ।