Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ७ बुधबार १२:२१:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

लयमा फर्कँदै विराटनगर

Read Time : > 2 मिनेट
२०७७ असोज ७ बुधबार १२:२१:००

कोरोना संक्रमण नियन्त्रणका लागि ६ महिना लामो लकडाउन र निषेधाज्ञा झेलेको प्रदेश १ को राजधानी विराटनगर बिस्तारै लयमा फर्कन थालेको छ। 

२९ भदौदेखि प्रशासनले निषेधाज्ञा फुकुवा गरेर कोभिड रोकथाम निर्देशिका पालना गरेर कारोबार गर्न अनुमति दिएपछि विराटनगर बिस्तारै आफनो लयमा फर्कन थालेको हो । 

विराटनगर महानगरमा बजारका प्रायः सबै पसल खुलेका छन् । लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । ५ असोजदेखि विराटनगर विमानस्थलबाट आन्तरिक हवाई जहाज पनि सुचारु भएको छ । 

६ महिनासम्म बन्दाबन्दी झेलेर आर्थिक रूपले धराशायी भएका व्यपारीहरू चाडपर्व नजिकिएसँगै व्यापारमा पनि वृद्धि हुँदै जाने आसमा छन् । विराटनगरको मुनालपथका भाँडापसले राकेश पण्डितले बजार सुचारु भएपछि व्यापार पनि बिस्तारै पुरानै अवस्थामा फर्किने आशा लिएको बताए । 

बजार खुलेसँगै बजारमा किनमेल गर्नेहरूको चहलपहल पनि उल्लेख्य बढन थालेको छ । कपडा र फेन्सी पसलमा  किनमेल गर्न उपभोक्ताहरूको भिड लाग्न थालेको छ  । धेरैले भारतको सीमावर्ती बजार कोरोना रोकथामका लागि बन्द भएकोले चाडपर्वको मुखमा मूल्य बढ्न सक्ने भन्दै दसैँको किनमेल पनि अहिले नै सुरु गरेका छन् । 

अघिल्ला वर्षहरूमा नेपाली उपभोक्ताहरू सामान्य दिनमा भन्दा चाडपर्वका लागि भारतीय बजार जाने गर्थे । तर, यो वर्ष बोर्डर ‘सिल’ भएकोले उपभोक्ताफे नेपाली बजारमै किनमेल गरेका छन् । बजार खुलेसँगै किनमेल गर्नेहरूको भिड बढ्न थालेको विराट व्यापार संघका अध्यक्ष सुजन थापा बताउँछन् । उनी भन्छन्,  ‘कात्तिक महिनाभरि भारतको सिमाना ‘लक’ भइररहेमा नेपाली बजारको व्यापार धेरै राम्रो हुने थियो । कोरोनाले थलिएका व्यापारीलाई केही राहत हुन्थ्यो ।’   

विराटनगरमा होटेल, रेस्टुरेन्टहरु पनि क्रमशः साँझ ९ बजेसम्म खुल्न थालेका छन् । होटल, रेस्टुरेन्टमा खानपान गर्नेहरू बिस्तारै बढ्न थालेका छन् । तर, धेरै भिड हुने  सिनेमा हल, पार्क र  मनोरञ्जनका अन्य स्थलहरू भने अझै खुलेका छैनन् ।  

कोरोना संक्रमण रोकथाम नियन्त्रण गर्न संघीय सरकारले ११ चैत २०७६ देखि घोषणा गरेको लामो लकडाउन अन्त्य भएपछि दुई हप्ता विराटनगर बजार खुलेको थियो । संक्रमण समुदायस्तरमा फैलन थालेपछि जिल्ला प्रशासन कर्यालय तथा महानगरपालिकाले फेरि लकडाउन तथा निषेधाज्ञा जारी गरे । २९ भदौसम्मबाट निषेधाज्ञा हटाइयो । लकडाउन र  निषेधाज्ञा हटेसँगै विराटनगर लयमा फर्किएको छ । 

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार ५ असोजसम्म विराटनगरमा १८ सय २५ जना संक्रमित भएका छन् । कोरोनाबाट १८ जना संक्रमितको मृत्यु भइसकेको छ ।   

छैन सामाजिक दूरी र सुरक्षा सतर्कता 

निषेधाज्ञा फुकवा भए पनि बजारमा चहलपहल बढ्यो । तर, संक्रमणबाट बच्न सामाजिक दूरी र सुरक्षा सतर्कता भने पालना गरेको पाइँदैन । किनमेल गर्ने मानिसले मात्र नभएर पसलेले समेत मास्क लगाउने र भौतिक दूरी कायम गर्ने तथा स्यानिटाइजर प्रयोग गर्ने गराउने गरेका छैनन् । न त सबै पसलमा साबुनपानीले हात धुने व्यवस्था नै गरिएको छ।

प्रशासनले अनिवार्य मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न, गराउन र भौतिक दूरी कायम गरेर व्यवसाय गर्नेसम्बन्धी कोभिड– १९ निर्देशिका पालना गर्न निर्देशन दिएको छ । आममानिसले कोरोना सतर्कतालाई बेवास्ता गर्दा संक्रमण दर बढेर जाने भय कायमै रहको जनस्वास्थ्यविज्ञ डा. नवराज सुब्बा बताउँछन् । 

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली सरकारले जारी गरेको कोभिड– १९ निर्देशिकाअनुसार सबैखाले व्यवसाय गर्न–गराउन आफूहरूले आग्रह गरिरहेको बताए । प्रमुख पराजुली भन्छन्, ‘हामीले माइकिङ गर्ने, सञ्चारमाध्यममार्फत सूचना दिने, सुरक्षाकर्मी परिचालन गरेर मास्क लगाउन लगाउने काम निरन्तर गर्दै आएका छौँ । यति गर्दा पनि कोरोना सतर्कतामा लापारबाही भएको छ ।’