मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ असोज ७ बुधबार ०९:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दसैँलाई १५ असोजपछि  हवाई उडान मागअनुसार

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असोज ७ बुधबार ०९:२०:००

सरकारले दसैँका लागि १५ असोजदेखि आन्तरिक र अन्तर्राष्ट्रियतर्फ मागअनुसार उडान थप्न दिने भएको छ । दसैँ नजिकिएकाले सुरक्षा अपनाएर उडानको मागअनुसार सेड्युल दिने तयारी गरिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । अहिले आन्तरिकतर्फ देशभर ५५ उडान दिइएको छ । 

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ दैनिक १४ एयरलाइन्सले १० मुलुकबाट १४ उडान गरिरहेका छन् । अब अक्टोबरदेखि मागअनुसार उडान गर्न एयरलाइन्सहरूले पाउने महानिर्देशक पोखरेलले बताए । नेपालमा २८ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका थिए । पर्यटक तत्काल नआउने भएकाले चीनलगायत गन्तव्यको उडान तत्काल बढ्नेछैन । भारतले पनि हालसम्म उडान खुलाएको छैन । १ अक्टोबरबाट दोहा, कुवेत र साउदी अरबमा नियमित उडान हुने भएको छ । हाल यी तीन देशमा चार्टर उडान मात्रै भइरहेका छन् । उडान संख्या बढ्दै गएपछि भाडा पनि घट्ने भएकाले सरकारले सबैतर्फ नियमित उडान खुलाउँदै लैजाने तयारी गरेको हो ।

आन्तरिक एयरलाइन्सहरू दसैँको तयारीमा
सरकारले ६ महिनादेखि बन्द आन्तरिक उडान ५ असोजदेखि खुलाएपछि अब एयरलाइन्स कम्पनीहरू दसैँको तयारीमा जुटेका छन् । खुलेको पहिलो दिन यात्रुको चाप अत्यधिक भए पनि दोस्रो दिन मंगलबार भने खासै चाप नरहेको एयरलाइन्सले जनाएका छन् । अब १५ असोजपछि दसैँको चहलपहल बढ्ने भन्दै एयरलाइन्सहरूले बुकिङ खुलाइसकेका छन् ।

‘दसैँका सबै बुकिङ खुलिसकेको छ, कति यात्रु हुन्छन्, सोहीअनुसार उडान पनि थपिनेछ,’ बुद्ध एयरका दीपेन्द्रकुमार कर्णले भने । सोमबार बुद्ध एयरले मात्रै १६ सय यात्रुलाई सेवा दिएको थियो । त्यस्तै, यती एयरलाइन्स र तारा एयरले पनि १६ उडान गरेको थियो । यतीले सोमबार ११ वटा र ताराले ५ वटामार्फत ९ सय यात्रुलाई सेवा दिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । ‘दसैँको तयारी सुरु भइसकेको छ, सबै उडानका लागि बुकिङ सुरु भएको छ,’ बर्तौलाले भने । लुक्ला, जोमसोम तथा हुम्लामा समेत उडान सुरु भएको उनले जानकारी दिए । यता मंगलबारदेखि श्री एयरलाइन्सले पनि उडान सुरु गरेको एयरलाइन्स प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार मंगलबार धनगढी र नेपालगन्जमा उडान गरेको जानकारी दिए । 

दसैँका लागि श्री एयरलाइन्सले बुकिङ खुलाएको जनाएको छ । सौर्य एयरलाइन्सले भने २० असोजपछि मात्रै उडान गर्ने जनाएको छ । विगत लामो समयदेखि सबै जहाज ग्राउन्डेड भएकाले सबै क्याप्टेन जर्मनीमा तालिममा पठाएको सौर्य एयरलाइन्सका प्रबन्धक मुकेश खनालले बताए ।  सिम्रिक, सीता, समिट एयरले पनि उडान सुरु 
गरेका छन् ।