१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जोस एन्टोनिओ ओकम्पो
२०७७ असोज ७ बुधबार ०७:३२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

संकटमा युएनको सान्दर्भिकता बढ्छ

बहुपक्षीय सहयोगको पक्षधर रहेको अमेरिका यतिखेर आफ्ना मित्र एवं साझेदारलाई तिरस्कार गरिरहेको छ

Read Time : > 2 मिनेट
जोस एन्टोनिओ ओकम्पो
२०७७ असोज ७ बुधबार ०७:३२:००

संयुक्त राष्ट्र संघको ७५औँ वर्षगाँठ पुग्दै गर्दा विश्व यतिखेर अशान्त छ । जारी कोभिड–१९ को महाव्याधिले अहिलेसम्म झन्डै १० लाख मानिसको ज्यान लिइसकेको छ र अझै पनि थामिने छाँट देखाइरहेको छैन । विश्व अर्थतन्त्र सन् १९३० को महामन्दीयताकै नराम्रो मन्दी भोग्दै छ ।

बाढीदेखि डढेलोसम्मका असाधारण रूपले गम्भीर प्राकृतिक विपत्ले थुप्रै मुलुकमा वितण्डा मच्चाइरहेका छन् । तर, लामो समय बहुपक्षीय सहकार्य र सहयोगको पक्षधर रहेको अमेरिका भने यतिखेर आफ्ना मित्र एवं साझेदारलाई तिरस्कार गरिरहेको छ र कतिपय अवस्थामा त प्रतिद्वद्विता नै साध्दै छ । जबकि यो समय संयुक्त राष्ट्र संघको सान्दर्भिकता सबैभन्दा बढी छ । 

युएन तीनवटा स्तम्भले बनेको छ । यसलाई अड्याउने पहिलो स्तम्भ हो– शान्ति । लिग अफ नेसन्स् विश्वयुद्ध रोक्न असफल भएसँगै अर्काे विश्वयुद्ध रोक्न त्यसैको उत्तराधिकारीका रूपमा युएनको निर्माण भएको हो । शीतयुद्धको संघारमा स्थापित युएन त्यसयता संवादको अपरिहार्य मञ्च बनेको छ । बर्लिनको पर्खाल ढलेयता यसले थुप्रै मुलुकमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेको छ ।

दोस्रो स्तम्भ हो– मानव–अधिकार । सन् १९४८ मा युएनको महासभाले मानव–अधिकारको विश्वव्यापी घोषणापत्र (युडिएचआर) पारित गर्‍यो, जुन घोषणापत्रले पहिलोपटक नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिकलगायत मौलिक अधिकार तय गरेको थियो । यसलाई सबै मुलुकका लागि बाध्यकारी बनाइयो । यद्यपि, यी अधिकारको रक्षाका खातिर युएनले खडा गरेका संयन्त्रको सफलता मिश्रित रह्यो ।

मानव–अधिकारलाई अन्तर्राष्ट्रिय प्राथमिकतामा राख्न युडिएचआर कोसेढुंगा साबित भएको पनि हो । तेस्रो स्तम्भ हो– विकास । युएनको बडापत्रअनुसार सदस्य मुलुक सामाजिक प्रगति र नागरिकको जीवनस्तर सुधारका लागि कटिबद्ध रहनेछन् । विकासको कार्यसूचीले मुलुकमाझको असमानता घटाउने उद्देश्यलाई पनि समेट्छ ।

जुन दोस्रो विश्वयुद्धपछि विकासको कार्यसूचीकै एउटा अंश हो । विकासलाई प्रवद्र्धन गर्न, युएनले सन् १९४७ र १९७३ को बीचमा पाँचवटा क्षेत्रीय आयोग बनायो र विकासशील मुलुकलाई आवश्यक प्राविधिक सहयोग गर्न थाल्यो, जुन सन् १९६५ मा युएनडिपीको निर्माणपछि त्यसैमा संस्थागत भएको छ । यसैगरी, अमेरिकी राष्ट्रपति केनेडीको पहलकदमीमा सन् १९६१ को जनवरीमा युएनले सन् ६०को दशक विकासको दशक हुने घोषणा गर्‍यो । 

यो एजेन्डाको अभिन्न तत्वका रूपमा युएनले साझा समृद्धिलाई समर्थ बनाउने पक्षपातरहित विश्व आर्थिक प्रणालीको निर्माणमा सहयोग गर्न खोज्यो । सदस्य मुलुकको संख्या बढ्दै गएपछि विश्वको आर्थिक व्यवस्थाको परिवर्तन कार्यान्वयन गर्नमा युएन विश्वकै अग्रणी मञ्च बन्यो । सन् १९६४ मा युएन कन्फ्रेन्स अन टे«ड एन्ड डेभलपमेन्टको स्थापनाले यसलाई थप समृद्ध बनायो ।

युएन मानवताको उत्तम प्रतिकृति हो । सबै मानिस सम्मानका हकदार छन् र सहकार्य यसको एक मात्र मार्ग हो । यसर्थ, युएनको निर्माणमा आत्मसात् गरिएको बहुपक्षीयवादप्रतिको प्रतिबद्धतालाई विश्वले पुनः जागृत गर्नुपर्छ ।

विकासशील मुलुकलाई विशेष र सहुलियतपूर्ण व्यवहार गर्ने विश्व व्यापार प्रणाली यसको मुख्य उपलब्धि हो । त्यसैगरी, विकासशील मुलुकलाई आवश्यक वित्तमा पहुँच सुनिश्चित गर्ने सवालमा सन् २००२ को वित्त तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एउटा कोेसेढुंगा हो । त्यसयता सन् २००८ मा दोहामा र सन् २०१५ मा दुईवटा यस्ता सम्मेलन भइसकेका छन् । यसैगरी, युएनले कोभिड संकटसँग जुझ्न विकासशील मुलुकलाई आर्थिक सहयोग उपलब्ध गराउने बहसमा पनि केन्द्रीय भूमिका खेलेको छ ।

विकासको गणितमा आर्थिक प्रगतिले एक भागको मात्रै प्रतिनिधित्व गर्छ । सन् १९७८ को आइएलओको प्रतिवेदनले विकासशील मुलुकका मानिसको ‘आधारभूत आवश्यकता’लाई यसरी परिभाषित गरेको छ– खाना, नाना, छाना, शिक्षा र सार्वजनिक यातायात । यही अवधारणाले मानव विकासको अवधारणाको मार्गचित्र प्रस्तुत ग¥यो । जसलाई पछि युएनडिपीले आफ्नो मानव विकास प्रतिवेदनमा उपयोग गर्‍यो । बर्लिनको पर्खाल ढलेपछिका विश्व सम्मेलनका शृंखलाले मानव विकासको एजेन्डालाई थप विस्तारित गरेको छ ।

उदाहरणका लागि सन् १९९५ मा सम्पन्न महिलासम्बन्धी चौथो विश्व सम्मेलनलाई लिन सकिन्छ, जसले महिला अधिकारलाई अघि बढाउने सवालमा प्रगतिशील मार्गचित्र तयार गरेको छ । यी लक्ष्यलाई अघि बढाउन सन् २०११ को जनवरीमा युएन वुमन स्थापित गरियो । सामाजिक विकासप्रति युएनको प्रतिबद्धता दर्साउने विशिष्टीकृत निकाय युनेस्को, डब्ल्युएचओ, युनिसेफ, एफएओमध्येमा युएन वुमन सबैभन्दा कान्छो हो ।

आइएलओ पनि युएनकै प्रणालीमै समाहित छ । त्यसैगरी, जलवायुसम्बन्धी निकायले जैविक विविधताको रक्षा गर्ने, जलवायु परिवर्तनसँग जुझ्ने र मरुभूमीकरण रोक्ने सवालमा ऐतिहासिक सहमति गरेको छ । युएनका यी निकायले हामीलाई यो ग्रहलाई मानव बसोवासयोग्य बनाउने भरोसा दिलाएका छन् । 

वास्तवमा दिगो विकासको फराकिलो अवधारणा युएनले नै सारेको हो । दीर्घकालीन विकास आर्थिक, सामाजिक एवं वातावरणीय मुद्दाप्रति जवाफदेही हुनुपर्ने कुराको पहिचान युएनले नै गरेको हो । युएनले सन् २००० मा सहस्राब्दी विकास लक्ष्य र सन् २०१५ मा दिगो विकासको लक्ष्य अघि सार्‍यो, जुन यी एजेन्डा अघि बढाउने सन्दर्भमा विश्वव्यापी फ्रेमवर्क हुन् । युएन अत्यन्त प्रभावकारी संस्था हो । अझ महत्वपूर्ण कुरा, यो मानवताको उत्तम प्रतिकृति हो । सबै मानिस आधारभूत सम्मानका हकदार छन् र सहकार्य मात्रै यो सुनिश्चित गर्ने एक मात्र मार्ग हो । यसर्थ, युएनको निर्माणमा आत्मसात् गरिएको बहुपक्षीयवादप्रतिको प्रतिबद्धतालाई विश्वले पुनः जागृत गर्नुपर्छ । 

(कम्बोडियाका पूर्वअर्थमन्त्री ओकम्पो युएनका पूर्वउपमहासचिव हुन्) प्रोजेक्ट सिन्डिकेटबाट