१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ७ बुधबार ०९:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजारका सबै परिसूचक राता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ७ बुधबार ०९:२६:००

मंगलबार सेयर बजारमा सूचीकृत सबै समूहगत परिसूचक घटेपछि नेप्से एकै दिन करिब २३ अंकले घटेको छ । बजार एक वर्षको उच्च बिन्दु १६२० नजिक पुगेपछि बजार ओरालो लाग्न थालेको हो । 

बजार ओरालो लागे पनि कारोबार रकममा भइरहेको वृद्धिले सेयर लगानीकर्ताले लगानीसमेत गरिरहेको देखिन्छ । नेप्सेले १ हजार ५ सय १० मा पहिलो टेवा पाउने सम्भावना छ । यो टेवा पाएर नेप्सेले १ हजार ६ सय बिन्दु पार नगरी ओर्लिएमा भने बजार केही समय फेरि ओरालो लाग्न सक्ने देखिन्छ ।  

बैंकिङ क्षेत्रमा रहेको अधिक तरलताका कारण बढिरहेको बजार कम्पनीहरूबाट लाभांश घोषणा हुन थालेयता भने घट्न थालेको छ । लाभांश दर कम रहेको, बिमा कम्पनीहरूमा कतिपयले पुरानो वर्षको साधारणसभा नै गर्न नसकेको, लघुवित्त कम्पनीहरूमा समेत भाका नाघेका ऋणीहरूको संख्यामा गुणात्मक वृद्धि भएकाले घटिरहेको बजारलाई टेवा मिल्न नसकेको हो । हालसम्म लाभांश घोषणा गरेका सूचीकृत कम्पनी तथा सामूहिक लगानी कोषका इकाइहरूमा २ वटाले मात्रै २० प्रतिशतमाथि लाभांश घोषणा गरेका छन् । 

पुराना लघुवित्तसँग नयाँ लघुवित्त मर्ज गराएर थप सेयर (एफपिओ) जारी गर्ने प्रवृत्ति मौलाइरहेको भए पनि अधिकांश कम्पनीहरूको मूल्य ७ सय रुपैयाँभन्दा माथि रहेकाले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुगेका हुन् । ५५ वटामा १६ वटा कम्पनीको मूल्य ९ सयदेखि १ हजार ५ सय रुपैयाँभन्दा माथि छ । 

बजार घट्न थालेपछि ४ प्रतिशतमाथि मूल्य बढ्ने कम्पनीको संख्या २ मात्रै छ । १० कम्पनीको मूल्य ५ प्रतिशतदेखि करिब १० प्रतिशतसम्म घटेको छ । मूल्य घट्नेमा धेरैको भने ५ प्रतिशतभन्दा कम अन्तरले घटेको छ । 

मंगलबार १ सय ९९ कम्पनीको ७८ लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा २ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको हो । ‘क’ वर्गका कम्पनीहरूको कारोबारसूचक सेन्सेटिभ परिसूचक पनि १ दशमलव ५ प्रतिशतले घटेको छ । करिब २१ खर्बसम्म पुगेको बजार पुँजीकरण केही दिनमै २० खर्ब ५९ अर्ब भएको छ ।