मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ७ बुधबार ०६:३४:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

कोरोनाबाट बच्न युरोपेली देशले अपनाएका उपाय

Read Time : > 2 मिनेट
२०७७ असोज ७ बुधबार ०६:३४:००

कोरोना भाइरस (कोभिड–१९) महामारीले  सबैभन्दा धेरै असर युरोपेली देशहरूमा पुर्‍याएको छ । त्यससँगै अमेरिका र एशियाका विभिन्न देशमा पनि यो भाइरसले असर गरेकोे छ । कोरोना भाइरस संक्रमण रोक्ने एउटै उपाय भ्याक्सिन मानिएको छ । धेरै देशले भाइरस संक्रमण रोक्न भ्याक्सिन निर्माणको काम अघि बढाइरहेका छन् । त्यसमध्ये कतिपय भ्याक्सिन अन्तिम चरणको परीक्षण पूरा नहुँदै प्रयोग गर्न पनि थालिएको छ । यद्यपि, ती भ्याक्सिन सार्वजनिक प्रयोगका लागि उपलब्ध भइसकेको छैन । भ्याक्सिन तयार हुनुअघिसम्म मानिसको व्यावहारिक परिवर्तनले संक्रमण रोक्न मद्दत पुर्‍याउनेछ । भाइरस संक्रमण फैलिएपछि मानिसमा मास्क लगाउने, शारीरिक दूरी कायम गर्नेलगायत व्यावहारिक परिवर्तन देखिएको छ । कोरोनाले सबैभन्दा बढी असर गरेको युरोपका देशहरूले यो संकटबाट बच्न अपनाएका व्यावहारिक उपाय यहाँ प्रस्तुत गरेका छौँ : 

फ्रान्स : मास्क प्रयोग अनिवार्य

गत जुलाईमा कोरोना संक्रमण फैलिएपछि फ्रान्सेली सरकारले सार्वजनिक स्थानमा मास्क प्रयोगलाई अनिवार्य गरेको थियो । फ्रान्सले कोरोनाका कारण घोषणा गरेको लकडाउन अहिले पूर्ण रूपमा हटाउने प्रयास गरिरहेको छ । त्यसको प्रयासस्वरूप स्थानीय सरकारले सुरक्षाका नयाँ–नयाँ उपाय तय गरेका छन् । राजधानी पेरिस र त्यसवरपरको स्थानमा ११ वर्ष र त्योभन्दा माथिको उमेरका व्यक्तिलाई अझै पनि मास्क अनिवार्य गरिएको छ । तोउलोउस, निस, लिल्ली, ल्योनलगायत अरू धेरै नगरपालिकाले पनि यो नियमलाई अनिवार्य गरेका छन् । फ्रान्समा सरकारी कार्यालयमा मास्क अनिवार्य गरिएको छ ।

स्पेन : विद्यालय जाने बालबालिकालाई मास्क अनिवार्य
स्पेनमा ६ वर्षभन्दा माथिका बालबालिकालाई मास्क लगाउन अनिवार्य गरिएको छ । साथै, सार्वजनिक यातायात र ‘इन्डुअर’ कार्यालयमा मास्क अनिवार्य गरिएको छ । प्रायः क्षेत्रमा घरबाहिर जाँदा मास्क लगाउनैपर्छ । स्पेनमा विद्यालय खुलेको छ । विद्यालय जाने ६ वर्षभन्दा माथिका विद्यार्थीलाई पनि मास्क अनिवार्य गरिएको छ ।

जर्मनी : पसल र सार्वजनिक यातायातमा मास्क नलगाउनेलाई जरिवाना

जर्मनीमा ठूलो संख्यामा जम्मा हुन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्मका लागि लम्ब्याइएको छ । सोही कारण बुन्डेस लिगा फुटबल पनि विनादर्शक सुरु भएको छ । विभिन्न देशबाट आउने पर्यटकलाई विमानस्थलमा परीक्षण अनिवार्य गरिएको छ । साथै, पसल र सार्वजनिक यातायातमा मास्क प्रयोग नगर्नेलाई ५० युरो जरिवाना तोकिएको छ ।

इटाली : रात्रिकालीन क्लब बन्द

भाइरस संक्रमण फेरि बढ्न थालेपछि इटालीमा रात्रिकालीन क्लबहरू पुनः बन्द गर्न निर्देशन दिइएको छ । गत १७ अगस्टदेखि नै इटालीमा यस्ता सबै क्लब बन्द छन् । सामाजिक दूरी कायम गर्न नसकिने स्थानमा फेस मास्क अनिवार्य गरिएको छ । ६ महिनापछि इटालीका कतिपय ठाउँमा विद्यालय खुलेका छन् । 

डेनमार्क : बार चाँडै बन्द गर्न निर्देशन 
डेनमार्क कोरोना महामारीपछि युरोपमा चाँडै विद्यालय खोल्ने देशमध्येको एक हो । त्यहाँ गत अप्रिलमै विद्यालय खोलिएको हो । तर, अगस्टको अन्त्यबाट डेनमार्कमा फेरि संक्रमितको संख्या बढ्न थाल्यो । त्यसपछि सरकारले सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ । राजधानी कोपेनहेगन र संक्रमितको संख्या बढेको त्यस वरपर क्षेत्रका बारहरू चाँडै बन्द गर्न निर्देशन दिइएको छ ।

बेल्जियम : फुटबल खेलमा दर्शकलाई अनुमति

बेल्जियममा फेरि संक्रमितको संख्या बढ्न थालेपछि यसअघि बन्द रहेका स्थान यथावतै राखिने निर्णय गरिएको छ । रात्रिकालीन क्लबहरू अझै बन्द छन् । चाडपर्व मनाउन रोक लगाइएको छ । राजधानी ब्रसेल्सका सबै ठाउँमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ । यद्यपि, फुटबल खेल हुँदा दर्शकलाई स्टेडियम जान अनुमति दिइएको छ । तर, थोरै संख्यामा मात्रै दर्शकलाई स्टेडियम जान अनुमति दिएको छ ।

नेदरल्यान्ड्स : ६ जनासम्म भेला हुन पाउने 

नेदरल्यान्ड्समा ६ जनासम्म भेला हुन सक्छन् । यद्यपि, उनीहरू १.५ मिटरको दूरीमा बस्नुपर्नेछ । भाइरस संक्रमण फैलनबाट रोक्न सुरक्षाको अरू नियम लागू गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ । १७ अगस्टदेखि विद्यालय खुला छ । विद्यार्थीका सुरक्षाका लागि विभिन्न उपाय अपनाइएको छ ।

ग्रिस : बाहिरबाट आएकालाई परीक्षणा अनिवार्य

ग्रिसमा सार्वजनिक ‘इन्डुअर’ कार्यालय र सार्वजनिक यातायातमा मास्क लगाउन अनिवार्य गरिएको छ । ग्रिसको केही राज्यहरूले स्थानीय रूपमा आफ्नो छुट्टै नियमहरू पनि जारी गरेका छन् । साथै, बाहिर देशबाट आएकाहरूलाई संक्रमण परीक्षण गर्न पनि अनिवार्य गरिएको छ ।

आयरल्यान्ड : तीनभन्दा बढी घरका मानिस एकसाथ हिँड्न नपाउने

रिपब्लिक अफ आयरल्यान्डमा केही फरक नियम जारी गरिएको छ । एकपटकमा बढीमा ६ जनासम्म मानिस कसैको घरमा जान सक्छन् । तर, उनीहरू तीनभन्दा बढी घरको हुनुहुँदैन । बाहिर हुने जमघटमा १५ जनाभन्दा बढी उपस्थित हुन नपाउने नियम जारी गरिएको छ । ७० वर्षभन्दा बढी उमेरकालाई सकेसम्म घरभित्रै बस्न भनिएको छ । यस्तै, घरबाटै कार्यालयको काम गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

– एजेन्सीको सहयोगमा