१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७७ असोज ७ बुधबार ०६:३५:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

आङरिता र पर्वतारोहण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ असोज ७ बुधबार ०६:३५:००

विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको आइतबार काठमाडौंमा निधन भयो । ७२ वर्षअघि सोलुखुम्बुको खुम्बु इलाकामा जन्मेर पर्वतारोहीहरूको सहयोगी हुँदै आफैँ हिमाल आरोहणमा लागेका आङरिताले १९८३ देखि १९९६ सम्म गरेर दशपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनले पाकिस्तानको के टुसहित अधिकांश उच्च शिखर आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

उनको विशेषता विनाअक्सिजन हिमाल आरोहणका कारण रहेको हो । उनले सबै शिखरहरू अक्सिजनको सहयोगविना नै आरोहण गरेका थिए । उनको आरोहण यात्राले विश्व कीर्तिमान बनाएकाले विश्वभर नै आरोहीका उनी एक प्रेरणास्रोत थिए । यसरी विश्व कीर्तिमान कायम गरेर उनले आफ्नो नाममा कीर्ति त राखे, सँगै शेर्पाहरूसहित सम्पूर्ण नेपालीको नाम पनि उँचो बनाए । पर्वतारोहणका क्षेत्रमा सगरमाथाजस्तै उच्चता हासिल गर्ने थोरै नाममा उनी अग्रपंक्तिमा आउँछन् ।

उनको निधनले नेपाल र विश्व पर्वतारोहण समुदायले एउटा अमूल्य निधि गुमाएको छ । तेन्जिङ नोर्गेले आरम्भ गरेको यो अभियानका उनी एकजना नायक थिए । उनीप्रति हार्दिक श्रद्धाञ्जली ! आङरिता शेर्पाको निधनले भएको अपूरणीय क्षति र दुःखसँगै उनलाई श्रद्धाञ्जलीका औपचारिक शब्द खर्चिरहँदा कोक्याउने एउटा पाटो पनि सँगै आइरहन्छ ।

नेपालमा पर्वतारोही या खासगरी यस्तो कीर्तिमान कायम गर्ने शेर्पाको जीवन आरोहण गरुन्जेल चर्चामा रहने, तर आरोहण गर्न नसक्ने हुनासाथ आर्थिक विपन्नता, सीमान्तीकरणको किनारामा धकेलिएर बित्ने गरेको छ । थोरै आरोहीले मात्र विदेश गएर या अन्य पेसा व्यवसायमा हात हालेर जीवन सहज बनाउन सकेका छन् । अधिकांश शेर्पा आरोहीको हिमाल आरोहण गरिबीको दबाबबाट सुरु हुन्छ । उनीहरू पर्वतारोहीका भरिया बनेर या पथप्रदर्शकका रूपमा काम थाल्छन् । 

सरकारले पर्वतारोहणसम्बन्धी प्रतिष्ठान खोलेर आङरिताहरूको अनुभवको उचित उपयोग गर्न ढिलो नगरोस् । औपचारिकताका लागि राष्ट्रिय सम्मान दिने, तर संस्थागत रूपले उनीहरूको वृत्ति विकासमा ध्यान नदिनुले पेसागत आत्मसम्मान गुम्न जाने खतरा रहन्छ ।

आफ्नै स्वतन्त्र आरोहण समूह बनाएर हिमाल आरोहणमा जानेभन्दा पनि सहयोगीका रूपमा हिमाल चढ्न पुग्ने शेर्पाहरूको संख्या अत्यधिक छ । धेरैजसो यस्ता शेर्पाहरू हिमालको कीर्तिमान बनाएर पनि राज्यको बेवास्ताको सिकार बन्छन् । नेपालमा पर्वतारोहणलाई अरू खेलकुदजस्तै महत्व दिने क्रम अझै सुरु भएको छैन । कीर्तिमान कायम गरेकालाई पर्वतारोहणका पथप्रदर्शकबाट समाजका पथप्रदर्शक बनाउन राज्यले ध्यान दिएकै छैन ।

जसरी पासपोर्ट दिएर र श्रम–स्वीकृति दिएर वैदेशिक रोजगारीमा जानेहरूप्रतिको दायित्व पूरा भएको मान्दै सरकार बस्छ, त्यसरी नै भरियाका रूपमा काम गर्दै गरेका शेर्पाहरू कीर्तिमान कायम गरेपछि पनि राज्यबाट उपेक्षाको सिकार हुन्छन् । तिनले पर्वतारोहणका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्ने, पर्वतारोहणमा कीर्तिमान कायम गरेपछि उनीहरूलाई वार्षिक निश्चित रकम भत्ताका रूपमा उपलब्ध गराउने, बालबालिका र किशोरबीचमा आदर्श व्यक्तित्वका रूपमा उनीहरूलाई परिचित गराउने । र, संवादका अवसर जुटाइदिने, सद्भावना दूतका रूपमा नेपालको पर्यटन क्षेत्रको प्रचारमा विभिन्न देशमा पठाउने गर्दा उनीहरूको सम्मान पनि हुन्थ्यो र देश र समाजले पनि फाइदा लिन सक्थ्यो । 

अहिले पनि धेरैजसो यस्ता आरोहीका सन्तान पर्वतारोहणमा सहयोगीका रूपमा प्रवेश गर्छन्, कतिले आरोहणकै क्रममा जीवन गुमाउँछन्, कतिले उच्च हिमालको सफल आरोहण गरेर कीर्तिमान कायम राख्छन् । कोही विदेश पलायन हुन्छन्, कोही बेखबर र गुमनाम जीवन बिताउँछन् । सरकारले नेपालमा पर्वतारोहणसम्बन्धी प्रतिष्ठान खोलेर आङरिताहरूको अनुभवको उचित उपयोग गर्न ढिलो नगरोस् । औपचारिकताका लागि राष्ट्रिय सम्मान दिने, तर संस्थागत रूपले उनीहरूको वृत्ति विकासका लागि ध्यान नदिनुले पेसागत आत्मसम्मान गुम्न जाने खतरा रहन्छ ।