१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ असोज ७ बुधबार ०९:४२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बंगलादेशबाट ५० हजार टन युरिया कात्तिकमा भित्रने, ८ महिनामा पैँचो तिर्नुपर्ने 

Read Time : > 2 मिनेट
२०७७ असोज ७ बुधबार ०९:४२:००

रेल, सडक र समुद्रीमार्ग कहाँबाट ल्याउँदा सस्तो पर्छ, त्यहीँबाट ल्याउने गरी टेन्डर आह्वान

नेपाल सरकारले बंगलादेशबाट सापटीमा ५० हजार टन युरिया मल ल्याउने पक्का भएको छ । बंगलादेशले ५० हजार टन युरिया पैँचोमा दिन लिखित पत्राचार गरिसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बंगलादेशले चितगाउँ बन्दरगाहबाट ५० हजार टन युरिया दिने लिखित सहमति जनाइसकेको छ । उसले त्यहाँको कुन कम्पनीलाई सम्पर्क गरेर दिने भनेर पनि खुलस्त पारेको छ,’ केसीले भने, ‘बंगलादेशले सहमति दिएपछि कृषि सामग्रीले ढुवानीका लागि टेन्डर पनि खोलिसकेको छ ।’ पैँचो मल ल्याउन मन्त्रालयमातहतको कृषि सामग्री कम्पनी लिमिटेडले एक हप्ताको समय राखेर गत शनिबार नै टेन्डर खोलिसकेको छ ।

कम्पनीले रेल, सडकमार्ग र समुद्रीमार्ग कहाँबाट ल्याउँदा सस्तो पर्छ, सोहीअनुसार ल्याउने गरी टेन्डर भर्न इच्छुक ढुवानीकर्तालाई आग्रह गरेको छ । कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रप्रसाद भण्डारीले ढुवानीकर्ता छनोटपछि ७० दिनको समय दिएर बंगलादेशबाट मल ल्याउन सुरु गर्ने बताए । ‘हामीले ढिलोमा कात्तिक पहिलो साताबाट बंगलादेशी मल भित्र्याउन सुरु गर्ने गरी प्रक्रिया अघि बढाएका छौँ,’ उनले भने, ‘यो युरिया आउँदो गहुँ सिजनका लागि हो । गहुँ लगाउने किसानलाई कुनै समस्या नहोस् भन्नका लागि छिटो प्रक्रियाबाट मल ल्याउने प्रयत्न गरेका हौँ ।’

ठूलो परिमाणमा रहेको मलको प्याकेजिङ जिम्मा भने नेपालले नै लिएको छ । ढुवानीका लागि छनोट भएको ठेकेदारले नै प्याकेजिङ गरी ल्याउनुपर्ने सर्त राखिएको छ । यो मल वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकासम्म ल्याइदिनुपर्ने हुन्छ । पैँचो ल्याएको मल बंगलादेशलाई आठ महिनाभित्र तिरिसक्ने समझदारी भएको छ । कृषि सामग्रीले ग्लोबल टेन्डरबाट सो परिमाणको मल खरिद गर्ने ठेकेदारलाई कलकत्ता बन्दरगाहसम्म ल्याउने जिम्मा दिने र त्यहाँबाट चित्तगाउँ बन्दरगाहसम्म कृषि सामग्रीले नै ढुवानी गरेर पुर्‍याइदिने समझदारी भएको छ । नेपाल भिœयाउने मल भने विभिन्न नाकामा रहेका कृषि सामग्रीको गोदामसम्म वा भन्सार यार्डमा रहेको एकीकृत जाँचचौकीसम्म ल्याउने गरी टेन्डर हुने गरेको छ ।

कृषि सामग्रीले चालू आर्थिक वर्ष ०७६/७७ का लागि ८० हजार टन युरिया आयातको ठेक्का सम्झौता गरिसकेको छ । यो मल समयमै आए बंगलादेशलाई फर्काउन खासै समस्या हुँदैन । तर, गत आवको जेठ–असारमा नै मल ल्याउने सम्झौता गरेर झुक्याएको शैलुङलाई नै ५५ हजार टन युरियाको ठेक्का दिइएको छ । त्यस्तै, थप २५ हजार टन युरिया मुक्तिनाथ कृषि कम्पनीले ल्याउने ठेक्का पाएको छ ।

यी कम्पनीले सम्झौता गरेअनुसार कात्तिक पहिलो साताबाट मल ल्याउन सुरु गर्नुपर्ने हो । तर, अहिलेसम्म सुरसार गरेका छैनन् । कृषि सामग्रीका प्रबन्ध सञ्चालक भण्डारीले आपूर्तिको जिम्मा पाएका कम्पनीलाई चाँडो मल भित्र्याउने प्रक्रिया सुरु गर्न बारम्बार निर्देशन दिइरहेको बताए । उनले भने, ‘तर, अहिले रासायनिक मलको मूल्य अकासिँदै गएका कारण समयमै आउनेमा हामीलाई शंका लाग्न थालेको छ ।’

बंगलादेशबाट पैँचोमा पहिलोपटक मल आउन लागेको हो । यसको पहल कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीकृति लिएर बंगलादेशसँग सरकारीस्तरबाटै पैँचोमा मल ल्याउन डेढ महिनाअघि पहल गरेका थिए । बंगलादेशी कम्पनी सकारात्मक भएपछि प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षी सेख हसिना वाजेदसँग सहयोग मागेका थिए । त्यसक्रममा सकारात्मक छलफल भएपछि बंगलादेशबाट युरिया आउने टुंगो लागेको हो ।

मलमा दिइएको १० अर्ब अनुदानमध्ये ३ अर्ब अनियमितता : कृषिमन्त्री भुसाल

किसानलाई सहुलितमा मल उपलब्ध गराउन सरकारले दिएको १० अर्बको अनुदानमा ३ अर्ब अनियमितता भएको कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले बताएका छन् । इलामको सूर्योदयमा आयोजित अर्थोडक्स चियाको ट्रेडमार्क उद्योगीहरूलाई हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले कृषि क्षेत्रमा भइरहेको भ्रष्टाचार, अनियमिततालाई तीन वर्षमा अत्य गरिने बताएका छन् । उनले कृषि क्षेत्रमा देखिएको दलाल पुँजीवाद अन्त्य गर्दै समृद्धि र समाजवादतिर जाने बाटो कृषि नै भएकाले ध्यान दिन जरुरी रहेको बताए । चियाको ट्रेडमार्क कार्यान्वयनले चियाको बजार विस्तारमा सहयोग पुग्ने, तर गुणस्तर कायम भएन भने माग घट्ने उनको भनाइ छ । गुणस्तर सुनिश्चित गर्न सके मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने मन्त्री भुसालले व्यवसायीहरूलाई सचेत गराएका छन् । उनले कृषिको विकासका लागि प्रत्येक वडामा एकजना कृषि र पशुको प्राविधिक पुर्‍याउनुपर्नेमा जोड दिए ।

१२ उद्योगलाई ‘अर्थोडक्स चियाको ट्रेडमार्क’
सरकारले पहिलोपटक १२ चिया उद्योगलाई चियाको सामूहिक ट्रेडमार्क प्रदान गरेको छ । मंगलबार चिया तथा कफी विकास बोर्डले इलामको सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले इलाम, संखुवासभा र तेह्रथुमका चिया उद्योगलाई ट्रेडमार्क हस्तान्तरण गरेका हुन् । बोर्डले चियाको सामूहिक ट्रेडमार्क प्रयोगका लागि आवेदन खुलाउँदा ४२ चिया उद्योगले आवेदन पेस गरेका थिए । नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिकाअनुसार सूचक पूरा गरेका इलामका ९, संखुवासभाको एक र तेह्रथुमका दुईवटा चिया उद्योगलाई नेपाली अर्थोडक्स चिया ट्रेडमार्क प्रदान गरिएको हो । 

ट्रेडमार्क पाउनेमा सन्दकपुर टी प्रोसेसर प्रालि, हिमालयन सांग्रिला टी प्रोड्युसर प्रालि, जस्बिरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रिन टी एन्ड स्पेस्यालिटी, ओइसिस टी एन्ड इन्डस्ट्री, तारागाउँ टी स्टेल प्रालि, खाजेखुङ हिलरेन्च चिया प्रशोधन उद्योग, उच्च पहाडी चिया उत्पादनक चिया सहरकारी संस्था गरेर ९ उद्योग इलामका रहेका छन् । त्यस्तै, संखुवासभाको सगरमाथा टी स्टेट प्रालि तथा तेह्रथुमको बोक्रेडाँडा अर्गानिक अर्थोडक्स चिया प्रशोधन उद्योग र सिंहदेवी चिया उत्पादक सहकारीलाई टे«डमार्क प्रदान गरिएको हो । करिब १ सय ५० वर्षको चियाको इतिहासमा पहिलोपटक चिया उद्योगलाइ ट्रेडमार्क प्रदान गरिएको हो ।