१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज ६ मंगलबार १८:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

छानबिन समितिको निष्कर्ष : प्रहरी लापरबाहीले हिरासतमा मृत्यु

Read Time : > 1 मिनेट
२०७७ असोज ६ मंगलबार १८:२३:००

हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रहरीको लापरबाहीले भएको छानबिन समितिले ठहर गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले गठन गरेको समितिले उच्च सावधानी नअपनाएको भन्दै तीनजना प्रहरीलाई कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाएको छ ।
    
धनगढी उपमहानगरपालिका– १४, फूलबारीका ४५ वर्षीय अमरबहादुर चन्द गत २८ साउनमा स्थानीय प्रहरी चौकी बहुलियाको हिरासतमा मृत अवस्थामा फेला परेका थिए । उनी मदिरा सेवन गरेर होहल्ला गरेको अभियोगमा पक्राउ परेका थिए । छानबिनका क्रममा प्रहरीले सावधानी नअपनाएका कारण घटना भएको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । 
    
थुनामा उच्च सुरक्षा सावधानी अपनाउनुपर्नेमा हल्का किसिमको सुरक्षा व्यवस्थाका कारण घटना भएकोले सम्बन्धित अधिकारीलाई समितिले कारबाहीको सिफारिस गरेको छ । छानबिन समितिले प्रहरी चौकी बहुलियाका इन्चार्ज प्रहरी नायब निरीक्षक जंगबहादुर सिंह, त्यहाँ कार्यरत एकजना हवल्दार र एकजना जवानलाई कारबाहीको सिफारिस गरेको छ ।

समितिको सिफारिसका आधारमा तीनैजनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई निर्देशन दिइएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए । घटनापछि प्रहरी नायव निरीक्षक सिंह जिल्ला तानिएका थिए । समितिको सिफारिसका आधारमा मृतकका परिवारलाई राहतका लागि गृह मन्त्रालयलाई सिफारिस गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रहरीको कमजोरी रहे पनि चन्दले आत्महत्या गरेको ठहर छानबिन समितिले गरेको छ । घाँटी रेटिएको अवस्थामा चन्दको शव प्रहरी चौकीको शौचालयभित्र फेला परेको थियो । शवनजिकै ब्लेड फेला परेकाले उनले ब्लेडले आफैँले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले दाबी गर्दै आएको छ । मृतकका आफन्तले भने थुनुवा कक्षमा प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाएका छन् । घटनापछि प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

यस्तै गत २६ भदौमा जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा पनि एक युवाको मृत्यु भएको थियो । चोरीको आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–५ का रोशन विक थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उक्त घटनाको छानबिनका लागि गठन भएको समितिले निर्धारित समयमा प्रतिवेदन दिन सकेको छैन । 

प्रहरी उपरीक्षक बस्नेतको नेतृत्वमा गठन भएको समितिले निर्धारित सात दिनभित्र प्रतिवेदन दिन नसकेपछि प्रतिवेदन बुझाउने अवधि पाँच दिन थप गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको कुटाइका कारण रोशनको मृत्यु भएको भन्दै उनका आफन्त आन्दोलन गर्दै आएका छन् । 

शरीरका विभिन्न ठाउँमा चोटपटक रहेको, झुन्डिएको अवस्थामा फेला परेको भने पनि प्रहरीले आफूहरूलाई खबर नगरेको र झुन्डिएको अवस्थाको तस्बिरसमेत प्रहरीसँग नरहेकाले रोशनको हत्या भएको उनका बुबा टेकबहादुरले बताए ।