१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ६ मंगलबार १७:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लिपुलेक–कालापानी–लिम्पियाधुरासहितको नेपालको भूभाग समेटिएको नक्सासहितको पुस्तक वितरण रोकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ६ मंगलबार १७:१०:००

शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले भारतले अतिक्रमण गरेका लिपुलेक–कालापानी–लिम्पियाधुरासहितको नेपालको भूभाग समेटिएको नक्सा तथा जानकारी समेटेर प्रकाशन गरेको पुस्तक वितरण रोकिएको छ । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पुस्तक वितरण रोकिएको हो । 

पुस्तकमा उल्लेख भएका केही तथ्य र त्यसले भारतसँगको सम्बन्धमा असर पार्न सक्ने भन्दै पुस्तक वितरणमा रोक लगाइएको हो । केही दिनअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पुस्तक सार्वजनिक गरेका थिए । मंगलबार भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा रोक्न भनेका कारण वितरण  बन्द गरेको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘परराष्ट्रसहित अन्तरमन्त्रालय छलफल गरेर रिपोर्ट गर्छौँ ।’ उनले विज्ञहरूसहितको छलफल गरेर यस विषयमा उठेका प्रश्नहरू स्पष्ट गर्ने बताए । 

कक्षा ९–१२ का विद्यार्थीलाई सन्दर्भ सामग्रीका रूपमा केन्द्रले पुस्तक तयार गरेको थियो । विद्यार्थीले नेपालको एकीकरण र घटनाक्रमबारे जानकारी पाउन र उचित दृष्टिकोणको विकास गर्ने अभिप्रायले यो पुस्तिकाको विकास गरिएको केन्द्रका अधिकारीको भनाइ छ । 

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीहरूलाई नेपालको भूभाग र सिमानासम्बन्धी जानकारी दिने उद्देश्यले यससम्बन्धी स्वध्याय सामग्रीको विकास गरेको छ । गत २ नोभेम्बर, २०१९ मा भारतले एकतर्फी रूपमा जारी गरेको नक्सामा लिपुलेक–कालापानी–लिम्पियाधुरासहितको नेपालको भूभागलाई भारतीय क्षेत्रमा देखाएको र भूभागमा सडकसमेत बनाएको घटनाक्रम बाहिर आएपछिको नेपालले विरोध गरेको थियो । १९ असार ०७७ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने गरी स्वीकृत दिएको थियो ।

आफ्नो राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको संरक्षणका लागि विद्यार्थीका साथै आमजनतामा सचेतता र संवेदनशीलताको विकास हुने अपेक्षा छ । भूपरिवेष्ठित अवस्थिति र संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालको सिमाना जोडिएका छिमेकी मुलुकहरूसँग वेलावेलामा देखा पर्ने गरेका र भविष्यमा समेत सिर्जना हुन सक्ने सीमासम्बन्धी विवादको जानकारी राख्ने, विवादका कारणहरू पहिल्याउने, विवाद समाधानका तरिकाहरूको पहिचान गर्ने, यससम्बन्धी संवेदनशीलता र उचित दृष्टिकोणको विकास गर्ने अभिप्रायले पुस्तक विकास गरिएको हो । 

पुस्तकमा नेपालको पश्चिम–उत्तर सीमा क्षेत्रका लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका नेपाली भूमिमा भारतले गरेको अतिक्रमण र यससँग सम्बन्धित ऐतिहासिक तथा अन्तर्राष्ट्रिय मान्यताअनुरूपका तथ्य तथ्यांक र प्रमाणहरू राखिएका छन् ।