मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज ६ मंगलबार १३:२७:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

चितवनका होटेल सञ्चालक आफ्ना होटेल खोल्ने तयारीमा जुट्दै

Read Time : > 1 मिनेट
२०७७ असोज ६ मंगलबार १३:२७:००

गत ११ चैतदेखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटेल तथा रेस्टुरेन्टहरू खोल्ने तयारीमा सञ्चालकहरू लागेका छन् । 

व्यवसायीहरूले काेभिड– १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटेल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले गत ११ चैतयता लकडाउन गर्दै आएको थियो । 

पछिल्लो समय लकडाउन हटाइएपछि आन्तरिक उडान र बाह्य उडानसमेत सुचारु भएका छन् । जसका कारण फेरि पनि पर्यटन क्षेत्र सुचारु हुने तरखरमा छ । 

चितवनको सौराहा पनि देशको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । त्यसैले यहाँका होटेल व्यवसायीले कोभिड– १९ संक्रमण रोकथामका लागि मापदण्ड पूरा गरी होटेल सञ्चालन गर्ने तयारी गरिरहेका छन् । 

लामो समय बन्द भएकाले सरसफाइ र मर्मत गरेर होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा ल्याउन पाँचदेखि २० लाख रुपैयाँ थप लगानी गर्नुपर्ने अवस्था रहेको क्षेत्रीय होटेल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । 

तत्काल पर्यटकहरू आउने सम्भावना नभए पनि सबै मापदण्ड पूरा गरेर होटेल सुचारु गर्न लागिएको उनले बताए । 
चितवनको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्कन अझै दुई वर्ष लाग्नेसमेत भट्टराईको भनाइ छ ।   

बाह्य पर्यटक तत्काल आउने सम्भावना नरहेको र चाडपर्व नजिकिँदै गरेकोले केही आन्तरिक पर्यटक आउने आसमा सौराहाका व्यवसायी रहेका छन् । 

व्यवसायीलाई सरकारले उपेक्षा गरेको उनीहरूको बुझाइ छ । सरकारले पुनर्कर्जा दिने बताए पनि त्यसको कार्यान्वयन नहुँदा होटेल सञ्चालन गर्न चालू पुँजीको अभाव भएको पनि व्यवासायीले बताए । 

होटेल व्यवसायी ध्रुव गिरीले लामो समय बन्द भएका होटेलको सरसफाइ गर्ने, मर्मत गर्ने काममा आफूहरू व्यस्त रहेको बताए । 

उनले होटेल सुचारु गर्न कर्मचारीलाई १५–१५ दिन गरी  मासिक दुई सिफ्टमा काम लगाउने योजना बनाएकोसमेत बताए । 

चितवनको सौराहामा करिब दुई सयको संख्यामा होटेल तथा रेस्टुरेन्ट रहेका छन् । 
त्यस्तै पाँच हजार पाँच सयजनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन् । सौराहा क्षेत्रका होटेल तथा रेस्टुरेन्टहरू पूर्ण रूपमा पर्यटनमा आधारित छन् । 

कोभिडका कारण तत्काल बाह्य पर्यटक आउन नसक्ने भए पनि आन्तरिक पर्यटक आउने झिनो आशाले होटेल तथा रेस्टुरेन्ट सुचारु गर्न लागिएको व्यवसायीहरू बताउँछन् ।