१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
ललिता बश्याल
२०७७ असोज ६ मंगलबार ०९:१३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विद्यार्थीको मुहार हेरौँ, शिक्षाको पद्धति फेरौँ

Read Time : > 5 मिनेट
ललिता बश्याल
२०७७ असोज ६ मंगलबार ०९:१३:००

यो शिक्षा प्रणालीले बालबालिकाका सिर्जनशील आत्माहरूको अपहरण गरेर चेतशून्य अनुचरको उत्पादन गरिरहेको छ
रातदिन प्रयोगशालामा काम गर्दा श्रीमान् अत्यन्त थाकेका होलान् भन्ने ठानेर एक विख्यात वैज्ञानिकलाई श्रीमतीले आराम दिलाउने उपाय रचिछिन् । र, प्रेमपूर्वक उपाय सुझाइछन्– तपाईं केही दिनका लागि आफूलाई सबैभन्दा रमाइलो लाग्ने ठाउँमा जानुस् अथवा आफूलाई एकदमै मन लागेको, तर गर्न नपाएकोे कुनै काम गर्नुस् । उनले पहिलो प्रस्ताव मन पराएछन् र गएछन्, आफूलाई एकदमै रमाइलो लाग्ने ठाउँ अर्थात् उही प्रयोगशाला । 

यसले के देखाउँछ भने उनी आफ्नो कामप्रति कति सन्तुष्ट र खुसी रहेछन् । अहिले उनीजस्तै आफ्नो कामप्रति सन्तुष्ट र खुसी हुने मानिस कति होलान् ? निश्चय पनि असाध्यै सीमित । मानिसलाई आफ्ना चाहनाभन्दा बाह्य तत्वले निर्देशित गर्नु नै यसको मुख्य कारण हो । मानिस खुसी हुनु र रमाउनुका लागि आधुनिकताले निर्धारण गरेका तत्वहरूले नभई मानिसको व्यक्तिगत चाहनाले उत्तेजित गर्नुपर्छ । जिन्दगीमा सुखी र खुसी जीवनका लागि अपनाइने विभिन्न माध्यममध्ये औपचारिक शिक्षालाई आधुनिक समाजको सबैभन्दा महत्वपूर्ण आधार मानिने गरेको छ । त्यसैले शिक्षा आधारभूत अधिकारको रूपमा स्थापित भइसकेको छ र संसारभर नै शिक्षामा सर्वसुलभ पहुँचका लागि वकालत जारी छ । 

नेपालको संविधानले पनि आधारभूत शिक्षालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । फलतः नेपालमा आधारभूत तहमा विद्यार्थी भर्नादर लगभग शतप्रतिशत पुगेको छ । सामान्य अर्थमा शिक्षा भनेको शिक्षालय जाने, पाठ घोक्ने, परीक्षा दिने र प्राप्तांक नै व्यक्तिको गुण, क्षमता र सफलताको मानक हुने शिक्षा प्रणाली भएको छ । तर, यस प्रणालीभित्र बाँधिएका कति विद्यार्थी वास्तवमा यो पद्धतिमा रमाइरहेका छन् र यो पद्धति आफैँमा मानव विकासका लागि कत्तिको सफल छ भन्ने ज्वलन्त प्रश्न कायमै छ । 

कोभिड–१९ को वैश्विक महामारीमा विभिन्न शिक्षालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको सन्दर्भमा त यो प्रश्न थप सान्दर्भिक बनेको छ । बालबालिका सामान्यतया इन्टरनेटमा रमाउने भए पनि इन्टरनेटको गडबडी र विद्युत् कटौतीले अनलाइन कक्षा अवरोध हुँदा उनीहरूको अनुहार वसन्त ऋतुको फूलझैँ आनन्ददायक हुने गर्छ । औपचारिक शिक्षामा अवरोध आउँदा विद्यार्थीमा चुलिने गरेको खुसीको यो पारो शिक्षा प्रणालीको एउटा मापक हुन सक्छ । अरू वेला पनि विद्यालय बिदा हुँदा वा शिक्षक अनुपस्थित हुँदा विद्यार्थीहरू रमाइरहेको पाइन्छ । आधुनिक औपचारिक शिक्षा र यसको उद्देश्यसँग जोडिएका अनेक आयाममा उसले प्राप्त गरिरहेको शिक्षा र शैक्षिक पद्धतिप्रति उसको कति लगाव छ भन्ने प्रश्नको उत्तर खोज्नैपर्छ ।

अहिलेका विद्यार्थीहरूका क्रियाकलापलाई हेरेर मात्र होइन, हामीले आफ्नै विगत स्मरण गर्दा पनि यो प्रश्नको उत्तर खोज्न सहज हुन्छ । हाम्रो स्कुले जीवन त निःसन्देह रमाइलो थियो, तर के कक्षाहरू आकर्षक थिए ? थिएनन् । के यसो हनुको कारण साथीसंगी, शिक्षक तथा स्कुल हुन् र ? होइनन् । बरु, हाम्रो पाठ्यक्रम, सिकाइ प्रणाली र सिंगो समाज यसको कारण हुन सक्छ । आफ्नो कक्षामा राम्रै विद्यार्थीमध्येमा गनिने मजस्ताको मनमा पनि स्कुल मात्र नभएर कलेज जीवनमा पनि कक्षाकोठाभन्दा अरू नै कुराहरू किन स्मरणीय भइरहन्छन् ? यसको जवाफ फेरि पनि सिकाइ प्रणालीभित्रै खोज्नुपर्छ । ती दिनका साथीहरूसँग जंगल गएको, दाउरा घाँस काटेको, गाईभैंसी चराएको, गाईको पुच्छर समाएर बर्खाको बाढीमा खोला तरेको, हाफ–टाइममा साथीहरूको घरमा गएर मेवा र नुनचुक खाएको, स्कुलको घन्टी बजिसक्दा पनि चुङ्गी र रबर–ब्यान्ड खेल्न नछाडेका जस्ता क्षण खुसीका पलहरू बनेर मानसपटलमा दौडिन थाल्छन् ।

तर, किन कक्षाकोठाहरू कहिल्यै रमाइला क्षणका रूपमा आउँदैनन् ? कक्षाकोठामा गर्मी भएकाले पीपलको रुखमुनि अंग्रेजी पढ्न गएको र कसैलाई पनि पढ्न मन नभएपछि विद्यार्थीको अनुरोधमा सरले लोकगीत गाएका वेलाजस्तो खुसी साथीहरूको अनुहारमा किन कहिल्यै दौडिएन ? बन्द कक्षाकोठा किन रमाइला भएनन् ? त्यतिवेलादेखि अहिले आधारभूत शिक्षालाई अनिवार्य अधिकारको रूपमा स्थापित गरिसक्दासम्म पनि औपचारिक शिक्षा किन आकर्षक बन्न सकेन ? स्कुल जाने, पढ्ने भन्ने कुरा किन भारी बोकाएकोजस्तो भइरहेको ? ‘पढ्ने भन्ने कुरा गाह्रै काम हो’ भनी आमरूपमा किन भनिन्छ ? यी प्रश्नको उत्तर पनि हाम्रो शिक्षा प्रणालीभित्रै खोज्न आवश्यक छ । 

आलोचनात्मक शिक्षण शास्त्रका महान् दार्शनिक पाउलो फ्रेइरीले शिक्षण डाइलोजिक हुनुपर्छ भनेका छन्, जसमा शिक्षक र विद्यार्थी दुवैले एकअर्काबाट सिक्न सक्छन् । उनले शिक्षक र विद्यार्थीबीचको असमान दूरी हटाउनुपर्नेमा जोड दिँदै आधुनिक शिक्षा प्रणालीलाई बैंकिङ शिक्षण विधि भनेर आलोचना छन् । अर्का शिक्षापे्रमी तथा दार्शनिक जिद्दु कृष्णमुर्तिले त अहिलेको दुःखी, अव्यवस्थित, असमान, लोभ र स्वार्थले भरिएको समाज निर्माणको जिम्मेवार तत्व नै आधुनिक शिक्षा प्रणलीलाई ठानेका छन् । उनका अनुसार शिक्षा त्यो हो, जसले मानिसलाई जीवनको त्रासबाट स्वतन्त्र राख्दै, माया प्रेममा पूर्ण रूपमा फुल्ने कला सिकाउँछ । ‘द माइन्ड विदाउट फियर’मा नोवेल पुरस्कार विजेता साहित्यकार रवीन्द्रनाथ टेगोरले पनि यही विचार व्यक्त गरेका छन् ।

आधुनिक शिक्षा प्रणालीले सबै विद्यार्थीलाई सजातीय रूपमा हेर्छ, जुन गलत छ । विद्यालयहरू कुनै कारखानाले जस्तै समाजले खोजेजस्तो उत्पादन तयार गर्ने होडबाजीमा हुन्छन् । मानौँ, विद्यार्थीहरू मैदाका बुट्टेदार बिस्कुट हुन्, जसको बजारमा प्रतिस्पर्धात्मक मौद्रिक मूल्य हुन्छ ।

शिक्षण जगत्मा एउटा नारा नै बनिसकेको छ­– शिक्षा ग्रहण गर्नका लागि विद्यार्थी अनुशासित हुनुपर्छ । यो आममान्यतामाथि पनि कृष्णमुर्तिले झापड हानेका छन् । उनको व्याख्या छ­– अनुशासन अर्थात् ‘डिसिप्लिन’ शब्द ‘डिसिपल’बाट आएको हो, जसको अर्थ सिक्नका लागि सधैँ तत्पर र इच्छुक भन्ने हुन्छ न कि आज्ञाकारी वा गुरुप्रति पूर्ण समर्पित । आधुनिक शिक्षाले मानिसलाई जोड्ने नभई जाति, भाषा, लिंग, राष्ट्र, धर्म आदि जस्ता अनेक आधारमा तोड्ने काम गरेको उनको ठहर छ । यस्तो विभाजनले मानिसमा इगो बढाउँछ र विषयवस्तुलाई जस्ताको तस्तै नभई फरक–फरक चस्माले हेरेर मानवीय सुख र शान्तिमा सबैभन्दा ठूलो भाँजो हाल्ने काम हुन्छ । शिक्षाको मुख्य उद्देश्य भनेको आफूले आफैँलाई चिन्ने कला, समग्र विषयवस्तुलाई जस्ताको तस्तै हेर्न सक्ने क्षमताको विकास र प्रेमको माध्यमबाट समाजलाई समग्रमा हेर्ने मानवीयताको निर्माण गर्नु हो । 

आधुनिक शिक्षा प्रणालीमा त शिक्षाको अर्थ यसको ठीक उल्टो पाइन्छ । यो शिक्षा प्रणालीले त शिक्षालाई फगत पैसा कमाउने, आर्थिक स्तरोन्नति गर्ने, उच्च पदहरूमा पुग्ने, भौतिक उपार्जन गर्ने साधनको रूपमा प्रस्तुत गरेको छ । यसैले नै विज्ञान पढ्नु सक्षमताको पहिचान बनेको छ, जसबाट डाक्टर, इन्जिनियर बनी धेरै पैसा कमाएर भौतिक सुख–सुविधा हासिल गर्ने बाटो फराकिलो हुन सकोस् । यो तथ्य नै समाजको सत्यका रूपमा स्थापित भएको छ । विज्ञानको क्रान्तिपछि स्थापित विषयमा आधारित पदानुक्रमको यस्तो अवस्था संसारभरि व्याप्त छ । सामाजिक विज्ञानमा पनि पहिलेभन्दा फरक धारणा आएका छन्, अर्थात् विषयमा आधारित पदानुक्रममा केही परिवर्तन भएको छ । तर, नेचुरल साइन्सको स्थान भने माथि नै छ, किनकि सामाजिक शास्त्रका विभिन्न विषय पढ्नेहरूको तुलनामा इन्जिनियरिङ र चिकित्साशास्त्र पढेकाले धेरै सम्पत्ति आर्जन गर्न सक्छन् । उल्लेखनीय पक्ष के छ भने राज्यको नजरमा सामाजिक विज्ञान पढ्ने त राज्यलाई प्रश्न मात्र गर्ने प्राणी हुन् ।

ज्ञानको यस्तो विषयगत वर्गीकरणले समाजमा पारेको गहिरो छापको परिणामस्वरूप सम्पूर्ण आमाबाबुहरू आफ्ना सन्तान समाजले सम्मान दिने विधामा दख्खल राखून् भन्ने चाहन्छन् । तर, सबैले समान रूपमा त्यस्तो सफलता पाउँदैनन् । फलतः कैयौँ विद्यार्थी अवसादग्रस्त बिरामी हुने, लागुपदार्थको कुलतमा फस्ने र आत्महत्यासम्म पुग्ने गरेका छन् । संसारमा वर्षमा चार लाख ३० हजारभन्दा बढी र नेपालमै मात्र पनि वर्षमा पाँच हजारभन्दा बढीको संख्यामा आत्महत्या गर्नेहरूमध्ये शिक्षाकै कारण समाजमा असफल भएको महसुस गर्नेहरू कति होलान् ? अनुसन्धानकै विषय छ । 

आधुनिक शिक्षा प्रणालीले सबै विद्यार्थीलाई सजातीय रूपमा हेर्छ, जुन गलत छ । विद्यालयहरू कुनै कारखानाले जस्तै समाजले खोजेजस्तो उत्पादन तयार गर्ने होडबाजीमा हुन्छन् । मानौँ कि विद्यार्थी मैदाका बुट्टेदार बिस्कुट हुन्, जसको बजारमा प्रतिस्पर्धात्मक मौद्रिक मूल्य हुन्छ । वास्तविकतामा त प्रत्येक मानिस एकदमै भिन्न र सिर्जनशील हुन्छ । त्यसलाई पहिचान गर्न नखोजेर सामाजिक स्वार्थपूर्तिका लागि आज्ञाकारी, सीधा, प्रश्नविहीन सजातीय जीव उत्पादन गर्ने आधुनिक विद्यालयहरू सिर्जनशील विद्यार्थीका लागि भेडाबाख्राका बथान थुन्ने खोरजस्ता बाध्यकारी स्थान बनेका छन् । शिक्षा प्रणालीकै कारण त्यहाँका शिक्षक पनि उही हावापानीअनुकूल प्रशिक्षित हुने नै भए । उनीहरूले सिर्जनात्मक तौरतरिका अपनाउन सक्ने कुरै भएन । फलतः विद्यार्थी पढाइलाई रमाइलो बुझाइभन्दा बाध्यात्मक बोकाइको रूपमा लिइरहेका छन् । यही बोझ शिक्षक अनुपस्थित भएर, विद्यालय बिदा भएर, बिजुली वा इन्टरनेट नभएर वा अरू कुनै आकस्मिक कारणले हुन्छ, त्यति वेला औपचारिक पाठ्यक्रम पढ्नु नपर्दा देखिने बच्चाको चम्किलो अनुहारबाट स्पष्ट हुन्छ– यो शिक्षा प्रणालीले बालबालिकाका सिर्जनशील आत्माको अपहरण गरेर चेतशून्य अनुचरहरूको उत्पादन गरिरहेको छ ।

अतः शिक्षालय र यसका अवयवहरूलाई आकर्षक र सिर्जनशील स्थानमा रूपान्तरण गर्न वर्तमान शिक्षा प्रणालीमा ठूलो परिवर्तनको खाँचो छ । शिक्षालाई केवल भौतिक साधनको संकलन र प्रदर्र्शन नभएर मानिसले आफूभित्रका सम्भावनालाई उजागर गर्ने माध्यमको रूपमा विकास गर्न सके भने मात्र उपभोक्तावादी समाजमा वर्तमान शिक्षा प्रणालीबाट थाकेका हाम्रा बालबालिकाले स्कुले पढाइबाट छुट्टी मिल्दा खुसी भएर उफ्रिने अवस्थाको अन्त्य हुनेछ । वास्तवमा वर्तमान शासकले पार्टीका झन्डा बोकाएर नारामा रटाउँदै आएको प्रगतिशील, जनवादी र वैज्ञानिक शिक्षा कस्तो हुँदो रहेछ भनेर व्यवहारमै देखाउन र समाज रूपान्तरणको जग बसाउन योभन्दा प्रभावकारी र दिगो अरू केही उपाय छँदा पनि छैन । 

(भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेकी बश्याल मदन भण्डारी कलेजमा अध्यापनरत छिन्)