Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असोज ५ सोमबार १८:००:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बहस होइन विवादमै बिते सिनेकर्मीका ६ महिना

नेपाली सिने उद्योग ६ महिनायता केही कलाकारका अभिव्यक्तिका कारण चर्चामा रह्यो । ती अभिव्यक्तिमा जति बहस हुनु पर्थ्यो, त्यो नभई विवादमै सीमित बन्यो ।

Read Time : > 4 मिनेट
२०७७ असोज ५ सोमबार १८:००:००

० गत असारमा अभिनेत्री दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई भन्ने गरिएको ‘महानायक’ सम्बोधनमाथि प्रश्‍न गरिन् । उनले हमाललाई ‘महानायक’ पत्रकारले बनाइदिएको आशय व्यक्त गरेकी थिइन् । त्यसको भिडियो क्लिप सार्वजनिक भएपछि दीपाश्रीको चौतर्फी आलोचना भयो । यो विषयले नेपाली चलचित्र क्षेत्र विभाजित बन्न पुग्यो ।

० नेपाल-भारत सीमा विवाद चर्किंदै गर्दा दिएको अभिव्यक्तिले नायिका वर्षा राउत आलोचित बनिन् । एक युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै उनले सीमा विवादका कारण भारतीय साथीहरूसँग कुरा गर्न गाह्रो भइरहेको र भारतीय साथीलाई पनि समस्या भइरहेको आशय व्यक्त गरेकी थिइन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई उडाउन र ट्रोल गर्न कुनै कसर छाडेनन् । पछि उनले फेसबुकमा स्टाटस लेख्दै माफी माग्नुपर्‍यो ।

० अभिनेत्री साम्राज्ञीराज्यलक्ष्‍मी शाहले इन्स्टाग्राममार्फत एक भिडियो सार्वजनिक गर्दै नेपाली सिने उद्योगमा काम गर्ने व्यावसायिक वातावरण नभएकाले आफू कुनै पनि ब्यानरमा नदोहोरिएको बताइन् । उनले आफूलाई धेरैपटक दुर्व्यवहार भएको र अपशब्द प्रयोग गरेर गाली गरेको पनि खुलासा गरिन् । उनले आफूलाई कसले दुर्व्यवहार गरेको भन्ने नखुलाए पनि अभिनेता भुवन केसी साम्राज्ञीविरुद्ध उत्रिए । आफ्नो चरित्रहत्या भएको दाबी गर्दै उनले चलचित्र संघमा निवेदन दिए । त्यसपछि अदालत गए, १० करोड रुपैयाँ क्षतिपूर्ति मागसहित । यो विषयमा पनि नेपाली सिने क्षेत्र दुई धारमा विभाजित भयो ।

० अर्की अभिनेत्री पूजा शर्माले १४ जिल्ला र ७२ प्रदेश भनेको अन्तर्वार्ताको भिडियो क्लिप पनि यसबीचमा भाइरल बन्यो । मुलुकको प्रशासनिक विभाजनबारे राम्रो ज्ञानसम्म नभएको बताउँदै उनलाई ट्रोल बनाइयो । शर्माको अभिव्यक्तिले पनि महिनादिनजति सिने उद्योगलाई ततायो । यसबीचमा पूजा र पत्रकार प्रकाश सुवेदीबीच विवाद भयो, जसले फेरि सिने क्षेत्र नै विभाजित बन्यो । पछि आपसी सहमतिमा विवाद टुंगियो ।

शून्य सिर्जनात्मकता
६ महिनादेखि सिने उद्योग ठप्प छ । हल बन्द हुँदा चलचित्र प्रदर्शन भएका छैनन् । कोरोना संक्रमण बढ्दो रहेकाले नेपाली सिनेमा कहिलेदेखि लयमा फर्किने भन्ने यकिन छैन । सिनेमा मेकिङदेखि प्रदर्शनसम्म ठप्प रहँदा चलचित्र उद्योगसँग सम्बन्धित ३० हजार जनाभन्दा बढी प्रभावित बनेका छन् ।

बैंकबाट ऋण लिएर चलचित्र बनाउने निर्माताहरू ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन् । यस क्षेत्रमा क्रियाशील प्राविधिकहरू भोकभोकै पर्न थालेपछि सहयोग अभियान सुरु भएको छ । यस्तो विषम परिस्थितिबाट गुज्रिएको सिने उद्योग भने कलाकारका कारण लफडामा फसिरह्यो ।

कुनै सिर्जनात्मक काम सिने उद्योगमा हुन नसकिरहेको अवस्थामा केही कलाकार भने लफडाको घेराभित्र रहिरहे । समाचारको हेडलाइन र गसिपका खुराक बनिरहे । कलाकारको अभिव्यक्तिले सामाजिक सञ्जाल तातिरह्यो ।

संसारका अन्य सिने उद्योग यस्तो विषम परिस्थितिमा पनि सिर्जनात्मक काममा व्यस्त देखिए । नेपाली सिनेमाले अनुसरण गर्ने गरेको बलिउडलाई नै हेरौँ । ‘दिल बेचारा’, ‘शकुन्तलादेवी’, ‘गुलाबों सिताबो’, ‘सडक-२’, ‘गुन्जन सक्सेना’, ‘मलङ’, ‘खुदा हाफिज’लगायत सिनेमा डिजिटल प्लेटफर्ममार्फत प्रदर्शनमा आए । यस्तै, ‘लक्ष्‍मी बम्ब’, ‘भुज : द प्राइड अफ इन्डिया’लगायत ठूला बजेटका सिनेमा डिजिटल प्लेटफर्मबाटै रिलिज हुने तयारीमा छन् ।

नेपाली सिनेमाले डिजिटल प्लेटफर्मको लाभ पनि उठाउन सकेनन् । यसबीचमा ‘चिनी कम रङ कडा’ र ‘लाटोकोसेरो’ गरी दुईवटा नेपाली सिनेमा अमेजन प्राइममा रिलिज भए । यी दुवै ठूलो बजेटका सिनेमा थिएनन् । ठूलो बजेटमा बनेका सिनेमा अझै पनि सिनेमा हल खुल्ने प्रतीक्षामै रोकिएका छन् ।

यसबीचमा फाट्टफुट्ट नयाँ चलचित्र घोषणासम्म भए । केही म्युजिक भिडियो छायांकन भए । नाम चलेका कलाकार म्युजिक भिडियोमा देखिन थाले । पछिल्लो समय लोकप्रिय रहेका दयाहाङ राई, विपिन कार्की, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, पुष्‍प खड्का, मुकुन भुसाल धमाधम म्युजिक भिडियोमा देखिए ।

यहीबीचमा चलचित्र विकास बोर्डले विद्यालय र कलेजको पाठ्यक्रममा सिनेमा विषयलाई समावेश गर्न गरेको पहलजस्ता केही सकारात्मक खबर पनि नआएका होइनन् । तर, नयाँ-नयाँ सिर्जनामा लाग्नुपर्ने कलाकार आफैँ विवादमा रुमल्लिँदा त्यसले सिंगो सिने क्षेत्रलाई नै विभाजित बनाएको छ । कलाकारहरूबीच गुट-उपगुट निर्माण हुँदा त्यसले भविष्‍यमा नेपाली चलचित्र उद्योगलाई असर पुग्ने चलचित्रकर्मी बताउँछन् ।

व्यक्तिगत कुण्ठा र आक्रोश मात्र
निर्देशक दीपेन्द्र के खनाल लकडाउनको समयभरि स्क्रिप्ट लेखनमा व्यस्त रहे । सिर्जनात्मक काममा लाग्नुपर्ने भएकाले पनि गुमनाम भएर काम गरिरहनुपरेको उनी बताउँछन् । त्यसैले तत्काल नतिजा नदेखिने खनालको मत छ ।

भित्रभित्रै काम गरिरहेका चलचित्रकर्मी पनि छन् । काम गर्ने मान्छेले त गरिरहेकै छन् । जो फुर्सदिला छन्, उनीहरूबीच झगडाको कुरा छ । यस्ता हल्ला र लफडा फुर्सदिला मान्छेका लागि हुन् । दीपेन्द्र के खनाल, निर्देशक

‘भित्रभित्रै काम गरिरहेका चलचित्रकर्मी पनि छन् । मैले पनि लगभग एउटा प्रोजेक्ट सकाएँ । खगेन्द्र लामिछानेजीले पनि सकाउनुभएको छ । काम गर्ने मान्छेले त गरिरहेकै छन्,’ उनी भन्छन्, ‘जो फुर्सदिला छन्, उनीहरूबीच झगडाको कुरा छ । सिर्जनात्मक काम तत्काल कहाँ देखिने हो र ! पर्दामा देखिन त कुर्नुपर्‍यो । त्यो आउटपुट त कुर्नैपर्छ । तर, यस्ता हल्ला र लफडा फुर्सदिला मान्छेका लागि हुन् ।’

तर, यस्ता विवाद र लफडाले दीर्घकालीन असर गर्ने खनाल बताउँछन् । टोलमा कोही चिनेको मान्छे भेट हुँदा खनाललाई प्रश्‍न गर्न थालिहाल्छन्- ‘कस्तो विवाद हो यो ?’

‘यो राम्रो कुरा होइन । यस्ता विषयले हलमा आउने दर्शकप्रति अविश्वास पैदा गरिदिन्छन् । त्यसको मूल्य सिंगो चलचित्र उद्योगले चुकाउनुपर्छ,’ खनाल भन्छन्, ‘हाम्रो सामाजिक स्कुलिङमै समस्या छ । सेलेब्रिटीको मात्र होइन, नेतादेखि उच्च ओहोदाको मान्छेको पनि त्यस्तै कुरा आउँछ । त्यो अविश्वास हरेक क्षेत्रमा छ । हामीले केही बोल्दा त्यसको दूरगामी असरबारे सोच्दैनौँ ।’

सेलेब्रिटीको ट्याग साथमा बोकेर हिँडेपछि सामाजिक उत्तरदायित्व पनि आममानिसको भन्दा ज्यादा हुन्छ भन्ने बिर्सन नहुने खनाल बताउँछन् ।

हाम्रोमा घटनाको प्रवृत्ति व्यक्तिवादी हुन्छ । र, यस्ता घटना व्यक्तिगत इगो, आक्रोश, रिसइबीकेन्द्रित हुन्छन् । नेपाली सिने उद्योगमा भएका अधिकांश विवाद यस्तै प्रकृतिका हुन् । व्यक्तिगत कुण्ठा र आक्रोशका घटना चर्चामा आए । यस्तो हुनु पटक्कै राम्रो होइन । मनोज पण्डित, निर्देशक

पछिल्लो ६ महिनामा सिने क्षेत्रमा देखिएका विवादलाई कसरी हेर्ने ? यसमा चलचित्रकर्मीको बेग्लाबेग्लै धारणा छ ।

‘सिनेमाका दुईवटा आयाम हुन्छन्- घटनाक्रम र सिर्जनात्मकता । हाम्रो सिनेमाको चिन्तन र विकास, सिनेमासँग सम्बन्धित जति पनि आयाम छन्, ती विशेषतः घटनाप्रधान छन् । हामीलाई सिनेमा भनेको ठूलो घटना हो जस्तो लाग्छ,’ चलचित्रकर्मी तथा समीक्षक मनोज पण्डित भन्छन्, ‘सिनेमा चिन्तन र चेतनाको प्रतिनिधित्व हो भन्ने मान्यता छैन । तर, घटना सिर्जना गर्ने र त्यसैमा रमाउन चाहने हाम्रो प्रवृत्ति छ । घटना भएन भने केही पनि भएको छैन जस्तो महसुस गर्ने हाम्रो समाज छ । कारण यो हो ।’

यस्ता घटनामा रमाउनेले केही नभएमा आफूलाई क्रियाशील नभएको महसुस गर्ने धारणा पण्डितको छ । सिनेमाको सबैभन्दा ठूलो घटना मानिसको चिन्तनभित्र हुनुपर्ने उनी बताउँछन् । ‘साथै, हाम्रोमा घटनाको प्रवृत्ति व्यक्तिवादी हुन्छ । र, यस्ता घटना व्यक्तिगत इगो, आक्रोश र रिसइबीकेन्द्रित हुन्छन् । नेपाली सिने उद्योगमा भएका अधिकांश घटना यस्तै प्रकृतिका हुन्,’ उनी भन्छन्, ‘व्यक्तिगत कुण्ठा र आक्रोशका घटना चर्चामा आए । यस्तो हुनु पटक्कै राम्रो होइन ।’

प्रश्‍न चेतनास्तरमाथि
विवादहरू सार्थक र अर्थपूर्ण विषयमा हुँदा मात्र राम्रो हुने निर्देशक दीपेन्द्र लामा बताउँछन् । अनावश्यक विषयमा विवाद झिक्नु, त्यस्ता विवादप्रति चासो राख्नु खासै गतिलो प्रवृत्ति नभएको उनको तर्क छ ।

लकडाउनका वेला मान्छेलाई फुर्सद थियो, अलि बढी चासो राखे । अब मान्छे बिस्तारै व्यस्त हुँदै छन् । बिस्तारै नयाँ काम, नयाँ विषयको पछि लाग्नेछन् र यस्ता लफडा बिर्सिनेछन् । यस्ता विवादले सिने उद्योगलाई असर गर्दैन । दीपेन्द्र लामा, निर्देशक

साथै, यस्ता विषय आउने-जाने क्रम चलिरहने, मानिसले बिर्संदै जाने र यस्ता विवादले सिने उद्योगलाई असर नगर्ने उनी बताउँछन् ।

‘लकडाउनका वेला मान्छेलाई फुर्सद थियो, अलि बढी चासो राखे । अब मान्छे बिस्तारै व्यस्त हुँदै छन् । बिस्तारै नयाँ काम र विषयको पछि लाग्नेछन् र यस्ता लफडा बिर्सिनेछन्,’ लामा भन्छन्, ‘फिल्म उद्योगको कुनै पात्र विवादमा आउँदा त्यही पात्रलाई हेरेर समग्र फिल्म उद्योगलाई मूल्यांकन गर्नु गलत हो । एउटा पात्र राम्रो होला, अर्को नराम्रो । तर, नराम्रो पात्रलाई मात्र लिएर मूल्यांकन गर्नु राम्रो होइन ।’

तर, यसबीचमा आएका विवादलाई मिहिन ढंगले केलाउने हो भने समाजको मनोवृत्ति छर्लंग हुने पण्डित बताउँछन् । अहिले सबैमा नैराश्य थपिएको छ, यस्तो वातावरणमा झनै निराशा थप्ने काम यस्ता लफडाले गरेको उनको धारणा छ ।

‘नेपाली चलचित्र क्षेत्रलाई प्रतिनिधित्व गर्ने पात्रहरूको चेतनास्तर कहाँ छ त ? हाम्रो सिनेमा उद्योगमा स्थापित भएको विषयले सिनेमा र दर्शकबीच दूरी सिर्जना गरिदिएको छ,’ पण्डित भन्छन् । यस्ता विवादमा ५-६ महिनायताको समयलाई मात्र हेरेर नहुने र यो लामो समयदेखिको निरन्तरता रहेको उनको मत छ ।