मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ५ सोमबार १६:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

Read Time : < 1 मिनेट
२०७७ असोज ५ सोमबार १६:१३:००

गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच साेमबार झडप भएको छ । रेसुंगा नगरपालिका– १२ को रानीपोखरी निमाविको विषयलाई लिएर झडप भएको हो । केही दिनअघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद चुलिएको थियोे ।

विवादकै क्रममा नेकपाका कार्यकर्ताले आफ्ना मान्छेहरू कुटपिट गरेर घाइते बनाएको कांग्रेसको दाबी छ । नेकपाले आफ्ना कार्यकर्तामाथि कुटपिट भएको बताउँदै आएको छ ।

कांग्रेसले सोमबार आफ्ना कार्यकर्ता कुटपिट गर्नेहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गरेकाे थियाे । एक्कासि प्रशासन कार्यालयभित्र कांग्रेस नेता–कार्यकर्ता पस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

झडपमा कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ र नेता पूर्णबहादुर केसी घाइते भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए । त्यस्तै, प्रहरी निरीक्षक राजकुमार रावलसहित चारजना घाइते भएको पन्तले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नहरूलाई उन्मुक्ति दिइरहेको आरोप लगाए । उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गरिने बताए ।