मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ असोज ५ सोमबार १५:०६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

अनुगमन टोली पुग्दा तरकारी व्यापारीको भागाभाग  

Read Time : > 1 मिनेट
२०७७ असोज ५ सोमबार १५:०६:००

सोमबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी नक्साल तरकारी बजारको अनुगमनका लागि आएको खबर सुनेपछि आलु र प्याजको व्यापार गर्ने किशोर पासवान पसल छोडेर भागे । 

विष्णुप्रसाद सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्राइजेज नाममा दर्ता भएको पसल खुला थियो । लामो समय कुर्दा पनि व्यापारी नआएपछि सोधपुछका क्रममा उनी भागेको पत्ता लाग्यो । सापकोटा नक्साल तरकारी तथा फलफूल व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।  
 
तरकारीको भाउ र बजारको जानकारी लिने क्रममा एकैछिनपछि अर्को सूचना आयो– पसल नं. ४०४१ का शिवलाल शाह पनि पसल छोडेर भागे । यो देखिरहेका नजिकैका अर्का व्यापारीले प्रतिकिलो ६० रुपैयाँमा प्याज बेच्न थाले । उनकोमा बाँकी भएको करिब २० किलो प्याज छिनमै रित्तियो । 

अन्य तरकारी बजारमा जस्तै नक्साल तरकारी बजारमा पनि खरिद–बिक्री बिल र दर्ताको मुख्य समस्या देखियो । बजारमा तोफु (भटमासबाट बनेको खाद्यवस्तु) बिक्री गर्ने मिश्र स्वाँर भन्दै थिए- यसको म्याद त सुँघेर थाहा हुन्छ । किन्नेले सुँधेरै किन्ने हुन् । तोफु प्लाष्टिकको बाटामा पानी हालेर खुला रूपमा बेच्न राखिएको थियो । त्यसमा कुनै खालको लेवल राखिएको थिएन । 

नक्सालमा सोमबार बिहानै बा.१८च ९९०१ नं. को सवारीसाधनले प्याकेजिङ गरिएको चाउमिन वितरण गर्दै थियो । वितरित चाउमिनमा उत्पादन र उपभोग्य मिति केरमेट भेटिएपछि सामानसहितको सवारी नियन्त्रणमा लिइयो । 

यस्तै ज्ञानेश्वरमा रहेको कुमारी मिल र मनोरमा ज्ञानेश्वर फ्लोर एन्ड राइस मिलमा लेवल नभएका सबै खाद्यवस्तु बिक्रीमा रोक लगाइएको छ । मिलबाट सामान कहिले उत्पादन गरिएको हो ? खाद्यवस्तु उत्पादन गर्न ल्याइएको कच्चा पदार्थको उपभोग्य मिति के थियो ? यकिन नभएपछि सामान बिक्रीमा रोक लगाइएको हो । यी मिलहरूमा बाहिरबाट ल्याएको अन्नलाई कुटाइ गरेर बिक्री वितरण हुँदै आएको छ । 
  
महानगरको कृषि विभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि सहभागी थिए ।