भरतपुर महानगरपालिकाद्वारा सञ्चालित प्राकृतिक चिकित्सालय आइसोलेसनबाट ५० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
भरतपुर– १ बागेश्वरीमा रहेको योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयमा उपचारपछि उनीहरू संक्रमणमुक्त भएका हुन् ।
गत भदौ १४ देखि आइसोलेसन सञ्चालनमा आएको हो । चिकित्सालयका निर्देशक डा. हेमराज कोइरालाका अनुसार चिकित्सालयमा ५३ जना बिरामी उपचाररत छन् । चिकित्सालयमा योग तथा प्राकृतिक चिकित्सा विधिद्वारा उपचार गरिएको र खानपान तथा ध्यान साधनामा विशेष जोड दिई उपचार गराइएको उनले जानकारी दिए । बिरामीलाई समय मिलाएर फलफूल, टुसा पलाएका गेडागुडी र हरेक साँझ दूधमा बेसार हालेर खुवाउने गरिएको छ ।
बढीमा १४ दिनमा सबैलाई नेगेटिभ आएपछि घर पठाइने गरिएको छ । महानगरमा रहेका संक्रमितलाई यहाँ राखेर उपचार गरिएको छ । अन्य तीन सय चारजना होम आइसोलेसन र २० जना वडाले निर्माण गरेको क्वारेन्टिनमा छन् ।
महानगरमा हालसम्म एक हजार एकजना संक्रमित भइसकेका छन् । यो संख्या जिल्लामा एक हजार पाँच सय २९ रहेको छ । हालसम्म जिल्लाका १८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । तीमध्ये १० जना भरतपुर महानगरपालिकाका छन् ।
पूर्वीचितवनमा चारवटा नगरपालिकाले एकै ठाउँमा र माडी नगर नगरपालिका एवं इच्छाकामना गाउँपालिकाले फरकफरक ठाउँमा आइसोलेसन तयार गरेका छन् । लक्षण नदेखिएका संक्रमितलाई स्थानीय निकायले सञ्चालन गरेका आइसोलेसन र घरमै राखिएको छ ।