मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ५ सोमबार १२:४७:००
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नर्ससम्बन्धी पहिलो गीत ‘हामी नर्स’ सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ५ सोमबार १२:४७:००

‘आफैँसँग हाँस्दै, हाँस्दै –प्रकाश दिने दियोजस्तै
उध्रिएको मन सिउने धागो अनि सियोजस्तै
हामी नर्स, दियोजस्तै बलिरहन्छौँ 
हामी नर्स सियोजस्तै चलिरहन्छौँ...’

नर्सहरूसम्बन्धीको गीतका हरफ गुनगुनाइरहँदा मीना कार्की प्रफुल्लित देखिन्थिन् । किनभने यो नर्सहरूसम्बन्धीको पहिलो नेपाली गीत हो ।

राजकुमार बगरको शब्द र संगीतमा नेपालमै पहिलोपटक नर्सहरूसम्बन्धी गीत गाइन् मीनाले । मीना आफैँ पनि नर्स हुन् । २५ वर्षदेखि नर्सिङ पेसामा कार्यरत मीना अहिले लगनखेलस्थित मानसिक अस्पतालमा सेवारत छन् ।

नर्सलाई धर्तीका सेता फूल भन्ने गरिए पनि नर्सको हौसला बढाउने, नर्सको महत्व दर्शाउने गरी कुनै गीत नभएको थाहा पाएपछि मीनाले राजकुमार बगरलाई नर्ससम्बन्धी गीत लेखिदिन आग्रह गरिन् । ‘नेपालमा नर्सको गीत नै छैन भन्ने थाहा पाएपछि मैले राजकुमार बगर सरलाई गीत लेखिदिन आग्रह गरेँ,’ मीनाले भनिन् । 

समग्र स्वास्थ्य सिस्टमका ‘ब्याक बोन’ भनिने नर्सहरूको सम्मानका लागि विश्व स्वास्थ्य संगठनले सन् २०२० लाई नर्सहरूको वर्ष भनेर घोषणा गरेको छ । एकातिर कोभिड– १९ महामारी फैलिएको । अर्कोतिर विश्व स्वास्थ्य संगठनले नर्सहरूको वर्ष घोषणा गरेको समय पारेर आफूले नर्सहरूको गीत लेख्न लगाएर गाएको बताउँछिन् मीना । उनी भन्छिन्, ‘अहिले संसारभर नर्सहरूको महत्व बढेको छ । त्यही सन्दर्भ पारेर नेपाली भाषामा पनि नर्सहरूको महत्व देखाउने गरी गीत बनाएकी हुँ ।’

नर्सहरूका विषयमा हुने विभिन्न कार्यक्रममा अरू नै गीत बज्ने गरेको सुनाउँदै उनी भन्छिन्, ‘हाम्रा कार्यक्रममा सधैँ अरू नै सन्दर्भका गीत बज्थे । तर, अब त नर्सले नै गाएको नर्सहरूको गीत बजाउनुपर्छ भनेर पनि यो गीत गाएकी हुँ ।’

नर्सिङ पेसामै रहेर यसअगाडि पनि गीत रेकर्ड गराईसकेकी मीनाले अहिलेसम्म पनि गायनको औपचारिक शिक्षा लिएकी छैनन् । ‘औपचारिक रूपमा गायन पढेकी छैनन् । स्कुल पढ्दादेखि नै गीत गाउने गर्थेँ, अहिले पनि रहरले नै गाउँछु,’ मीना भन्छिन् ।

आफूले गाएको गीतले कोरोना भाइरसको महामारीसँग अग्रभागमा लडिरहेका नर्सलाई हौसला, उत्प्रेरणा, संयमता र धैर्य दिलाउने विश्वास व्यक्त गर्छिन् मीना । ‘यो संकटको समयमा नर्सहरू आत्तिएका छन् । कतिलाई जागिरबाट निकालिएको छ । कति त असुरक्षित छन्,’ उनी भन्छिन्, ‘यो गीतले नर्सहरूलाई त हौसला दिने नै छ, सँगै अरू मान्छेलाई पनि नर्सको महत्वबारे बुझाउँछ भन्ने विश्वास छ ।’