मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ५ सोमबार ११:३३:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

आन्तरिक हवाई यात्राका लागि पिसिआर परीक्षण रिपोर्ट नचाहिने, स्वस्थ रहेको स्वयं घोषणा भने यात्रुले गर्नुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ५ सोमबार ११:३३:००

६ महिनापछि सोमबारबाट सुरु भएको आन्तरिक हवाई सेवाका नाैवटा सेवा प्रदायक कम्पनीहरूमध्ये आठवटाले आफ्नो सेवा सुरु गरेका छन् । 

कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत ११ चैतदेखि बन्द भएको नियमित हवाई सेवा एक सय ८० दिनपछि अर्थात् ६ महिनापछि पुनः सुरु भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवेन्द्र केसीले विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले बनाएको कोरोनासम्बन्धी प्रोटोकल पालना गर्ने गरी आजबाट सेवा सञ्चालन सुरु भएको बताए । 

वायुसेवा कम्पनीहरूले नियमित सेवा सञ्चालन भएको समयमा पाएको उडान अनुमतिको आधारमा २५ प्रतिशत मात्रै उडान तालिका बनाएर सेवा दिनुपर्ने व्यवस्था गरिएको पनि प्रमुख केसीले जानकारी दिए । 

विमान सेवा प्रयोग गर्ने यात्रुले पिसिआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफू स्वस्थ भएको स्वयं घोषणापत्र भर्नुपर्नेछ । 

नयाँ व्यवस्थाअनुसार उडान समयभन्दा कम्तीमा दुई  घन्टाअघि नै विमानस्थल पुग्नुपर्नेछ भने हातेझोला र अत्यावश्यक सामान मात्र लैजान पाइनेछ । 

विमानस्थल सेवा सञ्चालन भएको पहिलो दिन यात्रुको चाप उल्लेख्य देखिएको छ । 

आज देशका विभिन्न भागमा यात्रु लैजान ५० वटा उडान अनुमति दिइएको पनि विमानस्थल प्रमुख केसीले बताए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यती एयरलाई ११, नेपाल वायुसेवा निगमलाई आठ, श्री एयरलायन्सलाई ६, तारा एयरलाई एक, समिट एयरलाई चार, सीता एयरलाई दुई, सिम्रिक एयरलाई एक गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ । 

सौर्य एयरलायन्सको विमान मर्मतमा रहेकोले उडान अनुमति पाएको  छैन । 

तारा एयरले नेपालगन्ज बेस भएर विभिन्न ४ उडान भर्नेछ ।

आज उडान अनुमति पाएका विमानहरूले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, लुक्ला, फाप्लुलगायत स्थानमा उडान भर्ने त्रिभुवन विमानस्थलले जनाएको छ ।