नेकपाको सचिवालय बैठक स्थगित भएको छ । जनसंगठनहरूको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्ने गरी स्थगित भएको हो ।
सचिवालयका एक नेताका अनुसार मन्त्रिपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेन्डाहरूको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएकाे छ । थप आवश्यक गृहकार्यका लागि बैठक स्थगित भएको ती नेताले बताए ।
मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिबारे बनाएको सैद्धान्तिक मापदण्डलाई मूर्तरूप दिने, कोभिड– १९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता महत्वपूर्ण विषयमा बैठक केन्द्रित हुने जनाइएको छ ।