नेप्से परिसूचकले अन्तरदिनको कारोबारमा १ हजार ६ सयको तह भेटेको भए पनि बजार बन्द हुँदा ३० अंकसम्म ओर्लिएको छ । यद्यपि, अघिल्लो दिनको तुलनामा नेप्से ३ अंकले बढेको हो । नेप्सेका लागि १ वर्षको उच्च बिन्दु १ हजार ६ सय २० अंक कडा प्रतिरोधका रूपमा समेत रहेको छ । यही बिन्दुको प्रतिरोध परीक्षण नेप्सेले गरिरहेको हो । १८ फागुन २०७६ मा नेप्से यो बिन्दुसम्म पुगेर फर्किएको हो ।
बजार उच्च बिन्दुमा पुग्दै गर्दा लगानीकर्ताले समेत प्रतिफल सुनिश्चित गर्नतर्फ लागेका छन् । यही कारण बजारमा आइतबार बैंकिङ, विकास बैंक र वित्त कम्पनीको बाहेक सबै समूहगत परिसूचक घटेको छ ।
कम मूल्यका वित्त कम्पनीको सेयरमा लगानीकर्ताले पुँजी हालिरहेका छन् । आइतबार सेन्ट्रल फाइनान्स, बेस्ट फाइनान्स कम्पनी, गुडविल फाइनान्स र मल्टिपर्पस फाइनान्सलगायतको मूल्य उच्चदरमा बढेको छ । विकास बैंकबाट सप्तकोसी डेभलपमेन्टको करिब १० प्रतिशतसम्म मूल्य बढेको छ । जलविद्युत् समूहको परिसूचक घटे पनि खानीखोला, घलेम्दी, दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य बढेको हो ।
सूचीकृत भएकै दिन लिबर्टी हाइड्रोको मूल्य सम्हालिएको छ । पहिलो कारोबारका लागि १ सयदेखि ३ सय रुपैयाँ मूल्य रेन्ज पाएको लिबर्टीको ३ सय ३० रुपैयाँसम्ममा कारोबार भइरहे पनि मध्यबाट मूल्य घटेर २ सय ७० रुपैयाँसम्म कारोबार भयो । पहिले रेन्जभन्दा १० प्रतिशतसम्म बढेको कम्पनीको मूल्य १० प्रतिशतसम्म घट्यो ।
हिमाल दोलखा, जोशी, अपी हाइड्रोपावरलगायतको मूल्य घटेपछि यो समूहगत परिसूचक पनि घटेको हो ।
यस दिन बजारमा १ सय ८८ कम्पनीको ९२ लाख २३ हजार कित्ताभन्दा धेरै सेयर किनबेच भएर अर्ब ७४ करोडको कारोबार भएको छ ।
गाभिने खबरले सिभिल बैंकमा आकर्षण
प्राप्ति (गाभिने)को खबरले सिभिल बैंकको सेयर मूल्य अन्तरदिनको कारोबारमा १० प्रतिशत अर्थात् १५ रुपैयाँसम्म वृद्धि भएको छ । अन्तिम कारोबारमा भने मूल्यवृद्धि ७ रुपैयाँमा सीमित भयो । कम्पनीको अन्तिम कारोबार १ सय ५७ रुपैयाँमा भएको हो ।
हिमालयन बैंकसँग गाभिन प्रस्ताव पठाएको हल्लाले लगानीकर्ता आकर्षित हुँदा सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सिभिलको यस दिन ४ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ ।
हल्ला चलेपछि नेप्सेले मूल्य प्रभावित हुने विषयबारे जानकारी किन नदिएको भन्दै सिभिल बैंकलाई सोमबारसम्म जवाफ पठाउन निर्देशन दिएको छ । मूल्यमा असर पर्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने धितोपत्र सूचीकरण विनियमावलीको व्यवस्थाअनुसार नेप्सेले जवाफ मागेको हो ।