मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ४ आइतबार २०:१४:००
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

रानीपोखरीले पायो पुनर्जीवन (फोटोफिचर)

भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणमा करिब २५ करोड खर्च, पानी भरिएपछि बन्यो मनमोहक

Read Time : > 3 मिनेट
२०७७ असोज ४ आइतबार २०:१४:००

काठमाडौंको प्रमुख आकर्षण रानीपोखरीमा करिब चार वर्षपछि बागमतीको पानी हालिएको छ। १२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त पोखरीमा पाँच फिटसम्म पानी भरिएको छ। ०७३ मंसिरमा पोखरीका माछा कमलपोखरीमा स्थानान्तरण गरिएपछि रानीपोखरी सुकाइएको थियो। करिब चार वर्षपछि पोखरीले पुनर्जीवन पाएको हो।

राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार रानीपोखरी र बीचमा रहेको बालगोपालेश्‍वर मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। प्राधिकरणको आग्रह तथा खानेपानी मन्त्रालयको समन्वयमा आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको पाइपलाइनमार्फत सुन्दरीजलबाट बागमती नदीको पानी ल्याएर पोखरीमा हालिएको हो। पुरानै शैलीमा पुनर्निर्माण भएको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरी पानी भरिएपछि मनमोहक बनेको छ।

निर्देशनालयका निर्देशक भोजविक्रम थापाका अनुसार गत शनिबार साँझसम्म पोखरीमा करिब तीन करोड लिटर पानी भरिएको छ। आयोजनाले बागमतीको पानी रानीपोखरीमा भर्न सुन्दरीजलबाट चाबहिल-महांकाल-चक्रपथ हुँदै पानीपोखरीस्थित रिजर्भवायर ट्ंयाकी भरेको थियो।

त्यसका लागि मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए। पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्‍याउन मेलम्ची आयोजनाकै प्राइमरी मेन वितरण पाइपलाइन उपयोग गरिएको थियो। ‘मेलम्चीको पाइपलाइनमार्फत रानीपोखरीमा सहजै पानी भर्न सकियो,’ थापाले भने।

पुनर्निर्माण भएको रानीपोखरी सडकको सतहबाट १९ दशमलव दुई फिट गहिरो छ। अहिले भने पाँच दशमलव दुई फिटसम्म मात्र पानी भरिनेछ।

पोखरीको चारै दिशाको लम्बाइ फरक–फरक छ। सम्पदाविद् राजु मानन्धरका अनुसार पोखरीको दक्षिणपट्टिको मोहडा १३६ दशमलव पाँच मिटर, पूर्वपट्टि १२५ दशमलव ३८ मिटर, उत्तरपट्टि १६४ दशमलव ६ मिटर र पश्चिम मोहडा १२३ दशमलव पाँच मिटर छ।

दुई लाख २० हजार वर्गफिटको रानीपोखरीमा पानी अड्याउन १५ देखि १८ इन्चसम्म कालो माटो बिछ्याइएको छ। पोखरीको चारैतिर तीन मिटरसम्म १८ इन्च र बाँकी भित्री भागमा १५ इन्चसम्म कालो माटो बिछ्याइएको सम्पदाविद् मानन्धरले जानकारी दिए।

अब सरसफाइ मात्र बाँकी
रानीपोखरी पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। सम्पदाविद् मानन्धरका अनुसार पुनर्निर्माणको ९९ प्रतिशत काम सकिएको छ र अब सरसफाइ मात्र बाँकी छ।

पुनर्निर्माण सकेर गत १२ वैशाखमा उद्घाटन गर्ने तयारी प्राधिकरणको थियो। तर, कोरोना प्रसार रोक्न लागू गरिएको देशव्यापी लकडाउनका कारण काम प्रभावित भयो। बालगोपालेश्‍वर मन्दिरमा गजुर र पोखरीवरिपरि बत्ती जडान तथा सरसफाइको काम अहिले धमाधम चलिरहेको सम्पदाविद् मानन्धरले बताए।

रानीपोखरी पुनर्निर्माणमा प्राधिकरणले करिब २५ करोड रुपैयाँ खर्चिएको छ। रानीपोखरीअन्तर्गत मन्दिर, पुल र वरिपरि ब्युटिफिकेसनको काम टेन्डरमार्फत भएको हो। पोखरी पुनर्निर्माण भने उपभोक्ता समितिमार्फत भएको हो।

बालगोपालेश्‍वर मन्दिरको पुनर्निर्माण र चारैतिरको पर्खाल लगाउने ठेक्का सिए(तुलसी कन्स्ट्रक्सन जेभीले पाएको थियो। भदौ ०७६ मा उक्त कम्पनीसँग भएको सम्झौताअनुसार त्यसका लागि १४ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ।

यस्तै, उपभोक्ता समितिले करिब १० करोड खर्चेर पोखरी पुनर्निर्माण गरेको हो। ‘पुनर्निर्माण सकिनेबित्तिकै प्राधिकरणले हस्तान्तरण गर्छ। त्यसपछि यसको व्यवस्थापन र सञ्चालन कसले र कसरी गर्ने भन्ने सरकारले नै टुंगो लगाउने हो,’ सम्पदाविद् मानन्धरले भने।

मल्लकालीन शैलीमा बालगोपालेश्‍वर
ऐतिहासिक बालगोपालेश्‍वर मन्दिर मल्लकालीन शिखर (ग्रन्थकुट) शैलीमा पुनर्निर्माण गरिएको छ। तत्कालीन राजा प्रताप मल्लले वि.सं. १७२७ (नेपाल संवत् ७९०) मा छोरा चक्रपालेन्द्र मल्लको मृत्युबाट विक्षिप्त बनेकी रानीलाई सान्त्वना दिन रानीपोखरी र बालगोपालेश्‍वर मन्दिर निर्माण गराएको इतिहासमा उल्लेख छ।

१२ वैशाख ०७२ मा भूकम्पबाट क्षतिग्रस्त मन्दिर भने गुम्बज शैलीको थियो, जुन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण भएको मानिन्छ। क्षतिग्रस्त पोखरी र मन्दिर उत्खनन गर्दा प्राप्त प्रमाण र एउटा पुरानो तस्बिर मल्लकालीन भएको बताउँदै विज्ञ समूहले मन्दिर शिखर शैलीमै पुनर्निर्माण गर्न सुझाएको थियो।

विज्ञ समूहको सुझाबअनुसार महानगरले प्रताप मल्लकालीन स्वरूप, शैली र निर्माण सामग्री प्रयोग गर्ने निर्णय गरे पनि पुरातत्व विभागले असहमति जनाएपछि लामो समय त्यो विषय विवादमा रह्यो। तर, पछि सबै पक्ष सहमत भए र पुनर्निर्माण अगाडि बढ्यो।

मन्दिर ५३ फिट अग्लो छ। विशेष शैलीका बुट्टेदार इँटा प्रयोग गरी आकर्षक शैलीमा मन्दिर पुनर्निर्माण गरिएको छ। त्यसका लागि सुर्की, चुना, ढुंगा, काठ र कलात्मक इँटा प्रयोग भएको प्राधिकरणले जनाएको छ।

पोखरी सुक्न नदिन चारवटा स्रोत
पहिले राजकुलो र इनारबाट आउने पानीले रानीपोखरी बाह्रैमास टम्म भरिन्थ्यो। सहरीकरण बढ्दै गएपछि राजकुलो मासिए, इनारमा पनि पानी रसाउन छाड्यो। प्राकृतिक मुहान सुकेर प्राकृतिक पुनर्भरण प्रणाली प्रभावित भएपछि कृत्रिम रूपमा समेत पानी भर्ने कोसिस भए।

०५५ सालपछि काठमाडौं महानगरपालिकाले रत्नपार्कमा वरिपरि खानेपानीका लागि गरेको डिप बोरिङबाट पानी ल्याउन थालियो। त्यसरी पनि पोखरीलाई भरिभराउ राख्न नसकिएपछि आसपासका ठूला भवनबाट आकासे पानी संकलन गरेर पुनर्भरण प्रणाली बनाइयो। ‘रेन वाटर हार्भेस्टिङ प्रणाली’ प्रयोग गरी वीर अस्पताल र दरबार हाइस्कुल क्षेत्रबाट आकासे पानी बटुलेर पोखरीमा खन्याउन थालियो।

‘पानी सुकेका वेला महानगरले पानी बोकेरसमेत हाल्थ्यो, घुम्न आउनेले पोखरीमा भुरा हाल्थे, पोखरीमा भएका माछा कसैले खान नपाउने भए पनि पानीको मात्रा घटेपछि माछालाई समेत समस्या हुन्थ्यो,’ काठमाडौं महानगरपालिकाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापा भन्छन्।

रानीपोखरीलाई फेरि सुक्न नदिन पानीका चारवटा स्रोत व्यवस्था गरिएको छ। त्यसमध्ये पहिलो हो, डिप बोरिङ। प्राधिकरणले पोखरी परिसरमा दुईवटा डिप बोरिङ गरेको छ। दोस्रो, आकासे पानी जम्मा गरी चाहिएको वेलामा प्रयोग गर्न सकिने गरी व्यवस्था गरिएको छ। यस्तै, आवश्यकता पर्दा मेलम्ची खानेपानीको पानीले समेत पोखरी भर्न सकिने गरी व्यवस्थापन गरिएको छ भने टुँडिखेलभित्रको इनारबाट पनि पानी ल्याउने प्रबन्ध छ।

‘पोखरीलाई सुक्न नदिनु मुख्य कुरा हो, आवश्यक पर्दा उपयोग गर्न सकिने गरी डिपबोरिङ र मेलम्चीको पाइप प्रणालीलाई समेत रानीपोखरीछेउमा खुला राखेका छौँ,’ महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख थापा भन्छन्। यसअघि सार्क सम्मेलनका वेला काठमाडौं महानगरले पोखरीमा राखेको वाटर फाउन्टेन भने प्राधिकरणले हटाएको छ।

‘बृहत् रानीपोखरी-रत्नपार्क’ प्रस्ताव
पुनर्निर्माण पूरा भएपछि पोखरीलाई राजधानी काठमाडौंको एउटा आकर्षक मनोरञ्जनस्थल बनाउन सकिने काठमाडौं महानगरको प्रस्ताव छ। यसअघि रानीपोखरी भाइटीकाका दिन मात्रै खोल्ने गरिएको थियो। पुरानो परम्परालाई हटाएर अब पोखरीलाई पर्यटकीय हिसाबबाट अघि बढाउने प्रस्ताव गरिएको महानगरको पूर्वाधार विभाग प्रमुख थापा बताउँछन्।

‘रानीपोखरी मात्रै होइन, रत्नपार्क, शान्तिवाटिका र खुलामञ्च समेटेर ‘बृहत् रानीपोखरी-रत्नपार्क’को अवधारणा अगाडि बढाइएको छ, यहाँको १०५ रोपनी जग्गालाई एकीकृत पार्कको रूपमा विकास गर्ने महानगरको प्रस्ताव छ,’ उनी भन्छन्। यसबारे मन्त्रिपरिषद्‍मा समेत छलफल भएको छ, तर उक्त अवधारणा अगाडि बढाउने निर्क्योल भइसकेको छैन।