मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ४ आइतबार १६:०६:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

प्याजको मूल्यले निकाल्याे उपभोक्ताको आँसु : माग बढ्दो, तर उत्पादन घट्दो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ४ आइतबार १६:०६:००

नेपालमा प्याजको खपत दिन प्रतिदिन बढ्दै गएको छ । आजभोलि नेपालीको भान्सा प्याज र गोलभेंडाविना करिब अपूरो हुने स्थिति आइसकेको छ । अर्थात् यी वस्तुहरू भान्सामा अनिवार्यजस्तै बनेका छन् । 

प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्नेदेखि लिएर सलादको रूपमा खानेसम्म क्रम बढ्दो छ । तर, खपत बढ्दै जाने गरेको भए पनि यसको उत्पादन भने दिन प्रतिदिन कम हुँदै गएको छ । जसको फलस्वरूप आयात हुने क्रम चुलिएको छ । 

अर्बौं रुपैयाँको प्याज भारतबाट आयात हुने भएकाले भारतले निर्यात रोक्दा नेपालको बजारमा प्याजको भाउ आकासिने गर्छ । केही दिनयता नेपाली बजारमा प्याजको भाउ आकासिएको छ । जसको मुख्य कारण भारतले निर्यात रोक्नु नै हो ।

वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्यका अनुसार तथ्यांकगत आधारमा हेर्दा नेपालको उत्पादनले खपत धान्न नसक्ने भए पनि आयात रोकिँदैमा मूल्यमा तत्काल तीव्र उचारचढाव नहुनुपर्ने हो । 

उनले नेपालमा करिब चार लाख मेट्रिकटन वार्षिक खपत हुने गरेको र नेपालको उत्पादन तीन लाख मेट्रिकटन रहेको बताए । 

उनले भने, ‘तथ्यांकगत हिसाबमा हेर्दाखेरि हाम्रो उत्पादनले वार्षिक मागलाई पुग्दैन । अघिल्लो वर्षको तथ्यांक हेऱ्याे भने आर्थिक वर्ष ०७६/७७ मा करिब तीन लाख मेट्रिक टनको उत्पादन छ । त्यही सँगसँगै हाम्रो अयातलाई हेर्दाखेरि एक लाख ६ हजार मेट्रिकटन छ । यसले आयात र हाम्रो उत्पादनको तथ्यांकलाई जोड्दा करिब चार लाख खपत भएको देखिन्छ । त्यसमा पनि वास्तविक रूपमा के देखिन्छ भने उत्पादन भइसकेपछि उपभोक्तासम्म पुग्दा करिब १०–१२ प्रतिशत नोक्सान हुन्छ । त्यो १०–१२ प्रतिशतलाई कटाउने हो भने गत आर्थिक वर्षको तथ्यांकलाई विष्लेषण गर्दा तीन लाख ५० हजार मेट्रिकटन वास्तविक खपत भएको देखिन्छ ।’

आयातको सन्दर्भमा गत वर्ष पनि भारतले निर्यात रोक लगाउँदा केही खपत घटेको वरिष्ठ बागवानी विकास अधिकृत आचार्यको भनाइ छ । तर, सहज अवस्थामा बढीमा पनि साढे चार लाख मेट्रिकटन प्याज खपत हुन्छ । 

जुन नेपालको उत्पादनले धान्न नसक्ने स्थिति भए पनि मूल्यमा अत्यधिक वृद्धि हुने स्थिति नरहेको उनको विश्लेषण छ । 

नेपालमा खासगरी मौसमी खेतीको रूपमा मंसिर–पुसमा रोपेर वैशाखमा प्याज उत्पादन हुन्छ । साथै साउनमा रोपेर मंसिरमा उत्पादन लिन सक्ने बेमौसमी प्याज उत्पादन पनि हुन्छ । 

भारतमा पनि दुई सिजनमा मात्रै उत्पादन गर्ने गरिन्छ । तैपनि भारतमा कम उत्पादन हुँदा नेपालको बजार प्रभावित भइहाल्छ । किनभने नेपालको खपतमा नेपालको उत्पादनले भ्याउँदैन र भारतबाट आयात गर्नैपर्ने बाध्यता छ । 

नेपालमा बेमौसमी प्याजको उत्पादन खासै नभएकाले पनि अहिलेको समयमा प्याजको माग भन्दा आपूर्ति कम देखिने गरेको छ । तर पछिल्लो चारपाँच वर्षको तथ्यांक हेर्ने हो भने नेपालको उत्पादन प्रत्येक वर्ष बढ्दै गएको आचार्यले बताए । 

उनले भने, ‘हाम्रो उत्पादन नपुग्ने हो, तर हाम्रो उत्पादन हुँदै नभएको भन्नेचाहिँ होइन । विशेष गरेर प्याजको उत्पादन वर्षमा दुई सिजनको हुन्छ । एउटा मुख्य सिजन वैशाखतिर हार्भेष्ट हुने मंसिर–पुसतिर रोकेर बैशाखमा हार्भेष्ट हुने मुख्य सिजन भयो । नेपालमा पनि त्यहि हो र भारतमा पनि त्यहि हो । अर्को साउनतिर रोपेर कात्तिक मंसिरमा हार्भेष्ट हुने हो । कात्तिक–मंसिरतिर जुन प्याज हार्भेष्ट गर्छौँ त्योचाहिँ बेमौसमी प्याज पनि भनिन्छ । यो बेमौसमी प्याजको सन्दर्भमा हाम्रो खासै उत्पादन छैन । भर्खर सुरुवातको क्रममा मात्रै छ । प्याजको व्यावसायिक रूपमा अगाडि बढ्ने सन्दर्भलाई यसरी हेर्दाखेरी चार–पाँच वर्षको तथ्यांकलाई हेऱ्याैँ भने उत्पादन केही मात्रामा बढ्दै गएको अवस्था छ ।’

नेपालमा प्याजको उत्पादन बढाउन जमिनको क्षेत्रफल र उत्पादकत्व क्षमता बढाउनुपर्ने देखिन्छ । नेपालमा अहिले तराई र मध्यपहाडी क्षेत्रमा गरी कुल २० हजार नाै सय आठ हेक्टर क्षेत्रफलमा प्याज खेती हुँदै आएको छ । 

सरकारले प्याजको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरू समेत लागू गरेको छ । आर्थिक वर्ष २०६३/०६४ देखि आर्थिक वर्ष २०६९/०७० सम्म तराईका जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन भएको थियो । 

अहिले पनि १० जिल्लाका १० वटा स्थानीय तहमा सरकारले प्याजको व्यावसायिक गानो उत्पादन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । 

वरिष्ठ बागवानी विकास अधिकृत आचार्य भन्छन्, ‘स्थानीय तहमा नै कार्यक्रम सीधै संघबाट जाने ससर्त अनुदान कार्यक्रम भनेर एक करोड रुपैयाँ बजेटको कार्यक्रम १० वटा जिल्लाको १० वटा स्थानीय तहमा गएको छ । प्याजको व्यावसायिक गानो उत्पादन कार्यक्रम भनेर गएको हो ।’

नेपालमा उत्पादन बढाउनका लागि बिउको व्यवस्थापन मुख्य चुनौतीको रूपमा देखा परेको छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यका अनुसार नेपालमा २० हजार नाै सय आठ हेक्टरलाई करिब दुई हजार ९० क्विन्टल बिउ आवश्यक पर्नेमा सबै बिउ नेपालमा उत्पादन नहुने भएकाले समस्या भएको बताए । 

नेपालमा खासगरी रेडक्रियल जातको प्याज खेती गरिन्छ । भारतबाट प्याजको बिउ ल्याउन पनि भारतले निर्यातमा रोक लगाएको छ । त्यसैले तराईको जिल्लामा खुला बोर्डरबाट अवैधानिक रूपमा आउने बिउले धानेको आचार्यले बताए ।

‘गुणस्तरीय उन्नत बिउको सन्दर्भमा हामीसँग भएको उत्पादन जुन बिउको परिमाण छ २० हजार नाै सय आठ हेक्टरलाई चाहिने त्यो हामीसँग नपुग्दो छ । किनभने २० हजार नाै सय आठ हेक्टरलाई करिब बिउको परिमाणको हिसाबले हेर्नेहो भने दुई हजार ९० क्विन्टल बिउ आवश्यक पर्ने देखिन्छ । बिउकै लागि भनेर हाम्रो तथ्यांकमा हेर्दाखेरि एक सय ५० क्विन्टल बिउ उत्पादन छ । विशेष गरेर रेडक्रियल प्याजको जात एकदम पपुलर छ र खानमा पनि स्वादिलो छ । पिरो कम पनि भएको र यसको भण्डारण क्षमता पनि राम्रै छ । यसको बिउको उत्पादन नपुग देखिएको छ र यसले हाम्रो क्षेत्रफलाईपनि भारतबाट खुला बोर्डरबाट आउने बिउले नै पुरा गरेको अवस्था देखिन्छ,’ उनले भने । 

नेपालमा प्याज उत्पादका लागि प्रविधिको प्रयोग पनि कम छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले सरकारले पनि किसानसम्म प्रविधि पुऱ्याउन नसकेको बताए । 

त्यस्तै गहुँ सिजनमा प्याजको सिजनल उत्पादन हुने भएकाले किसानहरू गहुँको सट्टा प्याज खेती गर्न नचाहनु पनि अर्को कारण देखिन्छ । 

त्यस्तै भारतमा उत्पादन बढी हुने र नेपालमा सोही प्याज आयात हुँदा मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले किसानहरू प्याज खेतीमा आकर्षित हुन नसकेको पनि आचार्यले बताए । 

उनले भने, ‘भारतमा कुनै वर्ष उत्पादन बढी हुने र उत्पादन बढी भए पनि निश्चित रूपमा भारतबाट आयात हुने परिमाण बढ्छ र मूल्यमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुन्छ । त्यस्तो अवस्था भएमा किसानले राम्रो मूल्य नपाउने अवस्था सिर्जना हुने हुँदा प्याजको उत्पादन क्षेत्र विस्तार गर्ने सन्दर्भमा किसान कम आकर्षित भएको पाइन्छ ।’