मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ४ आइतबार १२:१२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

 विदेशमा कोभिडबाट ज्यान गुमाउने नेपालीको संख्या दुई सय ४४ पुग्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ४ आइतबार १२:१२:००

शनिबार साँझसम्म विदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या दुई सय ४४ पुगेको छ । यो साता अमेरिकामा थप एक नेपालीको संक्रमणबाट मृत्यु भएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । 

कोरोनाका कारण  हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १७ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।  

स्वास्थ्य समितिका अनुसार यो साता युके, स्पेन र भारतलगायतका देशमा कोरोना संक्रमण दर सामान्य रूपमा वृद्धि भएको छ । ब्राजिल र युगान्डामा पनि नयाँ संक्रमण देखा परेको छ । हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीमा संक्रमण देखिएका छ ।

६९ हजार दुई सय ८९ जनाको उद्धार  

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । 

हालसम्म  नेपाल सरकार, विदेशस्थित दूतावास तथा नियोग तथा गैरआवासीय नेपाली संघको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार दुई सय ८९ जनाको उद्धार  गरिएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन शनिबार साँझ सुरु भएको छ । सम्मेलनको औपचारिक उद्घाटन पूर्वस्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त तथा राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले  संयुक्त रूपमा  गरेका थिए ।

सम्मेलन तीन दिनसम्म चल्नेछ । गैरआवासीय नेपाली संघले कोरोना महामारीका कारण समस्यामा परेका एक लाख ५० हजार गैरआवासीयलाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ ।