Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ४ आइतबार ०७:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामै १४ अर्बको सेयर कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ४ आइतबार ०७:२०:००

गत साता ७ प्रतिशतमै सेयर धितो कर्जा दिने बैंकहरूको घोषणाले सेयर बजारमा उत्साहको सञ्चार गराएको छ । अन्तिम दिन बजार पुँजीकरण हालसम्मकै उच्च (करिब २१ खर्ब) भएको छ भने साताभरमा १४ अर्ब रुपैयाँको सेयर किनबेच भयो । नेप्से परिसूचकसमेत १ वर्षकै उच्च बिन्दु १६२० नजिक आएको छ । साप्ताहिक आधारमा नेप्सेले बिहीबारसम्म ५४ अंक जोडेको हो । 

नेप्सेको मैनबत्ती चित्रले अन्तिम ३ दिनमा २ दिन सेतो मैनबत्ती आकृति बनेको छ । पहिलो दिन सेतो सानो आकारको दुवैतिर धागो भएको मैनबत्ती बनाएको नेप्सेले अन्तिम दिन ठूलो शरीर भएको यस्तै मैनबत्ती आकृति बनाएको छ । यसले बजार बढ्ने थप सम्भावनालाई देखाएको छ । यद्यपि, अन्तिम दिन बनेको मैनबत्तीको दुवैतर्फ लामो र उस्तै आकारको धागो बनेको छ । यसले दुवैतर्फ बराबर दबाब रहँदा पनि बजार बढेकाले आगामी दिनमा पनि दबाब भने देखिन सक्ने संकेत गर्छ । 

सातामा होटेल समूह २३ प्रतिशत र जलविद्युत् समूह करिब १७ प्रतिशतले वृद्धि भएको छ । व्यापारमूलक, बैंकिङको २ प्रतिशत दरमा र उत्पादनमूलक र ‘अन्य’ समूहको १ प्रतिशतभन्दा कमले परिसूचक घटेको छ । अन्तिम दिन भने निर्जीवन बिमा कम्पनीबाहेक सबै समूहगत परिसूचक बढेका छन् । बैंकिङ समूहबाट माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेसँगै यो समूहमा आकर्षण फर्किएको छ । 

सातामा कारोबार संख्याका आधारमा एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट, नेपाल पुनर्बिमा कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्सको धेरैपटक सेयर किनबेच भएको छ । यी कम्पनीको क्रमशः १७ हजार ८ सय, ९ हजार ३ सय र ६ हजार ३ सयभन्दा बढीपटक सेयर किनबेच भएको हो ।

आम्दानीको तुलनामा १ सय ४६ गुणासम्म मूल्य

उच्च कारोबार भइरहेका तीन कम्पनीका सेयरमा लगानीकर्ताले कम्पनीले कमाउने १ रुपैयाँका लागि १ सय ४६ गुणासम्म मूल्य हालिरहेका छन् । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट, नेपाल पुनर्बिमा कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा लगानीकर्ताले यसरी लगानी गरिरहेका हुन् । रिलायन्स लाइफबाहेक दुवै कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेको छैन । रिलायन्सको समेत वित्तीय परिसूचक भने प्रकाशित भएको छैन । कम्पनीहरूले आह्वानपत्रमा ०७७/७८ का लागि प्रक्षेपण गरेको प्रतिसेयर आम्दानीका आधारमा हालको मूल्यले निकालिएको मूल्य आम्दानी अनुपातले यस्तो देखाएको हो । 

एनआरएन इन्फास्ट्रक्चर, नेपाल पुनर्बिमा र रिलायन्सको प्रतिसेयर आम्दानी क्रमशः ३ रुपैयाँ ३३ पैसा, १२ रुपैयाँ ४७ पैसा र ४ रुपैयाँ ५२ पैसा छ । यस आधारमा यी कम्पनीहरूको अन्तिम दिनको मूल्यअनुसार लगानीकर्ताले कम्पनीहरूले कमाएको १ रुपैयाँका लागि क्रमशः १ सय २० रुपैयाँ, ७० रुपैयाँ र १ सय ४६ रुपैयाँसम्म हालिरहेका छन् । 

नयाँ कम्पनीहरू भएका कारण भविष्यको सम्भावना देखेर पनि लगानी भएको हुन सक्छ । प्रतिसेयर नेटवर्थका आधारमा समेत लगानीकर्ताले यी कम्पनीमा ३ देखि करिब ६ गुणासम्म लगानी गरिरहेका छन् । लगानी गर्दा प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर नेटवर्थलगायतले कम्पनीहरूले विगतमा गरेको व्यवसायअनुसार आधारभूत अवस्था देखाउँछ । यिनले कम्पनीहरूको भविष्यको सम्भावनालाई नदेखाउने भएकाले आम्दानीलगायतका अन्य सूचकहरू पनि हेर्दै गर्नुपर्छ । यद्यपि, लगानीकर्ताले सम्हालेर लगानी गर्नुपर्ने अवस्था भने आएको देखिन्छ ।