मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ असोज ४ आइतबार ०९:०९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

डा. केसीलाई धर्मशालाबाट अस्पताल सारियो : स्वास्थ्य बिग्रिँदै, श्वास फेर्न पनि समस्या

Read Time : < 1 मिनेट
२०७७ असोज ४ आइतबार ०९:०९:००

चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य बिग्रिँदै गएको छ । डा. केसीले नमानेपनि स्थानीय प्रशासनले उनलाई सत्याग्रह बसिरहेको धर्मशालाबाट शनिबार मध्यराति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारेको छ ।

शनिबार पनि डा. प्रवीणकुमार गिरी, डा. अनुपमंगल समाल र सविता थापासहितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले डा. केसीको स्वास्थ्य जाँच गरेको छ । चिकित्सकको टोलीले उनको स्वास्थ्य बिग्रिँदै गएकाले यथाशीघ्र अस्पतालमा सार्नुपर्ने बताएको थियो । स्वास्थ्यको २४सै घन्टा निगरानी गर्नुपर्ने भएकाले अस्पतालमा स्थानान्तरण गर्नुपर्ने उनीहरूले बताएका थिए । 

डा. केसीको छाती अत्यधिक दुख्न थालेको तथा श्वासप्रश्वासमा समस्या भइरहेको चिकित्सकको टोलीले जनाएको छ । त्यस्तै, पिसाबको मात्रा कम भइरहेको, रक्तचाप घटेको, मुटुको चाल अघिल्लो दिनभन्दा बढेको, कमजोरी, मांसपेशी बाउँडिने र रिँगटा लाग्ने समस्या देखिएको छ । स्लाइन चढाउनुपर्ने अवस्था आएको भए पनि डा. केसीले नमानेको डा. गिरीले बताए । रगतमा चिनीको मात्रा न्यून भई शरीरका अंगहरूमा जटिल समस्या देखिन सक्ने चिकित्सकले जनाएका छन् । प्रतिष्ठानको टोलीले दैनिक तीनपटक स्वास्थ्य जाँच गर्दै आएको छ । 

डा. केसी २९ भदौदेखि जुम्लाको चन्दननाथ नगरपालिका– ६ रानीचौरस्थित बाबिरा मष्टो मन्दिरको धर्मशालामा सत्याग्रहमा बसिरहेका थिए । धर्मशालामा पानी र शौचालयको पनि समस्या छ । स्वास्थ्य र सुरक्षाका दृष्टिले पनि राम्रो नभएको भन्दै नागरिक समाजले सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो । 

सत्याग्रहको समर्थनमा दीप प्रज्वलन
सत्याग्रहमा बसेका डा. केसीको समर्थनमा जुम्लाका युवाले सदरमुकाम खलंगामा दीप प्रज्वलन गरेका छन् । शनिबार साँझ उनीहरूले नागरिक समाजको अगुवाइमा दीप प्रज्वलन गरेका हुन् । डा. केसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन दीप प्रज्वलन गरिएको स्थानीय महेन्द्र कार्कीले बताए ।