१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज ३ शनिबार २१:१५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एकसाथ चारवटा पार्क बनाउँदै ललितपुर महानगर 

Read Time : > 1 मिनेट
२०७७ असोज ३ शनिबार २१:१५:००

ललितपुर महानगरले जवलाखेलमा एकैसाथ चारवटा पार्क बनाउने भएको छ । जवलाखेलको स्टिलटावरनजिकै रहेका यी पार्क महानगरको नगरस्तरीय गौरवशाली आयोजनाअन्तर्गत बन्न लागेका हुन् । ती पार्कको शनिबार ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले शिलान्यास गरे । यी पार्क महानगरको वडा नं. ४, ५ र १३ मा पर्दछन् । 

चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान सिंह पार्क नाम दिइएको यी पार्कहरू २६ आना ३ पैसा जग्गामा निर्माण हुने छन् । यी पार्कको लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ । 

पार्कको शिलान्यास गर्दै मेयर महर्जनले हरियाली र पानीजन्य परियोजनालाई महानगरले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘सहरभित्र पार्क निर्माण गर्दा सहरको सौन्दर्य बढ्छ, त्यसैले त्यस्ता आयोजनालाई प्राथमिकतामा राखेका छौँ ।’ खुला स्थानको संरक्षण गर्न पार्क निर्माणलाई महत्व दिएको उनले बताए । महानगरले खुला ठाउँमा कुनै पनि भवन निर्माण गर्न नदिने नीति लिएको छ ।

अहिले नै खुला ठाउँको संरक्षण नगर्ने हो भने नयाँ पुस्तालाई अन्याय हुने उनले स्पष्ट पारे । उनले भने, ‘म सानो छँदा लगनखेलमा फुटबल खेल्न जान्थेँ, त्यहाँ सबैतिर पोखरी थियो, त्यही पौडी खेल्न सिकेको हो, हाम्रो पुस्ताले जुन प्रकृतिमा रमाइलो गरेका थियौँ, त्यस्तो रमाइलो हाम्रा छोराछोरी र नातिनातिनाले गर्न पाएका छैनन् ।’ यस्तै, लगनखेल र कुमारीपाटीको प्रसादी एकेडेमीनजिकै पनि पार्क निर्माणको तयारी रहेको महानगरले जनाएको छ । वरिष्ठ इन्जिनियर रामरतन शाहले यी पार्कहरू बालमैत्री र अपांगतामैत्री हुने बताए । 

शिलान्यास कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतम, सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनको उपस्थिति थियो । साथै गणेशमान सिंह सालिक संरक्षण समितिका अध्यक्ष तथा पूर्वसांसद रामकृष्ण चित्रकारको पनि उपस्थिति थियो । 

पार्कका डिजाइनर वृक्ष फाउन्डेसनका अध्यक्ष मिलन राईले पार्क बालमैत्री, अपांगतामैत्री बन्ने बताए । पार्क जैविक विविधतापूर्ण हुनेसमेत उनले स्पष्ट पारे । सिटिइभिटिईका पूर्वसदस्यसचिव तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशकुमार बखतीले पार्क निर्माण र संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताए ।