१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज ३ शनिबार १९:२६:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

कोरोना महामारीबीच विश्वका एक सय ३० भन्दा बढी ठूला कम्पनी टाट पल्टिए 

Read Time : > 2 मिनेट
२०७७ असोज ३ शनिबार १९:२६:००

कोरोना (कोभिड– १९) महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो असर परेको छ । लकडाउन र कोरोना संक्रमण त्रासका कारण मानिस घरभित्रै बस्न बाध्य भएपछि विश्व अर्थतन्त्र ठप्प बन्ने अवस्था आएको हो । 

अमेरिकी पत्रिका फोब्र्सले तयार पारेको रिपोर्टअनुसार कोरोना भाइरस संक्रमण सुरु भएपछि २४ भदौसम्म पाँच सयभन्दा बढी कर्मचारी भएका एक सय ३० भन्दा बढी ठूला  कम्पनीले टाट पल्टिएको घोषणा गरेका छन् । ती कम्पनीले आफ्नो व्यापार–व्यवसाय जोगाउन आवश्यक प्रक्रिया चालिएको पनि जनाएका छन् । फोब्र्सको रिपोर्टअनुसार कोरोना भाइरसका कारण टाट पल्टिएको घोषणा गरेका केही प्रमुख कम्पनी :

ट्वेन्टीफोर आवर फिटनेस
फिटनेससम्बन्धी अमेरिकाको ठूलो कम्पनी ट्वेन्टीफोर आवर फिटनेस वल्र्डवाइड इन्कले कोरोना भाइरसका कारण टाट पल्टिएको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण फैलिएपछि कम्पनीले गत १५ जुनमा आफ्नो व्यवसाय जोगाउन आवश्यक कानुनी प्रक्रियाका लागि यससम्बन्धी निर्णय गर्न अदालतमा निवेदन दिएको छ । कम्पनीले कोरोना भाइरसका कारण चार सयको हाराहारीमा रहेको जिम सेन्टरमध्ये एक सय बन्द गर्नुपरेको घोषणा गरेको छ । लसएन्जलस टाइम्सले भने कम्पनीले एक सय ३० सेन्टर बन्द गरेको जनाएको छ । 

एड्भान्टेज रेन्ट अ कार
अमेरिकाको फ्लोरिडास्थित क्यानेडियन कम्पनीको स्वामित्वमा रहेको यो कम्पनीले कार भाडामा दिने गथ्र्यो । यसले पनि कोरोना भाइरस संक्रमण फैलिएपछि टाट पल्टिएको घोषणा गरेको छ । यो कम्पनीले पनि कानुनी प्रक्रियाका लागि अदालतमा २६ मेमा निवेदन दिएको छ ।

ल्याटिन एयरलाइन्स
चिलीको ठूलो विमान सेवा कम्पनी ल्याटिन एयरलाइन्सले पनि टाट पल्टिएको घोषणा गरेको छ । सोही कारण कम्पनीले आफ्नो उडान सेवा पनि घटाइएको जनाएको छ ।

एरोमेक्सिको
एरोमेक्सिको मेक्सिकोको ठूलो एयरलाइन कम्पनी हो । यो कम्पनीले पनि टाट पल्टिएको घोषणा गरेको छ । कम्पनीले आफ्नो अहिलेको अवस्थाबाट माथि उठाउन थप कानुनी प्रक्रियाका लागि १ जुलाईमै अदालतमा निवेदन दिएको थियो । अमेरिकी कानुनमा टाट पल्टिएका कम्पनीहरूले त्यो समस्यालाई लिएर अदालतमा निवेदन दिन सक्ने व्यवस्था छ । अदालतको आदेशअनुसार उनीहरूले आफ्नो व्यवसाय बन्द गर्न, नयाँ ढंगले अघि बढाउने वा क्षतिपूर्ति उठाउन सक्छन् ।

अल्डो ग्रुप
क्यानडाको मोन्ट्रियल सहरमा मुख्यालय रहेको जुत्ता ‘रिटेलर’ कम्पनी हो अल्डो ग्रुप । एक सयभन्दा बढी देशमा यो कम्पनीको तीन हजारको हाराहारीमा कार्यालय छ । तर, कोरोना महामारीपछि आफ्नो धेरै स्टोर बन्द रहेको भन्दै कम्पनीले ‘क्रेडिटर प्रोटेक्सन’का लागि गत ७ मेमा निवेदन दिएको थियो । 

ब्लु एयर
रोमानियन एयरलाइन ब्लु एयरले कम्पनी टाट पल्टिएको जनाएको छ । उसले आफ्नो ऋण तिर्न नयाँ योजना बनाउन लागेको गत ६ जुलाईमा घोषणा गरेको थियो ।

ब्रिग्स एन्ड स्ट्राटोन
अमेरिकाको विस्कन्सिनस्थित ‘इन्जिन’ उत्पादन गर्ने कम्पनी ब्रिग्स एन्ड स्ट्राटोनले कोरोना भाइरसका कारण टाट पल्टिएको घोषणा गरेको थियो । सोही कारण कम्पनीले आफ्नो सम्पूर्ण सम्पत्ति अर्काे कम्पनी केपिएस क्यापिटल पार्टनरलाई बेच्ने निर्णय गरेको जनाएको छ ।

ब्रुक्स ब्रोदर
पुरुषको कपडा उत्पादक कम्पनी ब्रुक्स ब्रोदर झन्डै दुई शतकअघि स्थापना भएको कम्पनी हो । अमेरिकाको म्यानहाटनमा रहेको यो कम्पनीको दुई सय ५० भन्दा बढी स्टोर थिए । कम्पनीले कोरोना भाइरस महामारीका कारण टाट पल्टिएको भन्दै ५१ वटा सेन्टर बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले यही अवस्थाका कारण टाट पल्टिन लागेको भन्दै गत ८ जुलाईमै निवेदन दिएको छ ।

क्याजुअल डाइनिङ ग्रुप
लन्डनस्थित क्याफे रग र बेल्ला इटालियाको माउ कम्पनी क्याजुअल डाइनिङ ग्रुपले पनि टाट पल्टिएको घोषणा गरेको छ । कम्पनीले आफ्नो दुई सय ५० मध्ये ९१ रेस्टुरेन्ट बन्द गरेको घोषणा गरेको छ । जसबाट १९ सयजना बेरोजगार बनेका छन् ।

सेन्ट्रिक ब्रान्ड्स 
काल्भिन क्लेइन र टम्मी हिल्फिगरजस्ता ब्रान्डको उत्पादक कम्पनी सेन्ट्रिक ब्रान्ड्सले पनि व्यवसाय ठप्प भएका कारण टाट पल्टिने अवस्थामा पुगेको जनाएको छ । कम्पनीले टाट पल्टिनबाट बच्ने उद्देश्यले गत १८ मेमै अमेरिकाको ‘ब्याङ्करप्सी’सम्बन्धी निर्णय गर्न अदालतमा निवेदन दिएको छ ।

इन्डोलजिक 
मेडिकल उपकरण उत्पादक अमेरिकी कम्पनी इन्डोलजिकले पनि कोरोना भाइरसकै कारण टाट पल्टिन लागेकाले अफ्नो सम्पत्ति बेच्ने निर्णयमा पुगेको घोषणा गरेको छ ।

इन्टेलसाट
लक्जेम्बर्गस्थित स्याटेलाइट सेवा प्रदायक कम्पनी इन्टेलसाटले कोरोना भाइरसका कारण कम्पनी टाट पल्टिन लागेको जनाएको छ । कम्पनीले यो जोखिमबाट माथि उठ्न प्रयास गरिरहेको जनाएको छ ।