१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज ३ शनिबार १७:३९:००
Read Time : > 3 मिनेट
खेलकुद

यसपटकको आइपिएलमा यी ब्याट्सम्यान चल्न सक्छन्

Read Time : > 3 मिनेट
२०७७ असोज ३ शनिबार १७:३९:००

आजबाट युएईको तीन सहरमा १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुँदै छ । साबिक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीचको प्रतिस्पर्धासँगै आइपिएलमा ब्याट्सम्यान र बलरबीच युद्ध नै चल्नेछ । नाम चलेका ब्याट्सम्यान र बलरबीचको प्रतिस्पर्धाका कारण आइपिएलको रौनक फरक छ । यसपटक आइपिएलमा चल्न सक्ने ब्याट्सम्यान यस्ता छन् ।
 
डेभिड वार्नर (सनराइजर्स हैदराबाद) : आइपिएल खेल १२६, रन ४७०६

क्रिजमा जब डेभिड वार्नर देखा पर्छन्, विपक्षी बलर तत्काल फरक रणनीति बनाउँछन् । सामान्य ब्याट्सम्यानभन्दा वार्नरलाई आउट गर्न कठिन छ । यी अस्ट्रेलियन ब्याट्सम्यानसँग हरेक बलको जवाफ छ । यसकारण नै टी–२० क्रिकेटमा वार्नरको ब्याटिङ कला हेर्न सबै उत्सुक हुन्छन् । यद्यपि थोरै समय क्रिजमा बसे पनि उनले आफ्ना समर्थकलाई भरपूर मनोरञ्जन दिन्छन् । आइपिएलमा इंग्ल्यान्ड, वेस्टइन्डिज र अस्ट्रेलियाका खेलाडी आएका छन् । यी राष्ट्रहरूका खेलाडीमध्ये वार्नरले अलि फरक पहिचान बनाएका छन् । 
सनराइजर्स हैदराबादका कप्तान वार्नर केही दिनअघि मात्र इंग्ल्यान्डविरुद्धको सिरिज सकाउँदै युएई पुगेका हुन् । सन् २००९ देखि ०१३ सम्म उनी दिल्लीका खेलाडी थिए । त्यसपछि सन् २०१४ मा उनी हैदराबादमा आबद्ध भए । हैदराबादमा आबद्ध भएको दुई वर्षमै आइपिएल उपाधि दिलाए । सन् २०१८ मा बल बिगारेको आरोपमा उनी प्रतिबन्धमा परे । प्रतिबन्ध फुकुवापछि उनले पुनः हैदराबादकै जिम्मेवारी सम्हालेका छन् । 

विराट कोहली (रोयल च्यालेन्जर्स बैंग्लोर) : आइपिएल खेल १७७, रन ५४१२

क्रिकेटका तीनवटै फम्र्याटमा आक्रामक रूपमा प्रस्तुत हुने ब्याट्सम्यान हुन् विराट कोहली । चाहे टेस्ट होस् वा टी–२०, विराटको स्ट्राइक रेट माथि नै रहन्छ । रोयल च्यालेन्जर्स बैंग्लोरलाई आइपिएल उपाधि दिलाउने चाहना उनको पूरा भएको छैन । विराटको कप्तानीमा बैंग्लोरले एकपटक फाइनल खेले पनि उपाधि जित्न सकेन । विराट सन् २०१२ मा बैंग्लोरका कप्तान बनेका थिए । एक सय ७७ खेलबाट उनले पाँच हजार चार सय १२ रन बनाएका छन् । यसपटक पनि विराट थप आक्रामक शैलीमा खेल्नेछन् । आइपिएलको इतिहासमा बैंग्लोर तीनपटक फाइनल पुग्यो । सबैपटक उपविजेतामै सीमित भयो । 

रोहित शर्मा (मुम्बई इन्डियन्स) : आइपिएल खेल १८८, रन ४८९८

मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माको ब्याटिङ बिस्तारै खुल्ने गर्छ । आइपिएलमा धेरै खेल खेल्ने खेलाडीमा पर्ने रोहितले चार हजार आठ सय ९८ रन बनाएका छन् । एकदिवसीय र टी–२० फम्र्याटमा रोहित बिलकुलै फरक रूपमा ब्याटिङ गर्छन् । यी दुवै खेलमा उनको स्ट्रोक लगाउने र डिफेन्स गर्ने रणनीति नै फरक हुन्छ । रोहितले सन् २०१३ को संस्करणमा मुम्बईलाई पहिलोपटक च्याम्पियन बनाएका थिए । 

यसको सफलतासँगै रोहित आइपिएलमा रोकिएनन् । उनी सन् २०११ मा डेकन चाजर्सबाट मुम्बईमा आबद्ध भएका हुन् । यसको दुई वर्षपछि रोहित मुम्बईका कप्तान बने । आइपिएलमा सर्वाधिक सफल कप्तानमध्येमा रोहित पनि पर्छन् । 

लोकेश राहुल (किंग्स ११ पन्जाब) : आइपिएल खेल ६७, रन १९७७

लोकेश राहुल आइपिएल इतिहासमा छिटो ५० रन बनाउने ब्याट्सम्यान हुन् । लोकेशले सन् २०१८ मा दिल्ली क्यापिटल्सविरुद्ध केवल १४ बलमै अर्धशतकीय इनिङ्स खेलेका थिए । यही इनिङ्सबाटै लोकेशले सबैलाई चिनाए । आवश्यकताअनुसार आक्रामक ब्याटिङ गर्न सक्ने खुवी भएको उनले प्रमाणित गरेका छन् । सन् २०१३ मा आइपिएलमा डेब्यु गरेको सिजनमै लोकेशले ६ सय ५९ रन बनाएका थिए । गत संस्करणमा उनले दिल्लीबाट सबैभन्दा राम्रो ब्याटिङ गर्दै पाँच सय ९३ रन जोडेका थिए । आइपिएलमा लगातार लोकेशको ब्याट चलिरहेको छ । युएईको पिचमा उनले यस किसिमकै प्रदर्शन गर्ने अपेक्षा छ । 

जोस बटलर (राजस्थान रोयल्स) : खेल ४५, रन १३८६

इंग्लिस विकेटकिपर ब्याट्सम्यान जोस बटलरले अहिलेसम्म आइपिएलमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यद्यपि अन्तर्राष्ट्रिय क्रिकेटमा बटलरको ब्याट खुवै चल्छ । पहिलो दुई सिजनमा मुम्बई इन्डियन्समा सन् २०१६ र ०१७ मा उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । त्यसपछि राजस्थानमा पुगेपछि बटलर अलि जोसिए । बटलरले भनेकै स्थानमा ब्याटिङ गर्न अवसर पाए । यद्यपि अझै पनि ब्याटिङमा उत्कृष्ट प्रदर्शन हुन नसकेको उनी बताउँछन् । राजस्थानमा आएपछि उनको प्रदर्शनमा सुधार आयो । अहिले राजस्थानका ब्याटिङ खम्बाका रूपमा बटलर रहेका छन् ।

एबी डी भिलियर्स (रोयल च्यालेन्जर्स बैंग्लोर) : खेल १५४, रन ४३९५

यदि क्रिकेटमा मिस्टर ३६० डिग्री कसैलाई भनिन्छ भने उनी हुन्– एबी डी भिलियर्स । आधुनिक क्रिकेटमा भिलियर्ससँग सबै किसिमका सर्ट छन् । मैदानको चारै कुनामा फरक–फरक कोणमा चौका वा छक्का प्रहार गर्न भिलियर्सले खासै मिहिनेत गर्दैनन् । सहज रूपले उनी ३६० कोणमा स्ट्रोक प्ले गर्छन् । दक्षिण अफ्रिकन ब्याट्सम्यान भिलियर्सले २०१० मा दिल्लीबाट आइपिएलमा डेब्यु गरेका थिए । टी–२० का उत्कृष्ट ब्याट्सम्यान भिलियर्स रोयल च्यालेन्जर्स बैंग्लोरमा १५० को स्ट्राइक रेटमा ब्याटिङ गर्छन् । आइपिएलकै एक सुन्दर स्ट्रोक लगाउने ब्याट्सम्यानले अहिलेसम्म तीन शतक तथा २२ अर्धशतक लगाएका छन् । 

आरोन फिन्च (रोयल च्यालेन्जर्स बैंग्लोर) : खेल ७५, रन    १७३७

अस्ट्रेलियन एकदिवसीय टोलीका कप्तान आरोन फिन्चसँग आइपिएलमा फरक तीन टोलीबाट खेलेको अनुभव छ । राजस्थान, किंग्स ११ पन्जाब हुँदै अहिले बैंग्लोरबाट प्रतिस्पर्धा गरिरहेका छन् । यद्यपि आइपिएलमा थोरै खेलमा ब्याटिङ अवसर पाए पनि आरोनले स्ट्राइक रेटअनुसार ब्याटिङ गर्छन् । सन् २०१३ को संस्करणको आइपिएलमा उनी उत्कृष्ट फर्ममा थिए । यसवेला उनले चार सय ५६ रन जोडेका थिए । 

क्रिस गेल (किंग्स ११ पन्जाब) : खेल १२५, रन ४४८४
टी–२० खेलमा वेस्टइन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलको नाम आएन भने त्यो अधुरो रहन्छ । टी–२० खेलकै सबैभन्दा विस्फोटक तथा धेरै शतकीय इनिङ खेल्ने ब्याट्सम्यान गेल नै हुन् । आइपिएलमा उनको नाममा रहेको छिटो शतक अहिलेसम्म तोडिएको छैन । सन् ०१३ को सिजनमा उनले केवल ३१ बलमै शतकीय इनिङ खेलेका थिए । सन् ०११ र ०१२ को सिजनमा बैंंग्लोरबाट प्रतिस्पर्धा गर्दै गेलले ओरेन्ज क्याप जितेका थिए । किंग्स ११ पन्जाबबाट उनको प्रदर्शन मिश्रित रहेको छ । ४० वर्षीय ब्याट्सम्यान गेल यसपटक युएईको मैदानमा चौका र छक्का वर्षा गराउने योजनामा छन् । –एजेन्सीको सहयोगमा