Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन प्यासी काठमाडौं
२०७७ असोज ३ शनिबार १६:०९:००
Read Time : > 4 मिनेट
सप्तरंग डिजिटल संस्करण

लकडाउनमा हिट गीत 

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडौं
२०७७ असोज ३ शनिबार १६:०९:००

दुई महिनाअघि एउटा गीत सार्वजनिक भयो, ‘के माया लाग्छ र... !’ निशान भट्टराई र एलिना चौहानको स्वरमा रहेको यो गीतका संगीतकार अंकितबाबु अधिकारी हुन् । यो रिपोर्ट तयार पार्दासम्म एक करोड ५१ लाखले युट्युबमा हेरिसकेको गीतको शब्द–रचना हर्क साउदको हो । एक वर्षअघि गणेश सेन्चुरीको शब्द र संगीत तथा स्वरमा ‘लुकिछिपी किन मायामा...’ बोलको गीत सर्वजनिक भएको थियो । गीतको फुटेज केही बाँकी थियो । लकडाउनको समयमा त्यो फुटेज यत्तिकै किन फाल्ने भन्ने भएपछि कन्सेप्ट तयार भयो । साउदले शब्द लेख्ने भए । र लेखे, ‘के माया लाग्छ र...’ । साउद भन्छन्, ‘यो गीतको शब्द भिडियो हेरेर बनाइएको हो ।’

यो गीत सार्वजनिक भएपछि अत्यधिक रुचाइयो । यसको पछाडि गाउँप्रतिको प्रेम र स्नेह रहेको साउदको अनुमान छ । देशको राजधानी काठमाडौंमा आधाजसो मान्छे बाहिरबाट आएका छन् । कुनैवेला काठमाडौं पनि गाउँ नै थियो । मान्छे जति नै आधुनिक बनेर गए पनि आफ्नो भाषा, संस्कृतिलाई नबिर्सेका कारण नै आफ्नो गीतलाई दर्शक–श्रोेताले रुचाएको बताउँछन् साउद । गीत आएपछि एकजना इन्जिनियरले फोन गरेर उनलाई भने, ‘हामीले बिर्सिसकेको शब्द सम्झाइदिनुभयो ।’

                                                                                                   ००००
साउद सुदूरपश्चिमका हुन् । उनकै शब्दमा भन्ने हो भने बुकी फुल्ने ठाउँका हुन् । डोटेली भाषा बोलेर हुर्केका हुन् । देउडा गाएर बढेका हुन् । एक महिनाअघि उनै साउदले लेखेको गीत सार्वजनिक भयो, ‘तीनपाते.. ।’ तीनपाते चियासँग जोडिने शब्द हो । पूर्वको इलामतिर चियाको तीनपात मुना टिपेर चिया बनाउने गरिन्छ । पूर्वको भाषा र लवज छुट्टै छ । तर, साउदले पूर्वकै गीत लेखिदिए, तीनपाते... । 

यो गीत एक वर्षअघि नै तयार भएको थियो । गत चैतमै रिलिज गर्ने कुरा थियो । तर, भनेको समयमा हुन सकेन । यो गीत पनि फ्रेमभित्र रहेर कन्सेप्टमा लेखिएको थियो । ‘कुनै ठाउँलाई लिएर गीतमाथि काम गर्दा त्यहाँको भाषा, संस्कृतिमाथि काम गर्न पाइन्छ । त्यहाँको मान्छेहरूसँग संवाद गर्न पाइन्छ,’ फरक भूगोलमाथि काम गर्दा अप्ठ्यारो नहुने बताउँदै साउद भन्छन्, ‘कुनै ठाउँ, संस्कृतिमाथि काम गर्दा त्यो ठाउँबारे पूर्ण रूपमा बुझ्न आवश्यक छ । कुनै पनि भूगोलमा पुग्दा त्यहाँको भाषा, लवज, संस्कृतिले छोएको हुन्छ । पछि अझै मिहिन ढंगले बझेपछि सिर्जनामा काम गर्छु ।’

साउदका थुप्रै पूर्वेली साथी छन् । उनीहरूको संगतले पनि पूर्वलाई पर्गेल्न साउदलाई सहज भयो । तर, उनलाई गीत लेखिदिनु भनेर अफर भने कमै आउँछन् । साउदलाई गीत बनाउन टिम चाहिन्छ । कन्सेप्ट र फ्रेम चाहिन्छ । त्यसपछि मात्र गीत लेख्छन् । भन्छन्, ‘अहिलेको समयमा टिम नबनाई हुँदैन । गीत लेखेर मात्र हुँदैन, अरू पाटो पनि उत्तिकै सिर्जनशील हुनुपर्छ ।’ साउद बागबजारमा रेस्टुरेन्ट व्यवसाय पनि चलाउँछन् । 

                                                                                                     ०००००
लकडाउनमै दुई महिनाअघि अर्को गीत सार्वजनिक भयो, ‘सोचेझैँ जिन्दगी रैनछ...’ । तिजको समयमा सार्वजनिक गरिएको यो गीतलाई अहिलेसम्म एक करोड बाह्र लाखले हेरिसकेका छन् । खेम सेन्चुरी र मधु क्षत्रीको स्वर रहेको यो गीतलाई नेत्र अर्यालले लेखेका हुन् भने सेन्चुरीकै संगीत छ । 

गायक तथा संगीतकार सेन्चुरी १२ वर्षदेखि सांगीतिक कर्ममा सक्रिय छन् । तर, उनलाई दर्शक–श्रोताले ‘सोचेझैँ जिन्दगी रैनछ..’ गीतमार्फत अत्यधिक प्रेम दिए । अहिले सेन्चुरीको गीतझैँ संसार सोचेझैँ छैन । कोभिडका कारण थिलथिलो बनेको छ । संसारले भोगिरहेको यही परिवेशलाई आफूले गीतमा उतारेको सेन्चुरी बताउँछन् । सेन्चुरीले अघिल्ला गीतहरूमा पनि वास्तविकतालाई मध्यनजर गर्दै गीत बनाउने गरेका थिए । ‘तर, कतिवेला कस्तो सिर्जना दर्शक÷श्रोताले रुचाइदिनुहुन्छ, थाहा नहुने रहेछ,’ सेन्चुरी गीतको सफलताले खुसी हुँदै भन्छन्, ‘नेपाली जनमानसमा वास्तविक कथालाई समेटेको गीत निकै रुचाइन्छ । तर, सिर्जना गर्ने सवालमा यही गीत क्लिक हुन्छ भन्ने थाहा नहुने रहेछ । यो त भाग्यको खेल रहेछ ।’
तिजको माहोल थियो । गायिका मधु क्षत्रीले एउटा गीत गर्न सुझाए सेन्चुरीलाई । उनले ‘कोसिस गर्छु’ भने । तर, परिवेश अरूवेलाभन्दा फरक छ । मान्छेहरू निराश छन् । कोही घर फिरिरहेका छन् । कसैको परदेशको यात्रा रोकिएको छ । मान्छेको चाहना, रहर, सपना महामारीले रोकिदियो । मान्छेहरू उकुसमुकुस भएर बाँचे । यही परिवेश सेन्चुरीको दिमागमा खेलिरहेको थियो । पहिलो लकडाउन तीन महिनापछि खुकुलो बनेपछि रूपन्देहीबाट काठमाडौं आए । सेन्चुरी भन्छन्, ‘काठमाडौं फर्केपछि गीत तयार गरेँ । हामीले भोगिरहेको परिस्थितिलाई गीतमा समावेश गरेर बनाएको हुँ ।’

                                                                                                  ००००
लकडाउनकै बीचमा गायक प्रकाश सपूतको गीत आयो ‘बदला बरी लै...’ । देवी घर्तीको स्वरमा रहेको यो गीतलाई पनि दर्शकले खुब रुचाए । अहिलेसम्म यो गीतलाई युट्युबमा ६४ लाखले हेरिसकेका छन् । एलिना चौहान, जीवेश गुरुङ, भीम विष्ट, रचना रिमालको स्वरमा रहेको ‘मिनरल वाटर...’लाई पनि दर्शकले अत्यधिक रुचाएका छन् । यो गीत अहिलेसम्म ८७ लाखले हेरिसकेका छन् । टिकटकमा धेरै भिडियो बन्नेमा यो गीत पनि पर्छ । कोरोना महामारीकै बीचमा आएको यो गीत अहिले जिब्रोजिब्रोमा झुन्डिएको छ । संगीतकार पारस मुकारुङको भनाइलाई आधार मान्ने हो भने यसबीचमा चार सयभन्दा बढी गीत रेकर्ड भएर सार्वजनिक भए । तर, केही गीत मात्र दर्शक–श्रोताको मुखमा झुन्डिए । 

                                                                                                  ००००
‘म हाँसो हाँस्छौ र’ गीत एक महिनाअघि सार्वजनिक भयो । देवेन्द्र बब्लु र मेलिना राईको स्वरमा रहेको गीतलाई अहिलेसम्म तीस लाखले हेरिसकेका छन् । लकडाउनमा बब्लु गाउँ गएका थिए बाग्लुङ । पाँच–६ वर्षअघि गाउँ पुग्दा गाउँको भाषा, गाउँको बोलीचाली, गाउँको वातावरणले बब्लुलाई छोयो । त्यसपछि काठमाडौं फिरे । काठमाडौं आएपछि माया व्यक्त गर्दा कसरी प्रतिक्रिया दिने भनेर शब्द लेखे । बच्चाहरूलाई पनि गाउन सजिलो होस् र युवालाई पनि गाउन सजिलो होस् भनेर कम्पोज तयार गरे । माइला दाइको छोरो, प्रकाश सपूतको छोरीलाई राखेर कम्पोज गरे । दुवै भतिजभतिजीलाई पनि गाउन लगाए । बब्लु भन्छन्, ‘यसलाई गीत भए पनि गफ ठानेँ । गफलाई संगीत हालेँ । गीत बन्यो । र, रेकर्ड गरेँ ।’

बब्लु हरेक गीतको समय हुन्छ भन्छन् । अहिले अलि फरक किसिमको गीत दर्शकले मन पराउने बताउँछन् । ‘अहिले मान्छेले पप र आधुनिकमा पनि अलि फरक खालको बताउँछन् । नेपालमा अधिकांश मान्छे गाउँका हुन्छन् । उनीहरूलाई मनपर्ने गीतहरू यस्तै त हुन्छन्, जस्तो ‘तीनपाते’ के मायाल लाग्छ र,’ बब्लु भन्छन्, ‘मेरो गीतमा पनि लोक स्वाद छ । गाउँका शब्द छन् । यही कुरामा दर्शक–श्रोताले इन्जोय गरिदिनुभयो ।’ यो गीतको दुईवटा भर्सन तयार गरेका थिए बब्लुले । एउटा नेपाली लवजमा र अर्को बाग्लुङको लवजमा । साथीहरूलाई पनि सुनाए । अन्तिममा आएर त्यही बाग्लुङका लवजमा गीत सार्वजनिक गरे । बब्लु भन्छन्, ‘दर्शक–श्रोताको मायाले आत्मविश्वास घटाउँदो रहेछ । चुनौती महसुस भएर पनि होला त्यो ।’ तर, यो गीतपछि बब्लुले बुझेका छन्– गीतहरू सजिलो किसिमको बनाउनुपर्ने रहेछ । मान्छेले सोचेजस्तो, सुनेजस्तो, गुनगुनाउन सकिने बनाउनुपर्ने रहेछ ।