मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ३ शनिबार १५:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

जुका परेमा पेटमा मात्रै होइन फोक्सोमा समेत संक्रमणको जोखिम

Read Time : > 1 मिनेट
२०७७ असोज ३ शनिबार १५:२२:००

पेटमा जुका पर्नु भनेको आन्द्रामा जुकाको संक्रमण हुनु हो । जुकाहरू राउन्डवर्म, थ्रेडवर्म, हुकवर्म गरी विभिन्न प्रकारका हुन्छन् । वर्षायाममा फोहोर बढी हुने भएकाले यो समयमा जुकाले बढी सताउने गर्छ । खासगरी बालबालिका जुकाबाट बढी पीडित हुने गर्छन् । 

विभिन्न माध्यमबाट जुकाको फुल पेटमा प्रवेश गरिसकेपछि आन्द्रामा गएर बस्छ । जुन दुई–तीन सातामा लार्भामा परिणत हुन्छ । अनुकूल वातावरण पाएपछि लार्भाका कारण पेटमा संक्रमण सुरु हुन्छ । साथै सामान्यतया गर्भाधानपछि ती लार्भाले लाखौँको संख्यामा फुल पनि पार्न थाल्छ । जुकाका फुलहरू दिसाको माध्यमबाट बाहिर निस्कछन् ।

कारण

- जुकाका फुलहरू घर वरपरको फोहोर, नाला, तरकारी, सागपात आदिमा हुने गर्छन् । तरकारी, फलफूल तथा काँचै खाइने खानेकुरा राम्ररी नपखालीकन खाएमा जुकाको संक्रमण हुने गर्छ । 

- सरसफाइमा ध्यान नदिँदा जस्तै, हात नपखाली खानेकुरा खाने, भुइँमा खसेको खानेकुरा खाने, खानेकुराहरू राम्ररी नपखालेर खाँदा जुकाको जोखिम उच्च हुन्छ । राम्ररी नपकाएका खानेकुरा, सडकछेउमा राखेर बेच्न राखेका खानेकुराले पनि जुका संक्रमण गराउने सम्भावना उच्च हुन्छ । 

लक्षण

- पेटभित्र जुका विकसित भइसकेपछि सानो आन्द्राको भित्तालाई छेडेर रगतनलीमा पस्ने गर्छ । त्यसपछि पुनः फोक्सोबाट घाँटीमा आइपुग्छ । बिस्तारै अन्ननली हँुदै आमाशयमार्फत सानो आन्द्रामा जाने गर्छ । जसकारण जुका घातक पनि हुन सक्छ ।

- जुका पर्दा पेट दुख्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला लाग्ने, तौल घट्दै जानेजस्ता लक्षण देखा पर्छन् । बालबालिका कुपोषणको सिकारसमेत हुने गर्छन् ।

- जुका रक्तनली हुँदै फोक्सोमा पुगेमा खोकी लाग्ने र श्वास छिटोछिटो चल्ने हुन्छ ।

- कतिपय अवस्थामा जुकाले आन्द्रामा रुकावट सिर्जना गर्छन् । जसले गर्दा पेट दुख्ने, कब्जियत हुने र बान्ता हुने गर्छ । जटिल हुँदै गएमा आन्द्रा च्यातिने वा प्वाल पर्ने हुन्छ । 

रोकथाम र उपचार

- घरवरिपरि र टोलछिमेक सफा राख्नुपर्छ । खासगरी बालबालिका माटोमा खेल्न रुचाउने भएकाले जुकाका फुलहरू उनीहरूसम्म नपुग्ने व्यवस्था मिलाउनुपर्छ । नङ टोकिरहने, हात नधोई खान खाने गर्दा जुकाको संक्रमण हुन सक्छ । तसर्थ बालबालिकालाई फोहोर खेल्न दिनुहँुदैन, सधैँ सफा राख्नुपर्छ । 

- बासी तथा राम्ररी सफा नगरेका खानेकुरा नखाने । पानी शुद्धीकरण गरेर मात्र पिउने गर्नुपर्छ । 

- जुकाको लक्षण देखिएमा चेकजाँच गराएर उपचार गराउनुपर्छ । 

- चिकित्सकको सल्लाहमा औषधि सेवन गरेर जुकाको संक्रमणबाट बच्न सकिन्छ । जुकाको अवस्था र प्रकृतिका आधारमा फरक–फरक औषधिहरू प्रयोगमा ल्याउन सकिन्छ ।