१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कृष्ण रिजाल काठमाडाैं
२०७७ असोज ३ शनिबार १०:३२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राजस्व परिचालन र पुँजीगत खर्च घट्यो, चालू खर्च बढ्यो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
२०७७ असोज ३ शनिबार १०:३२:००

सरकारको कुल आम्दानी १ खर्ब १६ अर्ब पुुग्दा कुल खर्च ७१ अर्ब पुुग्यो, विकास खर्च भने सवा ४ अर्ब मात्रै 

कोरोना महामारीका कारण चालू आर्थिक वर्ष ०७७/७८ को पहिलो दुई महिनाको राजस्व परिचालन र विकास खर्च प्रभावित भएको छ । संघीय सरकारले भदौ मसान्तसम्मको राजस्व परिचालन र पुँजीगत खर्च गत आवको सोही अवधिको तुलनामा कमजोर देखिएको हो ।

चालू आर्थिक वर्षको दोस्रो महिना भदौसम्ममा सरकारको कुल खर्च ७० अर्ब ९७ करोड खर्च गरेको छ भने प्राप्ति १ खर्ब १६ अर्ब ५३ करोड पुुगेको महालेखा नियन्त्रणको कार्यालयले उल्लेख गरेको छ । कार्यालयका अनुसार मसान्तसम्म कुल खर्च वार्षिक लक्ष्यको ४.८१ प्रतिशत र कुल आम्दानी वार्षिक लक्ष्यको १०.८७ प्रतिशत रहेको छ । गत आवको दुुई महिनामा संघीय सरकारको कुल खर्च ५९ अर्ब ४० करोड र कुल आम्दानी १ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो । यो आम्दानी र खर्च उक्त आवको वार्षिक लक्ष्यको क्रमशः ११.६२ प्रतिशत र ३.८८ प्रतिशत हो । 

चालू आवको भदौ मसान्तसम्ममा सरकारले १ खर्ब ५ अर्ब ३८ करोड राजस्व संकलन गरेको छ । जुन कुल लक्ष्यको १०.४२ प्रतिशत हो । सरकारले अघिल्लो वर्षको भदौसम्ममा राजस्व परिचालन भने १ खर्ब २ अर्ब २१ करोड रहेको थियो । जुन गत आवको कुल राजस्व लक्ष्यको ११.३५ प्रतिशत थियो । अघिल्लो आवको भदौसम्मको तुलनामा चालू आवको भदौसम्ममा भएको राजस्व परिचालन दर ०.९३ बिन्दु प्रतिशतले कमी हो ।

संघीय सरकारले चालू आवको भदौ मसान्तसम्ममा ६४ अर्ब ६९ करोड रुपैयाँ चालू खर्च गरेको छ । यो विनियोजित कुल चालू बजेटको ६.८२ प्रतिशत हो । अघिल्लो आवको भदौसम्म भने सरकारले विनियोजित कुल चालू बजेटमध्ये ५.६१ प्रतिशत अर्थात् ५३ अर्ब ६७ करोड खर्च गरिसकेको थियो । सरकारले चालू आवको भदौसम्ममा गरेको चालू खर्चको दर अघिल्लो आवको भदौसम्मको तुलनामा १.२१ बिन्दु प्रतिशतले बढी हो । 

चालू खर्चको दर बढे पनि विकास खर्चको दर भने घटेको छ । चालू आवको भदौसम्ममा सरकारले विनियोजित कुल पुँजीगत बजेटको १.३४ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड रुपैयाँ खर्च गरेको छ । गत आवको भदौसम्ममा भने सरकारले कुल विनियोजित पुँजीगत बजेटको १.३२ प्रतिशतबराबर हुने गरी ५ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेको थियो । यसलाई आधार मान्दा सरकारले चालू आवको भदौसम्म गरेको विकास खर्चको दर अघिल्लो आवको भदौसम्मको तुलनामा ०.०२ बिन्दु प्रतिशतले कमी हो ।

सरकारले भदौ मसान्तसम्ममा ५० अर्ब ७१ करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । उक्त अवधिमा ४७ अर्ब ८३ करोड भन्सार राजस्व संकलन भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए । लक्ष्यको ९४.३३ प्रतिशत हो । महामारीका कारण व्यापार प्रभावित हुँदा राजस्व संकलन कम भएको दाहालले बताए ।

यद्यपि, यस्तो वेलासमेत लक्ष्यको नजिक–नजिक पुुग्नु सन्तोषजनक भएको उनको भनाइ छ । भदौमा २१ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २० अर्ब ८८ करोड उठेको आन्तरिक राजस्व विभागको तथ्यांक छ । जुन लक्ष्यको ९५ प्रतिशत हो । त्यस्तै, साउनमा आन्तरिक राजस्व ३५ अर्ब ९ करोड संकलन गर्ने लक्ष्य राखेकोमा ३४ अर्ब ८६ करोड उठेको थियो ।

जुन लक्ष्यको ९९.३६ प्रतिशत हो । महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण अर्थतन्त्रमा परेको प्रभावका बाबजुद राजस्व संकलन सन्तोषजनक नै रहेको विभागका प्रवक्ता अर्जुन ढकालले बताए ।