मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ३ शनिबार ०९:०६:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आजदेखि १३औँ आइपिएल : तेस्रोपटक आइपिएल खेल्दै सन्दीप

आइपिएल खेल्न सन्दीप युएई पुगिसके

Read Time : > 3 मिनेट
२०७७ असोज ३ शनिबार ०९:०६:००

नेपालका लेग स्पिनर सन्दीप लामिछाने तेस्रोपटक विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० मा पुनः एकपटक भाग्य चम्काउने तयारीमा छन् । आइपिएल खेल्न सन्दीप युएई पुगिसकेका छन् । आयोजक भारतीय क्रिकेट बोर्डले यसपटकको आइपिएल युएईमा गर्ने निर्णय गरेको हो । अहिले सन्दीप ६ दिन क्वारेन्टाइनमा बसेका छन् । छैटौँपटकको कोभिड–१९ रिपोर्ट नेगेटिभ आएमा उनी दिल्ली क्यापिटल्सका खेलाडीसँगै प्रशिक्षणमा उत्रनेछन् । 

दिल्लीले सेप्टेम्बर २० (आइतबार)को दिन किंग्स ११ पन्जाबको सामना गर्नेछ । सन्दीपले पहिलो खेलमै स्थान बनाउन हरसम्भव प्रयास गर्नेछन् । तीन वर्षअघि तत्काल दिल्ली डेयरभिल्सले सन्दीपलाई अक्सनमा २० लाख भारुमा अनुबन्ध गरेको थियो । न्यूनतम बोली लगाउँदै दिल्लीले नेपाली खेलाडी भिœयाएपछि सन्दीपको आइपिएल खेल्ने सपना पूरा भएको हो । 

उनीसँगै अन्य नेपाली क्रिकेटरले पनि आइपिएल खेल्न सक्ने सपना बुने । यद्यपि, सन्दीपबाहेक अन्य नेपालीको आइपिएल खेल्ने सपना अझै पूरा हुन सकेको छैन । यो तीन वर्ष सन्दीपले सबै अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्न भ्याएका छन् । उनी अस्ट्रेलियाको बिग वास, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अफगानिस्तान प्रिमियर लिग, टी–२० ग्लोबल क्यानडा र युएईमा हुने टी–२० लिगका नियमित खेलाडी बनेका छन् । क्रिकेटको अन्तर्राष्ट्रिय डाटा मान्ने हो भने सन्दीप टी–२० लिग खेल्ने व्यस्त क्रिकेटरमा पर्छन् । 

छोटो समयमै विश्वका सबै फ्रेन्चाइज लिग खेल्ने खेलाडीमा सन्दीपको गणना हुन थालेको छ । अहिले सन्दीपले नखेलेका कुनै पनि टी–२० फ्रेन्चाइज लिग छैनन् । धेरैजसो फ्रेन्चाइज लिगमा आबद्ध टोलीले सन्दीपलाई एक अपरिहार्य खेलाडीका रूपमा लिने गरेका छन् । हालै मात्र सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा सन्दीपलाई जमैका तलावाजले एक करोड नेपाली रुपैयाँभन्दा बढीमा अनुबन्ध गर्‍यो । 

यसपटक सिपिएलमा उनले १२ विकेट हात पारे । ग्लोबल स्टारको छवि बनाएका सन्दीपले सिपिएलमा सेमिफाइनलबाहेक सबै खेलमा विकेट लिन सफल भए । सन्दीपले सिपिएलको प्रदर्शन आधारमै आइपिएलमा सहयोग मिल्ने बताएका छन् । ‘यसपटक सिपिएलमा मेरो प्रदर्शन निकै राम्रो भयो, अब आइपिएलमा यही अनुभव प्रयोग गर्नेछु,’ सन्दीपले क्रिकेटिङ नेपालसँग कुराकानी गर्दै भनेका छन् । 

सन्दीप आबद्ध भएको पहिलो सिजनमा दिल्ली प्ले अफमा नपुगेपछि प्रशिक्षक रिकी पोन्टिङले रिजर्भमा रहेका खेलाडीलाई मौका दिए । पोन्टिङले रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा सन्दीपलाई मौका दिए । सन्दीपले डेब्यु गरेको खेलमै सनसनी प्रदर्शन गरे । २.३ ओभरमै सन्दीपले बायाँहाते ब्याट्सम्यान पार्थिव पेटललाई एलबिडब्लूको धरापमा पार्दै डेब्यु खेलमै विकेट लिन सफल भए ।

यही सनसनी प्रदर्शनका आधारमा उनले थप दुई खेलमा मौका पाए । जहाँ उनले प्रशिक्षक तथा आफ्ना समर्थकलाई निराश पारेनन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन । पहिलो सिजनमा सन्दीपले पाँच विकेट लिँदै आफ्नो आइपिएल खेल्ने सपना मात्र साकार पारेनन्, दिल्लीलाई समेत चकित पारे । दोस्रो संस्करणमा सन्दीपले सुरुमै स्थान बनाए । नियमित स्थान नपाएका सन्दीपले ६ खेलमा सात विकेट लिए । 

तीन वर्षअघिका र वर्तमान समयका सन्दीपमा धेरै परिवर्तन आइसकेको छ । अहिले सन्दीप टी–२० फ्रेन्चाइजकै स्टार युवा क्रिकेटरमा पर्छन् । पक्कै पनि दिल्ली क्यापिटल्सका प्रशिक्षक पोन्टिङले आफ्ना नेपाली लेग स्पिनर सन्दीपको पछिल्लो डाटा विश्लेषण गरेको हुनुपर्छ । लगातार तीन सिजन सिपिएलमा अनुभव बटुलेका सन्दीपको यो नै अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । यस्तै प्रदर्शन आइपिएलमा पनि दोहोर्‍याउन चाहन्छन्, सन्दीप । 

सिपिएलको प्रदर्शनलाई आधार मान्ने हो भने सन्दीपले दिल्लीमा स्थान बनाउन त्यति गाह्रो छैन । तर, प्रशिक्षक पोन्टिङसँग एकसेएक तीव्र गतिका र स्पिनर बलर भएको बिर्सन मिल्दैन । दिल्लीसँग भारतीय सिनियर टोलीकै सिनियर स्पिनर अमित मिश्रा, अक्षर पटेल र रविचन्द्रन आश्विन छ । आश्विन यसै सिजनमा दिल्लीमा अनुबन्धित भएका हुन् । यी स्टार खेलाडीलाई कडा टक्कर दिँदै सन्दीपले तेस्रोपटक आफूलाई अब्बल साबित गर्नुपर्नेछ, जसले अगामी दिनमा सन्दीपको आइपिएल खेल्ने यात्रा थप सहज हुनेछ । सन्दीप प्राप्त मौका खेर नफाल्ने बताउँछन् । भन्छन्, ‘आइपिएल हरेक खेलाडीलाई राम्रो प्लेटफर्म हो, जहाँ मौका मिल्दा राम्रो प्रदर्शन गर्नुपर्छ, मेरो प्रयास भनेको नै चुनौतीका साथ उत्कृष्ट प्रदर्शन गर्ने हो ।’ प्रशिक्षकले अवस्थाअनुसार खेलाडी छनोट गर्ने हुँदा सुरुवातमै पर्ने वा नपर्ने भन्न नसकिने उनको भनाइ छ । 

आजदेखि आइपिएल

साबिक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किंग्सबीचको खेलसँगै शनिबारदेखि १३औँ आइपिएल सुरु हुनेछ । दर्शकरहित हुने प्रतियोगितामा सहभागी आठै टोलीले उपाधिको दाबेदारी दिनेछन् । कोभिड–१९ को प्रभावका कारण यसपटक विजेता धनराशिमा ५० प्रतिशत कटौती भएको छ । यसपटकको विजेताले १० करोड भारु पाउनेछ । यसैगरी, उपविजेताले ६.२५ करोड भारु जित्नेछ । प्ले अफमा पुग्ने दुवै टोलीले जनही ४ करोड ३७ लाख भारु प्राप्त गर्नेछन् । 

आइपिएलमा मुम्बई इन्डियन्सले चारपटक उपाधि जितेको छ । मुम्बई पाँचपटक फाइनल पुग्दा चारपटक च्याम्पियन बनेको छ । त्यसपछि चेन्नई धेरै ट्रफी जित्ने टोलीमा पर्छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले अहिलेसम्म तीनपटक उपाधि उचालेको छ । 

धोनीले चेन्नईलाई पाँचपटक उपविजेता बनाए । आइपिएलको पहिलो संस्करण विजेता राजस्थान रोयल्स हो । यसैगरी, डेकन चार्जर्स र सनराइजर्स हैदराबादले एक–एकपटक उपाधि उचाले । लगातार १२ सिजनसम्म सहभागी भएको दिल्ली मात्र यस्तो टोली हो, जसले एकपटक पनि उपाधि उचाल्न सकेको छैन । आइपिएलमा धेरै शतक बनाउने खेलाडी क्रिस गेल तथा धेरै विकेट लिने श्रीलंकाली लसिथ मालिंगा हुन् । व्यक्तिगत कारणले मालिंगा यसपटक आइपिएलमा छैनन् ।