मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ असोज ३ शनिबार ०३:१४:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रेलको स्वागत, सेवाको पर्खाइ 

Read Time : > 4 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असोज ३ शनिबार ०३:१४:००

शुक्रबार १२ बजेसम्म रेल आउने हल्लाले बिहान ९ बजेदेखि नै जनकपुरस्थित रेल्वे स्टेसनमा सर्वसाधारणको घुइँचो थियो । सबै उमेर समूहका सर्वसाधारण लिकनजिकै बसेर रेल आउने बाटो हेरिरहेका थिए । भिड देखेर स्थानीय प्रशासन पूरै सतर्क थियो, तीन सय सुरक्षाकर्मी परिचालन थिए । धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेत र सशस्त्र प्रहरी उपरीक्षक नागेन्द्र सेन आफँै सुरक्षा व्यवस्थापनमा जुटेका थिए । 

भिडमा भेटिएका जनकपुरधाम उपमहानगरपालिका– ३ का ३० वर्षीय राजीव थापा उत्साही देखिन्थे । ‘बिहानै ९ बजेदेखि नै साथीहरू मिलेर आएका हौँ । सानो हुँदा रेल चढेर पटक–पटक जयनगरसम्म जान्थँे । नयाँ रेल कस्तो रहेछ भनेर हेर्न आएको छु,’ उनले भने, ‘अब आफ्नै मुलुकमा ब्रोडगेज रेल चढ्न पाइने भयो ।’ तर, रेल चल्ने मितिको टुंगो लागेको छैन । 

रेल्वे स्टेसन पुगेका सर्वसाधारणले चार–पाँच घन्टा कुरेपछि दुईवटा रेल शुक्रबार दिउँसो जनकपुर आइपुगे । बिहान करिब साढे ११ बजे जयनगरबाट जनकपुरका लागि प्रस्थान गरेका दुवै रेल दिउँसो पौने २ बजे जनकपुर रेल्वे स्टेसन आइपुगेका थिए । हर्न बजाउँदै रेल आएपछि सर्वसाधारणले हात हल्लाए अनि स्वागत गरे । खुसी भएर ताली पिटे र सेल्फी लिन व्यस्त रहे । 

चालक दलसहितका कर्मचारी नेपालमा रेलको भव्य स्वागत देखेर चकित भए । भारतीय रेलचालक विभाव र एसके यादवले रेल चलाएर ल्याएका थिए । नेपाल सरकारले भारतबाट जिटुजी प्रक्रियाबाट भारत सरकारकै स्वामित्वको कोंकेन रेल्वे कर्पोरेससँग रेल किनेको थियो । तिनै दुई रेल जनकपुर आएका हुन् । रेललाई नेपालकै झण्डाको रङमा पेन्ट गरिएको छ । यसले रेल आकर्षक देखिएका छन् ।

जनकपुर पुगेपछि कम्पनीका वरिष्ठ मेकानिकल इन्जिनियर दीपक त्रिपाठी र परियोजना प्रबन्धक जिभी नागेन्द्रले दुई रेलका कागजात नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र नेपाल रेल विभागका सिनियर इन्जिनियर देवेन्द्र साहलाई हस्तान्तरण गरे । हस्तान्तरणपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालसहित जिल्ला सुरक्षा निकायका अधिकारीले जनकपुर स्टेसनबाट कुर्थासम्म रेल चढेर अनुगमन तथा निरीक्षण गरे । 

रेल आए पनि ती तत्काल जनकपुरमा बस्ने छैनन् र सञ्चालनमा आउन केही समय लाग्नेछ । तत्काल सञ्चालनको अवस्था नरहेकाले दुवै रेललाई जयनगरस्थित नेपाली स्टेसनमा पु¥र्याइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले जानकारी दिए । जयनगरमा तत्काल भारतीय पक्षकै रेखदेखमा रेल रहने उनले बताए । 

रेलमार्ग र रेल तयार भए पनि तत्काल सञ्चालन हुने छैनन् । विवाहपञ्चमी (पुस ४) सम्म रेल नियमित रूपमा सञ्चालनमा आउन सक्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । नेपाल–भारत क्रस बोर्डर रेल सञ्चालन हुने भएकाले कोरोना महामारीका वेलामा तत्काल रेल सञ्चालनको अवस्था नरहेको रेल्वे कम्पनीको भनाइ छ । ‘एक महिनाभित्र सञ्चालन गर्न सकिन्छ । तर, नेपाल–भारत क्रसबोर्डर चल्ने भएकाले सञ्चालनमा केही ढिलाइ हुन्छ,’ महाप्रबन्धक भट्टराईले भने ।

भारतको सहयोगमा निर्माण भइरहेको जनकपुर–बर्दिबास रेलमार्गको पहिलो चरणमा जयनगर–जनकपुर–कुर्था ३४ किलोमिटर रेल सञ्चालनको तयारी छ । दोस्रो चरणमा कुर्थादेखि बिजलपुरासम्म १८ किलोमिटरमा सञ्चालन गरिनेछ, जहाँ अहिले रेलमार्ग निर्माण जारी छ । त्यस्तै, बिजलपुरा–बर्दिबास १७ किलोमिटरसम्म रेल्वे लिकका लागि सर्भे भई जग्गा अधिग्रहण प्रक्रिया थालिएको रेल्वे विभागका जनकपुर–बर्दिबास साइट इन्जिनियर विनोद ओझाले बताए ।

रेल परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० भारतीय प्राविधिक जनकपुर आइपुगेका छन् । उनीहरूमध्ये केही फर्किनेछन् भने केही रेलसँगै जयनगरमै बस्नेछन् । प्रशासनिक कर्मचारी नेपाल र प्राविधिक कर्मचारी भारतीय नै राखेर तत्काल रेल चलाउने तयारी छ । भारतीय कर्मचारी राख्ने विषयमा नेपाल र भारतबीच सम्झौताको गृहकार्य जारी छ । ‘सम्झौतापत्र भारतीय पक्षले तयार गरिरहेका छन्, त्यसमा दुवै पक्षबीच छलफलपछि सहमति हुनेछ,’ महाप्रबन्धक भट्टराईले भने । 

यता रेल विभागले कर्मचारी भर्नाको प्रक्रिया सुरु गरेको छ । विभिन्न २९ पदमा एक सय २९ जनाको विज्ञापन गरिएको छ । यसअघि रेलचालकसहित २६ जना प्राविधिक कर्मचारीका लागि विभागले सूचना प्रकाशित गरे पनि कसैको दरखास्त परेको थिएन । त्यसपछि भारतबाटै प्राविधिक कर्मचारी ल्याउने र उनीहरूकै सहयोगमा नेपालीलाई तालिम दिएर सक्षम बनाउने तयारी थालिएको हो । ऐन संसद्मा रहेकाले तत्काल रेल सञ्चालन ऐन अध्यादेशबाट ल्याएर चलाउने तयारी छ । 

रेल्वे सञ्चालक समितिले रेलको टिकटको मूल्य निर्धारण गरी स्वीकृतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ । भाडादर मन्त्रालयबाट स्वीकृत हुन बाँकी छ । महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३ सयसम्म छ । त्यसैगरी, प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा ५ गुणा बढी भाडा तोकिएको उनले बताए । एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्नेछ । दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए । 

कुर्थादेखि जयनगरसम्म ५ वटा स्टेसन जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था छन् । तीनवटा हल्टहरू जनकपुर, मैनाथपुर र परवहा रहेका छन् । स्टेसनमा एकभन्दा बढी रेल्वे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्रै हुनेछ ।

स्टेसन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए । टिकटसम्बन्धी सफ्टवेयर निर्माणको कार्य भइरहेको उनले बताए । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घन्टा लाग्ने रेललाई ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । 

भारतलाई उपनिवेश बनाएका वेला ब्रिटिस शासकले विक्रम संवत् १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेका थिए । पछि ती रेल नेपाललाई जिम्मा दिइएको थियो । नेपालले ती रेलमा यात्रु ओसारपसार गरेको थियो । तर, ०५९ मा आएको बाढीले जीर्ण अवस्थामा रहेको महोत्तरीको विग्ही नदीको पुल भत्काइदियो । त्यसपछि रेल जनकपुर–जयनगर २९ किलोमिटरमा सीमित भयो ।

मर्मतसम्भारको अभाव र राजनीति दलले कार्यकर्ता भरणपोषणको केन्द्र बनाएपछि सेवा विस्तार बिस्तारै बन्द हुँदै गयो । पटक–पटक लिक छाड्ने तथा दुर्घटनामा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नति गर्ने प्रयास सुरु भयो । यसका लागि भारत सरकारसँग आग्रह गरियो । अनि ०७१ माघदेखि उक्त सेवा पूर्ण रूपमा बन्द गरी स्तरोन्नतिको काम हुँदै आएको थियो । त्यही स्तरोन्नति गरिएको लिकमा नयाँ रेल चलाउने तयारी भएको हो ।

रेलमा कस्ता छन् सुविधा ? 

कम्पनीले डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भएका रेल डिजेल र विद्युत् दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका रूपमा तयार गरिएको दाबी गरेको छ । डिपिसी १९०१ र डिपिसी १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका छन् । 

प्रतिघन्टा ११० किलोमिटरको गतिमा चल्न सक्ने रेलमा एक हजार तीन सय सिट क्षमता छ । एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउट बोगी (डब्बा)मा ७० सिट छन् । २० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र दुई जनरल बोगी छन् । 

प्रतिकिलोमिटर दुई लिटर डिजेल खपत हुने रेलमा आवश्यकताअनुसार थप चारवटा बोगीसम्म जोड्न सकिने निर्माण कम्पनीको दाबी छ । नेपाललाई लक्षित गरी बनाएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कम्पनीका मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले बताए । 

दुवै फरक र आकर्षक मोडेलका रेल रहेको तथा गति र क्षमता राम्रो रहेको मेकानिकल इन्जिनियर त्रिपाठीले बताए । ‘यसको स्पिड र लोड बोक्ने क्षमता धेरै राम्रो छ । नेपालका लागि हामीले स्पेसल रेल डिजाइन गरेका छौँ,’ उनले भने, ‘यात्रीलाई झोला राख्न सजिलो हुने डिजाइन बनाइएको छ ।’ 

प्रत्येक बोगीमा शौचालय छ । एसीबाहेक अन्य जनरल बोगीमा ठाउँठाउँमा पंखा लगाइएको छ । यात्रुबाहक रेल भएकाले सामान ओसारपसार गर्न भने मिल्नेछैन । ‘मालसामान ओसारपसार गर्न मिल्दैन । पूर्णतः यात्रुबाहक रेल हुन्,’ इन्जिनियर त्रिपाठीले भने ।

भिडियो रिपोर्ट हेर्नुहोस्>>>