१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज २ शुक्रबार १७:३३:००
Read Time : > 5 मिनेट
फिचर डिजिटल संस्करण

कोरोनाले सिकाएको कृषिकर्म [तस्बिरसहित] 

Read Time : > 5 मिनेट
२०७७ असोज २ शुक्रबार १७:३३:००

कोरोना महामारीले धेरै क्षेत्रमा तहसनहस पारेको छ । उद्योगधन्दा ठप्प हुँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । मानिसको दैनिकीमा परिवर्तन ल्याएको छ । साना व्यवसायदेखि ठूला रोजगारीबाट सिर्जना गर्नेको अवस्था नाजुक हुँदै अधिकांशको दैनिकी खराब भइरहेको छ । यस्तो अवस्थामा बुटवल-१३ बेलवासका महिलाको दैनिकी भने भिन्दै छ । लकडाउनको समयलाई सदुपयोग गर्दा उनीहरू मुलुककै उदाहरण बन्नेतर्फ अग्रसर छन् । 

लकडाउनमा स्थानीय अगुवा महिलाले एक–आपसमा सानो समूह बनाएर समयको सदुपयोग गर्दै एकैपटक दुई–तीनवटा काममा हात हालेका छन् । उनीहरूले तरकारीका बिरुवा उत्पादनदेखि तरकारी तथा फलफूल खेती र जैविक विषादीको उत्पादनसम्मका काममा हात हालेका छन् । 

महिलाहरूका यी काम कौसी खेती (घरको छत तथा घरको वरिपरि गरिने खेती)लाई उत्प्रेरणा जगाउने खालको छ । आजभोलि घरका छत र घरवरिपरि तरकारी लगाउन चाहनेहरू बेलवासमा धाउन थालेका छन् । घरभित्रको काम सकेर बिहानैदेखि काममा खटिनेहरू राजनीतिक तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेका महिला छन् । राजनीतिक दलका जिल्ला नेतादेखि सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका महिलासमेत यी काममा खटेका छन् । 

घरका दलान नर्सरीका बिरुवाले भरिभराउ

इच्छाशक्ति भए सानो ठाउँमा पनि ठूलो काम गर्न सकिन्छ । कामको सुरुमा घरघरका पेटी तथा दलानहरूमा बिरुवाका नर्सरी बनाएर काम थालेका महिलाले छोटो समयमा व्यावसायिकता हासिल गर्न थालेका छन् । ‘सुरुमा पाँच सय बिरुवा तयार भएका थिए, बिक्री गर्न एक साता पनि लागेन, खोसाखोस भए,’ उर्वरशील महिला कृषक समूहकी सदस्य शान्ता घिमिरेले भनिन् ।

उनीहरूले तरकारीदेखि फलफूलका बिरुवाको नर्सरी बनाएका छन् ।  घरका पेटी तथा दलानमा राखिएका नर्सरीमा बिरुवा उमारेका छन् । तिहारमा तयार हुने गरी फूलका बिरुवा लगाएका छन् । सानोसानो काममा हात हालेर लकडाउनको समय सदुपयोग गरेका महिला केही महिनामै  व्यावसायिक रूप ग्रहण गर्दै ठूलै कामतर्फ अग्रसर छन् । 

‘व्यवसाय विस्तार भएकाे छ, जग्गा भाडामा लिएर नर्सरी तयारी गर्दै छौँ,’ मध्याह्न खेतमा काममै खटिएको अवस्थामा भेटिएकी समूहकी अध्यक्ष मधुकला कुँवरले भनिन् । ‘लकडाउनको समयलाई सदुपयोग गर्दै ससाना काममा हात हालेको कामले व्यावसायिक रूप ग्रहण गरेपछि समूहका सबैमा उत्साह थपेको छ,’ कुँवरले भनिन्, ‘दैनिक पसिना बगाउँछौँ, एकातिर शरीर स्वस्थ भएको छ भने अर्कोतिर आम्दानीका स्रोत बढाएको छ ।’ 

विषादी र मल पनि उत्पादन 

तरकारी तथा फूल खेतीमा व्यस्त महिलाले अर्गानिक उत्पादनका लागि विषादी र मल उत्पादन पनि थालेका छन् । यसका लागि अर्को एउटा समूह लागेको छ । जसको अगुवाइ सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य रिता घिमिरेले गरेकी छिन् ।  

लुम्बिनी जैविक विषादी तथा एग्रो संस्थामार्फत जैविक विषादी र भिटामिनको उत्पादन गरिएको छ । पहिलो चरणमा दुई हजार लिटर उत्पादन भइसकेको छ भने यसै वर्ष थप पाँच हजार लिटर उत्पादन गर्ने लक्ष्य लिइएको छ । एक लिटर विषादीको दुई सय रुपैयाँ र एक लिटर भिटामिन (जीवतत्व) को मूल्य दुई सय ५० रुपैयाँ तोकिएको छ । 

एक लिटरमा तीन लिटर पानी मिसाएर प्रयोग गर्न सकिने र एक बालीमा तीनदेखि चारपटकसम्म प्रयोग गर्दा कीटाणु तथा रोग नलाग्ने र राम्रो उत्पादन हुने संस्थाकी अध्यक्ष घिमिरेले बताइन् । बुटवल बजारमा बस्नेदेखि विभिन्न स्थानका मानिसले आफूहरूले बनाएको विषादी तथा भिटामिन प्रयोग गरेको उनको भनाइ छ । 

यसरी बनाइन्छ विषादी

विषादी बनाउन गाैमूत्रमा मात्रा मिलाएर निम, तितेपाती, बनमारा, रुदिलो, बोकेजाम्नो, खुर्सानी, भेलीलगायत एक दर्जन वनस्पतिको प्रयोग गरिन्छ । विभिन्न बिरुवाका पातमा खुर्सानी र भेली मिसाएर प्लाष्टिकको ट्यांकीमा राखिन्छ । करिब २५ दिनमा गलेपछि विषादी तयार हुन्छ । तयार भएको विषादीलाई बोतलमा राखिने र ग्राहकलाई उपलब्ध गराउन सकिने उनले बताइन् । भारतको कर्नाटकमा सुभाष पालेकरले यसरी नै सुरु गरेको जिरो लगानीको कृषि सफल भएजस्तै यसलाई पनि सरकारले प्राथमिकता दिने हो भने निश्चित क्षेत्रलाई अर्गानिक क्षेत्र तोकेर उत्पादन गर्न सकिने विश्वास उनीहरूको छ ।

माटो  किलोकाे २५ रुपैयाँ

यहाँका महिलाहरूले बिरुवा मात्र उत्पादन गर्दैनन्, बिरुवा हुर्काउन आवश्यक मलिलो माटोसमेत तयार गर्छन् । महिलाले सानासाना गमलामा माटो राखेर लगाउन मिल्ने बिरुवा सार्छन् र बिक्री गर्छन् । 

कसैले माटो मात्रै लैजान चाहे प्रतिकिलो २५ रुपैयाँमा उपलब्ध गराउँछन् । सहर–बजारका घरका कौसीमा तथा गमलामा राख्न मिल्ने मलिलो माटोले उत्पादन बढाउने उनीहरू बताउँछन् । सहरबजारमा कौसी तथा गमलाखेती हुने भएपछि सहरबजारका बासिन्दाको रोजाइमा यी महिलाको सिर्जना पर्न थालेको छ। 
यसरी सुरु भयो डाइटरी सप्लिमेन्टदेखि महिला रोजगार बनाउने अभियान 

कोरोना महामारी विश्वभरि फैलिँदै गएपछि विभिन्न मुलुकको जनजीवन अस्तव्यस्त भइरहेका खबर नजिकबाट नियालिरहेका बुटवलका पत्रकार डिआर घिमिरे कोरोनाकै कारण नेपालमा पनि लकडाउन भएपछि अबको जीवनशैलीलाई कसरी व्यविस्थत गर्ने  भन्ने चिन्तनमा लागे । 

इन्टरनेटमार्फत विभिन्न विषयमा अध्ययन गरे । लकडाउनको समयलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने चिन्तनमा लागेपछि उनको मनमा दुई–तीनवटा कुरा पलाए । कोरोनाको उपचार तत्काल नदेखिएको, तर जडीबुटी अर्थात् आयुर्वेद पद्धतिले सकारात्मक प्रभाव पारेको कुराले उनलाई छोयो ।

उनले नेपालमा खेर गइरहेको र प्रशस्त पाइने जडीबुटीको उपयोग गर्दै केही काम गर्न पाए राम्रो हुने ठाने । विभिन्न निकाय तथा विभिन्न पक्षसँग कुरा गरे, तर उनले सोचेअनुरूप काम अगाडि बढाउन कानुनी झन्झटदेखि विभिन्न समस्या देखे । 

तत्पश्चात् विकल्प खोन्दै जाँदा उनले रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘आहारपूरक’ उत्पादन गर्ने सोच बनाए भने अर्कोतर्फ स्थानीयलाई बढीभन्दा बढी रोजगारीमा आबद्ध गराउने गरी बिरुवा उत्पादन तथा खेतीमा आबद्ध गराउने सोच अगाडि सारे । अहिले उनले सारेका यी सोचको प्रतिफल महिलाले निकाल्न थालेका छन् भने आहारपूरकको उत्पादनमा छरितो टिम बनाएर आफैँ लागेका छन् । 

उनीसँग यस्ता दर्जन योजना छन् जसलाई स्थानीय तहले साथ दिने हो भने एउटा सिंगै वडालाई नमुना बनाएर घरघरमा उद्यमशीलताको विकास गर्न सकिने विश्वास छ । जडीबुटीबाट ५ नं. प्रदेशमा तत्काल पाँच सयलाई रोजगारी सिर्जना गर्न सकिने र दुई वर्षमा दुई हजारलाई रोजगारी सिर्जना गर्न सकिने योजना पनि उनले बनाएका छन् । यसका लागि उनको एउटै गुनासो छ- प्रदेश तथा स्थानीय सरकारले सहजीकरण नगरेसम्म केही गर्न सकिँदैन ।

के हो डाइटरी सप्लिमेन्ट  उत्पादन ?

आहारपूरक अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउने खुराक । यसमा हालका लागि चारवटा उत्पादन छन् । ‘३५ प्रकारका जडीबुटीको मिश्रण गरेर बनाइने सुत्केरी मसला न्युट्रामा, ४० वर्षभन्दा माथिकालाई उपयोगी न्युट्रा एज, पेयपदार्थको रूपमा न्युट्रा टनिक चिया र न्युट्रा चियाको पनि पहिलो चरणमै उत्पादन हुँदै छ । हाल जिएमपीको प्रक्रियामा रहेको सो उद्योगले एक महिनाभित्र प्रक्रिया पूरा गरेर बजारमा आउँदै छ ।  घिमिरे भन्छन्, ‘यी सबै उत्पादनले शक्ति प्रदान गर्ने र शरीर तन्दुस्त राख्न मद्दत मिल्छ ।’

आहारपूरकको उत्पादनका लागि उनले यस क्षेत्रका विशेषज्ञ डा. दीपक धितालसहित ६ जनाको सहकार्यमा काम अगाडि बढाएका छन् । आयुर्वेद डाक्टरको संलग्नतामा काम अगाडि बढाइएको भन्दै उनले परम्परागत ज्ञान सीपको सदुपयोगदेखि आयुर्वेद डाक्टरको ज्ञानलाई उपयोग गर्दै काम अगाडि बढाएको बताउँछन् । समुद्र जोडिएका मुलुकले समुद्री खाना खान्छन् भने हामीले जडीबुटीलाई नियमित खाद्यान्नको रूपमा प्रयोग गर्नुपर्छ ।

न्युट्रा एग्रो इन्डष्ट्री नाम दिइएको यस उद्योगबाट छिट्टै उत्पादन सुरु गरिने उनको भनाइ छ । बुटवल- १३ बेलवासमा रहेको यस उद्योगका लागि आवश्यक मेसिनरी सामान जडान गरी, यसको उत्पादनको ल्याव परीक्षणदेखि अन्य काम अगाडि बढाइएको छ । 

हरेक पालिकामा अभियान थाल्न सुझाब

कोरोना महामारीका कारण स्वदेशमा रहेका मात्रै हाेइन विदेशमा रहेका हजारौँ नेपालीले रोजगारी गुमाएका छन् । जसका कारण कैयौँका घरपरिवारमा दैनिक गुजारा चलाउन कठिन हुन थालेको छ । यस्तो अवस्थामा उत्पादनसँग जोडिएका साना–साना कामलाई अब सबै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकादेखि महानगरपालिकासम्मले अभियान चलाउनुपर्ने सुझाब घिमिरेको छ ।

‘एउटा पालिकाले कुनै स्थानमा सय बिघासम्म जग्गामा तत्काल अर्गानिक उत्पादनको अभियान परीक्षणका रूपमा थालेमा रोजगारीका अवसरहरू सिर्जना हुन थाल्छन्, यसबाट राम्रो परिणाम निस्किने हुँदा यसलाई विस्तार गर्दै जाँदा हजारौँलाई रोजगारी दिन सकिन्छ, उत्पादन बढ्दै जाँदा मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ,’ घिमिरे भन्छन् । 

उनले आफ्नो सोचबारे प्रदेशका मुख्यमन्त्रीदेखि विभिन्न पालिकाका प्रमुखहरूसँग छलफल गरेको बताउँछन् । यस्ता काम गर्नेहरूका लागि प्रोत्साहन गर्ने नीति तीनवटै तहका सरकारको हुनुपर्नेमा उनको जोड छ । आत्मनिर्भर हुने गरी स्वरोजगारमूलक तथा उत्पादनमा जोडिन चाहनेहरूलाई सहज वातावरण हुनुपर्नेमा उनले जोड दिए । तर, तीन तहका सरकारबीच कताकता तालमेल नमिलेको हो कि जस्तो पनि लाग्ने गरेको भन्दै उनी थप्छन्, ‘अब यस किसिमका काम अगाडि बढाउन तीन तहकै सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’ 

आएन  संघीयता

हामीले संघीयताको यति ठूलो अभ्यास गर्दै छौँ, तर स्वीकृत लिन केन्द्रमै जानुपर्ने कुराले संघीयता नआएको अनुभव पनि उनले गरेका छन् । हालका लागि यो सानो उद्योग हो, तर केन्द्र धाउनुपर्ने अवस्थाले सोचेको समयमा काम गर्न नसकिने घिमिरेको भनाइ छ । जता गयो उतै कानुनी जटिलताले घेरिनुपर्ने, कर्मचारीको मनोविज्ञान सहजीकरण हाेइन अप्ठ्यारो  मात्र देखाएर हतोत्साही पार्ने कुराले चुनौती थपिएको निष्कर्ष पनि उनले निकालेका छन् ।