१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ असोज २ शुक्रबार १५:४९:००
Read Time : > 1 मिनेट
फिचर डिजिटल संस्करण

हरेक चुनावमा चर्कने कुदुको खानेपानी समस्या कहिलेसम्म नारामै सीमित रहला ? 

Read Time : > 1 मिनेट
२०७७ असोज २ शुक्रबार १५:४९:००

घरआँगनमै मौसमअनुसारको शक्ति प्रदर्शन गर्ने छेउमा बग्ने भेरी नदीले कुदुवासीको तिर्खा भने मेट्न सकेको छैन । 

जाजरकोट सदरमुकामदेखि रुकुम पश्चिम जाने मूलबाटोकाे रूपमा रहेको भेरी नगरपालिका– १३ कुदु, छिन्चु–जाजरकोट हुँदै डोल्पा जाने मुख्य सडकले औगटेको भूभाग पनि हो । मध्यपहाडी लाकमार्गले समेत कुदुलाई अँगालो हालेर जगतीपुर हुँदै दैलेख जोड्ने गरी काम जारी छ ।

दुई सयभन्दा बढी घरधुरी रहेको कुदु सडकको हबको रूपमा स्थापित भए पनि खानेपानीको अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ । नजिकै भेदी नदी, समथर भूभाग भए पनि सिँचाइको अभावमा खेतीयोग्य जमिनमा अपेक्षित उत्पादन हुन सकेको छैन । 

प्रत्येक दिन भेरी नदीको किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आएकी काली विक पानीको दुःखले दिक्क भइसकेको बताइन् । उनी भन्छिन्, ‘फोहोर पानी पिउँदा हप्तामा एकपटक परिवारका सदस्य बिरामी हुन्छन्, जानेरै फोहोर पानी पिउन बाध्य छौँ ।’ 

आँखाले सङ्लाे  देखिने पानीलाई सफा भनेर पिउँदै आएका जाजरकोट कुदुका सार्वसाधारणले पानीका लागि धेरै ठाउँमा गुहार मागे । खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट पनि नहुँदा कुरा मात्र कति सुनाउनु भन्दै दिक्क लागेको कुदुका रविन विकले बताए । उनले भने, ‘भेरीकाे भेलमा हामीले पानी भरेर ल्याएको तपाईंहरूले देख्नुभएको छ, यसको फोटो खिचेर नेताहरूलाई जसरी नि देखाइदिनुहोला ।’

यही गाउँबाट प्रतिनिधित्व गर्ने अधिकांश नेता केन्द्रीय राजनीतिमा छन् । वर्षौंदेखि आफूहरूले राखेको सानो खानेपानी माग पूरा नहुँदा सर्वसाधारण निराश छन् । 
कुदुमा पानीको समस्या नौलो नभएको बताउँछन् स्थानीय शेरबहादुर बस्नेत । भेरी नगरपालिकाले ५० लाख लगानीमा निर्माण भएको बोरिङ मेसिनबाट पानी निकालेर वितरण गर्छ । तर, त्यो पानी १ घन्टा पनि आउँदैन । र, त्यो पनि बिजुली आएको वेला मात्र सञ्चालन हुन्न्छ । गाउँमा बिजुली आउने, जानेको कुनै भर हुँदैन।

एक घन्टा मात्र आउने पानीले कुदुका सर्वसाधारणलाई छेउ, टुप्पो केही नपुग्ने उनीहरूको प्रतिक्रिया छ । झन्डै दुई सयभन्दा बढी घरधुरी रहेको कुदुमा यो पानी हातीमा मुखमा जिरा भएको स्थानीयवासी बताउँछन् । 

सिँचाइ भए जिल्लालाई खाद्यान्न आपूर्ति हुने 

भेरी नगरपालिका १३ कुदुमा जिल्लाको सबैभन्दा ठूलो खेतीयोग्य फाँट भए पनि आकाशे पानीको भरमा यहाँका कृषकहरू खेती गर्दै आएका छन् । पिउने पानी नभएको ठाउँमा सिँचाइको सुविधा हुनु यहाँका लागि टाढाको कुरा हो । सयौँ बिघा जमिन आकाशेपानीको भरमा खेती गर्दा अपेक्षित मात्रामा उब्जाउ हुन नसकेको स्थानीयवासी गुनासो गर्छन् । 

भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सकेको भए  पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने कृषकहरू समन्वय समितिका प्रमुख मनबहादुर रावल बताउँछन् । नजिकै रहेको भेरी नदीको पानी सदुपयोग हुन सकेको छैन । यसबारे जिज्ञासा राख्दा सिचाँइका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले विस्तृत योजनाको खोजीमा रहेको भेरी नगरपालिका बताउँछ । हरेक चुनावमा चर्को नारामा समेटिने कुदुको खानेपानी र सिचाँइ योजना अझै कतिसम्म नारामै सीमित रहन्छ होला ?