१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मिलन पाण्डे काठमाडाैं
२०७७ असोज २ शुक्रबार ०८:५५:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपालले संसारलाई के दिन सक्छ ?

अग्रलेख

Read Time : > 6 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७७ असोज २ शुक्रबार ०८:५५:००

नेपालले संसारलाई धेरै थोक दिन सक्छ, तर त्यसका निम्ति नेपालले आफ्नो गुमेको आत्मविश्वास फर्काउन जरुरी छ

कतारमा ग्यास र तेलको अभाव छैन, तर शुद्ध पिउने पानीको भने अभाव थियो । दुई वर्ष पनि भएको छैन, कतारले नेपालसँग शुद्ध खानेपानी नेपालबाट कतार लानेबारे छलफल चलाएको । त्यो संवाद कहाँ पुग्यो, मलाई थाहा छैन, तर कतार भने अब शुद्ध खानेपानीमा संसारलाई उछिन्दै पहिलो स्थानमा पुग्दै छ । हाम्रोजस्तो शुद्ध पानीको मुहान कतारमा छैन । समुद्रको पिउन अयोग्य पानीबाट नुनलगायत पदार्थ प्रशोधन गरेर मात्र पिउने पानी बनाउनुपर्छ । यो त्यति सहज प्रक्रिया होइन । तर, कतार यो काममा पनि सफल भएको छ । कतारसँग स्रोत–साधन भएर मात्र यी कुरा सम्भव भएको होइन । कतारको इच्छाशक्तिको कारण यो सम्भव भएको हो । अबको केही दिनमा हाम्रा डिपार्टमेन्ट स्टोरमा कतारको पानी बेच्न राखिनेछ । अनि, हामीलाई यी ब्रान्डेड पानी किनेर खान लज्जाबोध हुनेछैन । 

हामीलाई लाग्छ, नेपाल सधैँ गरिब थियो । तर, यो सत्य होइन । इतिहासबारे प्रा.डा. चैतन्य मिश्रले उठाउने तर्क अनि तथ्यसँग सहमत नहुनुपर्ने कारण देखिँदैन । हामी नेपाल सधैँ गरिब थियो भन्ने मानसिकतासहित हुर्केका छौँ । हामीलाई लाग्छ, हामी समृद्ध हुनै सक्दैनौँ । त्यो वेला नेपालसहित सम्पूर्ण क्षेत्र नै समृद्ध थियो । खस, मल्ल र सेन राज्यका वेला, जुन सायद नेपालको सबभन्दा समृद्ध समय थियो । १३ देखि १५औँ शताब्दीमा पूरै नेपाल त भन्न नमिल्ला, तर काठमाडौं विकसित मुलुकको हैसियतमा थियो । संसारका उच्चतम विकास भएका स्थानमध्ये काठमाडौं एक थियो । यो हाम्रै इतिहास हो । यो इतिहासले हाम्रो गौरवको गाथा बोलेको छ । हामी फेरि पनि सक्छौँ भनेर हाम्रा निम्ति ऊर्जा बनेको छ ।

काठमाडौंमा देखिने यी सारा वैभव काठमाडौंको मठ, मन्दिर, कला, सम्पदा देख्दा त्यो वेला नै हाम्रो सहरी विकासको चेत कति उच्चकोटीको रहेछ भनेर अनुमान लगाउन सकिन्छ । हामीसँग भएको स्रोत–साधन, कलाकार, जनशक्तिबारे गर्व गर्न सक्छौँ । हामीले हाम्रो विगतबाट ऊर्जा लिन सक्ने हो भने हामी फेरि उठ्न सक्छौँ भन्ने अठोट गर्न सक्छौँ । हाम्रो यही भूमिबाट हाम्रै गुरुहरू विभिन्न विद्या सिकाउन भारत अनि तिब्बत जाने गरेको पढेका अनि सुनेका छौँ । विगत तीन सय वर्षमा मात्र हामी अलि पछाडि परेका हौँ । सन् १७ सयपछि यो क्षेत्र ओरालो लागेको हो । तर, फेरि अहिले भारत अनि चीन जुर्मुराउँदै विश्वलाई फेरि यही शक्तिशाली क्षेत्रमा केन्द्रित गर्दै छन् । तर, नेपाल भने अघि बढ्न सकेको छैन । चीन १९७८ बाट अनि भारत १९९० बाट आर्थिक रूपमा अघि बढ्यो । त्यति वेलासम्म पनि हाम्रो आर्थिक वृद्धिदर उनीहरूको भन्दा निकै कम थिएन । तर, हामी त्यो बिन्दुबाट पछि पर्दै गयौँ ।

हामीले के बुझ्न जरुरी छ भने चीन र भारत समृद्ध रहने अनि नेपाल गरिब रहने हुन सक्दैन । विकास क्षेत्रीय रूपमा अघि बढ्ने गर्छ । भारत र चीनको विकास तीव्र हुँदै जाने हो भने र हामीले त्यो वृद्धिसँग प्रतिस्पर्धा गर्न नसक्ने हो भने हाम्रा निम्ति ठूला संकट आउन सक्ने सम्भावना छ । हाम्रो देशकै अस्तित्वमै प्रश्न आउँदै जाने छ । तसर्थ, अब नेपालका निम्ति चुनौती हाम्रा पहाडभन्दा अग्ला भएर आउँदै छन् । हामीले हाम्रो अस्तित्व जोगाउन पनि हाम्रो नेपालको पहिचान निर्माण गर्न जरुरी छ । नेपालले दुई देशसँग समन्वय गर्न सक्ने हो भने यो अवस्था हाम्रा लागि अवसर हो । प्रत्येक दिन नेताको कर्तुत सहँदै देशको दुर्गतिमा साक्षी बनेर हामीले देशको अस्तित्व रक्षा गर्न सक्दैनौँ । त्यसका लागि हामीसँग देश रूपान्तरणको एक दशक, पाँच दशक र शताब्दीसम्मकै योजनाको स्पष्ट खाका हुनु जरुरी छ ।

के नेपालले त्यस्ता मुद्दा उठाउन सक्छ, ताकि नेपाल संसारको केन्द्रबिन्दुमा पुग्न सकोस् । एकताको साझा उद्देश्य बनाउने अनि नेपालीलाई एउटा सूत्रमा बाँध्ने साझा सपना बन्न सक्छ । संसारले सम्मानको दृष्टिभावले हेर्ने बनाउन नेपालले ‘गुरु राष्ट्र’को पहल, एजेन्डाको उत्थान अनि नेतृत्व विकास गर्न सक्छ ।

आज हामीले बहस गर्दै गर्दा कुन–कुन देशबाट के लिने भन्ने होइन कि हामीले संसारलाई के दिन सक्छौँ भनेर बहस गर्न जरुरी छ । नेपाललाई विश्वले आदर भावले हेर्ने स्थिति निर्माण गर्नका निम्ति हामीले कस्तो देश बनाउनुपर्छ भन्ने बहस गर्नु आवश्यक छ । के नेपालले त्यस्ता मुद्दा उठाउन सक्छ, ताकि नेपाल संसारको केन्द्रबिन्दुमा पुग्न सकोस् । विवेकशील नेपाली दलले भन्ने गरेको ‘गुरु राष्ट्र नेपाल’ सम्पूर्ण नेपालीको एकताको साझा उद्देश्य बनाउने अनि नेपालीलाई एउटा सूत्रमा बाँध्ने हाम्रो साझा सपना बन्न सक्छ । नेपाललाई पनि गुरुलाई जस्तै संसारले सम्मानको दृष्टि भावले हेर्ने बनाउन नेपालले ‘गुरु राष्ट्र’को पहल, एजेन्डाको उत्थान अनि नेतृत्व विकास गर्न सक्छ । सर्वप्रथम त नेपालले भारत र चीनको समृद्धिको गतिमा लय मिलाएर देशलाई समृद्ध बनाउन आफ्ना नीति अघि सार्न जरुरी छ । आर्थिक विकासको आधार तय गरेर गुरुयोजना बनाएर काम गर्न जरुरी छ । तसर्थ, हामीले चीन र भारतसँग ‘समनिकटता’को सम्बन्ध कायम गर्दै उनीहरूको जायज स्वार्थको सम्बोधन गर्दै हाम्रो पक्षमा यो सम्बन्धलाई अघि बढाउन जरुरी छ ।

अहिले समाजमा व्यक्ति–व्यक्तिमा आएको विग्रह, परिवारमा आउँदै गरेको पुस्ता–पुस्ताबीचको दूरी, सामाजिक विग्रह आदिको अन्त्य गर्नका निम्ति आफ्नो संस्कारलाई थप मझबुत बनाउन शिक्षा अनि चेतनामा जोड दिन जरुरी छ । हामीले हाम्रो समाजमा समानुभूतिसहितको शिक्षा प्रदान गर्न जरुरी छ, ताकि व्यक्ति, परिवार अनि समाजबीच मानवता कायम राख्न सकियोस् । रोबोर्टको युगमा पनि मानवता हाबी हुन जरुरी छ । नेपालको कला, संस्कृति, सम्पदा, विविधतालाई पर्यटनको माध्यम, सञ्चारको माध्यम, सामाजिक सञ्जालको माध्यमबाट स्थापित गर्न जरुरी छ । हाम्रो प्रत्येक समुदायको संस्कृतिको आ–आफ्नै कथा छ । हामीले ती कथालाई उजागर गर्न जरुरी छ । सुरुमा त हामीले हाम्रो कथा, इतिहास अनि पहिचानलाई आफैँले विश्वास गर्न जरुरी छ । हामी यहीँ चुकेका छौँ । अनि नेपाललाई एउटा ज्ञानभूमिको रूपमा स्थापित गर्न सकिन्छ । 

धार्मिक, सांस्कृतिक, भाषिकलगायत विविधतालाई उजागर गर्दै राष्ट्रिय पहिचानको निर्माण गर्न सके नेपाल संसारका निम्ति खोज अनि अध्ययनको विषय बन्न सक्छ । हिन्दू, बौद्ध, किरात धर्ममा आस्था राख्ने मानिसका निम्ति ज्ञान, अध्ययन, अनुसन्धानको हब बनाउँदै विश्वविद्यालय नै खोल्न नेपालले पहल गर्न सक्छ, ताकि यी विषयमा रुचि हुने मानिसका निम्ति नेपाल एउटा राम्रो गन्तव्य बन्न सकोस् । नेपाल पूर्वीय ज्ञान अनि ऋषिमुनिको भूमि भनेर चिनाउन सके नेपाल धेरै मानिसका निम्ति आस्थाको केन्द्र बन्न सक्छ । मिथिलाकी छोरी सीताको उदाहरणले सदियौँदेखि करोडौँलाई प्रेरणा दिइरहेको छ । यहीँ महागुरु फाल्गुनन्दले किराँत संस्कृतिलाई मात्र होइन, मानवजातिका लागि नै करुणादायी उपदेश छोडी गएका छन् । यही भूमिमा मिथिलाका राजा जनकले सुसंस्कृत राज्य सञ्चालन र राज आचरणको नमुना बनाएका कैयौँ गाथा छन् । हामीले यी गाथालाई संसारसामु लैजान जरुरी छ ।

पशुपतिनाथ र लुम्बिनी, हिन्दू अनि बौद्धधर्मका निम्ति आस्थाको केन्द्र हो । प्रत्येक हिन्दू अनि बौद्ध धर्मावलम्बी जीवनमा एकपल्ट नेपाल आउनुपर्ने सन्देश दिन सके पनि धार्मिक पर्यटनले नेपाललाई आर्थिक मात्र होइन, हामीप्रतिको आदरभावलाई समेत बढवा दिनेछ । आर्थिकसँगै हिन्दू–बौद्धलगायत सांस्कृतिक अन्तरनिर्भरतालाई जोड दिन जरुरी छ, ताकि समृद्धिका साथसाथ मानवताको गाँठो बनाउन पनि नेपालले नेतृत्व गर्न सकोस् । हिन्दू अनि बौद्ध धर्मावलम्बीसहित अर्बौंको जनसंख्या रहेको भारत अनि चीन हाम्रा लागि सहयात्री बन्न सक्छन् । जीवनमा हरेक व्यक्ति एकचोटि नेपाल बुझ्न अनि अनुभूति गर्न आउनुपर्ने माहोल बनाउन, हाम्रो देशलाई संसारको नजरमा पुनः परिभाषित गर्न जरुरी छ । विश्वभरि नै नेपाललाई शान्त र अतिथिमैत्री देश भनेर चिनाउन जरुरी छ । आज हामी लालायित भएर घुम्न जाने देशहरूको कला, संस्कृति, सम्पदा हेर्ने हो भने उनीहरूभन्दा हामी धेरै गुणा माथि छौँ, तर हामीमा त्यो चेत अनि आत्मविश्वास छैन, जुन उनीहरूमा छ । हो, नेपालले संसारलाई धेरै कुरा दिन सक्छ, तर त्यसका निम्ति नेपालले आफ्नो गुमेको आत्मविश्वास फर्काउन जरुरी छ ।

नेपाल दुई छिमेकीबीच समनिकटताको नीतिमा जोड दिँदै छिमेकीबीचमा पुल बन्न सक्छ । आफ्ना दुई छिमेकबीच हुन सक्ने द्वन्द्व र यसमा विश्व नै मुछिने खतरालाई निवारण गर्न नेपाललाई ‘संवाद भूमि’को रूपमा विकसित गर्न जरुरी छ । भारत–पाकिस्तानबीचको संवाद पनि नेपालमा हुन सक्छ । जसका निम्ति नेपाललाई पुनः शान्ति क्षेत्र घोषणा गर्न सकिन्छ । छिमेकी साट्न मिल्दैन, तर छिमेकीसँगको सम्बन्ध परिवर्तन हुन सक्छ । हामीले हाम्रा सम्बन्धमा परिवर्तन ल्याउन जरुरी छ । हामीले हाम्रा केही विशेष वस्तु भारत अनि चीन निर्यात गर्न सक्छौँ । नजिकका देशलाई भविष्यमा स्वच्छ पानी खुवाउन सक्छौँ । 

संसारभर उत्पन्न हुँदै गरेको पर्यावरणीय समस्याका निम्ति समेत नेपालले पहल गर्न सक्छ । वातावरण अनि मानवताको रक्षाका निम्ति संसारसँग पहल गर्ने नेतृत्व नेपालले लिन सक्छ । सगरमाथाको देशले यो नेतृत्व लिन सुहाउँछ पनि । साथै, मानसिक स्वास्थ्यका निम्ति नेपालले योग अनि ध्यानको केन्द्रका रूपमा आफूलाई विकास गरेर तनाव भए नेपाल जाऔँ भन्ने अभियान नै सञ्चालन गर्न सक्छ । हाम्रा पहाड र हिमाललाई ध्यान–केन्द्रका रूपमा विकास गर्न सकिन्छ । यी विषयमा हामीले नेतृत्व गर्न सके हामीलाई संसारले हेर्ने दृष्टिकोण फेरिने थियो । हामीले आफूलाई गुरु राष्ट्रको रूपमा विकसित गर्न सक्ने थियौँ । अनि हामीले संसारलाई केही दिन सक्ने थियौँ । टोल–टोलको कथा अनि गाथासहित हामीले टोल–विकिपिडिया बनाउने हो भने अनि हाम्रो इतिहास पहिचानसहितका सम्पदा अनि लाइभ म्युजियम निर्माण गर्ने हो भने हामीले हाम्रो महत्व बुझ्न अनि बुझाउन सक्थ्यौँ ।

मेरो पाँच वर्षको छोरो म घर फर्कँदा वास्ता गर्दैन । तर, मेरो बुबा आउँदा भने ‘बा’ भन्दै कुद्छ । बुबालाई नै बढी माया गर्छ । मेरो आगमन र मेरो बुबाको आगमनमा एउटै कुराको फरक छ– म आउँदा रित्तै आएको हुन्छु, बुबा आउँदा उसका लागि पापा आएको हुन्छ । हामी मान्छेले स्वभावतः सधैँ केही दिने व्यक्तिबाटै अपेक्षा राख्ने हो। यो देशले हामीलाई केही दिँदै छैन भने हामीले यो देशलाई किन केही दिने ? भन्ने प्रश्न अब नाजायज रहेन। अबको पुस्ताले सोध्ने प्रश्न हो यो। आज यो प्रश्नले भावनात्मकताभन्दा माथिल्लो तहमा पुगेर उत्तर खोजेको छ। हाम्रा पुर्खामा झैँ हाम्रो त्यही गौरव, नवीनता र आत्मविश्वासले भरिएका डिएनए अहिले पनि हाम्रो रगतमा छ । हामी फेरि संसारमा हाम्रो पहिचानसहित उभिन सक्छौँ । तर, त्यो अवस्था हासिल गर्न ऊर्जा अनि वातावरणको खाँचो देखिएको छ । त्यो ऊर्जा अनि आत्मविश्वासका निम्ति नेतृत्व राजनीतिले लिन जरुरी छ । नेतृत्वले बाटो देखाउन जरुरी छ । सधैँ माग्ने मानसिकताबाट ग्रसित हामी फरक कोणबाट संसारलाई के दिन सकिन्छ भनेर बहस गरौँ ।

(लेखक विवेकशील नेपाली दलका अध्यक्ष हुन्)