मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २ शुक्रबार १०:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

करिब २१ खर्ब पुग्यो सेयर लगानीकर्ताको सम्पत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २ शुक्रबार १०:००:००

नेप्से परिसूचक १ वर्षकै उच्च बिन्दुनजिक आइपुग्दा बजारमा लगानीकर्ताको सम्पत्तिमा समेत वृद्धि भएको छ । नेप्से साढे ५ महिनाकै उच्च बिन्दु १ हजार ५ सय ७२ बिन्दुमा आएको छ । लगानीकर्ताको सम्पत्तिको मूल्य २० खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । नेप्से बिहीबार ३० दशमलव ७८ अंक (२ प्रतिशत) ले वृद्धि भएको हो । 

४५ प्रतिशतभन्दा बढी भार रहेको वाणिज्य बैंक समूहको परिसूचकमा समेत सुधार आएपछि बजारसमेत उच्च दरमा बढेको हो । वाणिज्य बैंक समूहबाट माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । वाणिज्य बैंकबाट यो सिजनकै पहिलो घोषणा गरेको बैंकको लाभांशले लगानीकर्तामा समेत उत्साह जगाएको छ । ७ दशमलव ०३ प्रतिशत बोनस सेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बैंकको सेयर मूल्य पनि ७ रुपैयाँले बढेको छ । वाणिज्य बैंक समूहको परिसूचक २ अंकले बढेको छ । 

यस दिन कारोबार रकमसमेत वृद्धि भएर ३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । यस दिन होटेल र जलविद्युत् समूहको परिसूचकको वृद्धिले निरन्तरता पाएको छ । यी समूहमा सबैभन्दा धेरै वृद्धिसमेत भएको छ । होटेल समूहको परिसूचक ९ दशमलव ३७ र जलविद्युत् समूहको परिसूचक ७ दशमलव ३६ प्रतिशतसम्म बढेको हो । कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यो सूचीमा जलविद्युत्, होटेलसहित केही वित्त कम्पनीसमेत छन् । यस दिन निर्जीवन बिमा कम्पनी समूहको परिसूचक मात्रै घटेको छ । 

लघुवित्तबाट आशा लघुवित्त वित्तीय संस्थाले करिब १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७८ प्रतिशत (कर प्रयोजन) नगद लाभांश प्रस्ताव गरेको हो । लघुवित्त समूहको परिसूचक भने यस दिन १ प्रतिशतभन्दा कम (शून्य दशमलव ४७) प्रतिशतले घटेको छ । 

बैंकहरूमा बढ्दो तरलताले वृद्धिमा सहयोग पुगेको बजारलाई सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालेपछि थप टेवा पुगेको छ । बैंकहरूले अधिक तरलताकै कारण कर्जाहरूको ब्याजदर घटाएका छन् । सेयर धितो कर्जासमेत ८ प्रतिशतभन्दा कममा पाइन थालेपछि पनि बजारलाई यसले निर्देशित गरेको छ । यस दिन १ सय ९१ कम्पनीको ५३ हजार कित्ता सेयर किनबेच भयो । ३० कम्पनीको मात्रै सेयर मूल्य घटेर कारोबार भएको छ । १२ कम्पनीको १ प्रतिशतदेखि करिब ७ प्रतिशतसम्म घटेको हो ।