मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लाजिम्पाटस्थित फ्राइडे रेष्टुरेन्ट
केदार दाहाल काठमाडौं
२०७७ असोज १ बिहीबार २२:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

६ महिनापछि पर्यटन क्षेत्रमा चहलपहल, रेस्टुरेन्टमा ग्राहक जान थाले, पाँचतारेबाहेक सबै होटेल खुले

काठमाडौंसहित पोखरा, सौराह, नेपालगन्ज, भैरहवाका समेत अधिकांश होटेल र रेस्टुरेन्ट खुलेका छन् 

Read Time : > 1 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असोज १ बिहीबार २२:०२:००

कोभिड– १९ का कारण करिब ६ महिनादेखि बन्द नेपालको पर्यटन क्षेत्रमा बिहीबारबाट चहलपहल सुरु भएको छ । ११ चैतदेखि बन्द रहेका रेस्टुरेन्ट र होटेलसहित अन्य पर्यटन क्षेत्रसमेत बिहीबारबाट पूर्ण रूपमा खुलाउने निर्णय गरेसँगै देशभरका अधिकांश होटेल र रेस्टुरेन्ट खुलेका छन् । तर, तारेहोटेलहरू भने खुल्न केही साता लाग्ने भएको छ । घुम्न चाहने आन्तरिक पर्यटकलाई देशभरिका पर्यटन क्षेत्र खुला भएसँगै ट्राभल एन्ड टुर, ट्रेकिङ कम्पनीहरूसमेत बिहीबार सञ्चालनमा आएका छन् । 

गत ११ चैतदेखि पूर्ण रूपमा बन्द भएको पर्यटन क्षेत्र बिहीबारदेखि पूर्ण रूपमा खुलेका हुन् । पर्यटन क्षेत्र खुला गरेमा ५ देखि १० प्रतिशत पर्यटक चालू सिजनमा आउने व्यवसायीहरूले बताउँदै आएका छन् । ५ असोजदेखि आन्तरिक हवाईसेवा पनि खुल्ने भएपछि पर्यटन क्षेत्रलाई केही राहत हुने उनीहरूको भनाइ छ । सरकारले १ कात्तिकदेखि विदेशी पर्यटकलाई समेत नेपाल आउन दिने निर्णय गरिसकेको छ ।  

बिहीबारबाट काठमाडौंसहित पोखरा, सौराह, भैरहवा तथा नेपालगन्जलगायतका सहरहरूका होटेल र रेस्टुरेन्टहरू खुलेका छन् । जिल्ला सदरमुकाममा रहेका मझौला होटेलहरू पनि अधिकांश खुलेको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । ‘केही तारेहोटेलहरूले क्वारेन्टिनका रूपमा प्रयोग गरेकाले सहज तरिकाले खुलाउन पाएका छन्, बाँकी पाँचतारे होटेलहरूलाई केही हप्ता लाग्नेछ,’ शाहले भने । सरकारले २४ घन्टाअगाडि निर्णय गरेका कारण तयारीमा समस्या भएको, तर अबको केही दिनमा सबै होटेलहरू खुल्ने उनको भनाइ छ । हानमा मात्रै तीन हजार तीन सय होटेलहरू आबद्ध छन् । काठमाडौंमा रहेका ठूला होटेलहरू खुलाउन भने विदेशी पर्यटक कहिलेदेखि आउँछन् भन्नेमा निर्भर हुनेसमेत शाहले बताए । सरकारले १ कात्तिकदेखि विदेशी पर्यटकलाई आउन दिने निर्णय गरे तापनि पर्यटकको विश्वास जित्नुपर्ने भएकाले श्वेतपत्र नै जारी गर्नुपर्ने शाहको भनाइ छ । ‘हामी पनि सरकारसँग छलफल गरिरहेका छाैँ, अब अनअराइबल भिसा पनि खोल्नुपर्ने हुन्छ, नत्र पर्यटक आउन मुस्किल छ,’ शाहले भने । 

अधिकांश रेस्टुरेन्ट खुले
बिहीबारदेखि देशभरका रेस्टुरेन्ट खुलेका छन् । बिहीबारबाट काठमाडौंसहित, सौराह, पोखरालगायत क्षेत्रका रेस्टुरेन्ट खुलेको रेस्टुरेस्ट एन्ड बार एसोसिसएसन अफ नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले बताए । ‘धेरै नेपालीमा रेस्टुरेन्ट जाने कल्चर बनिसकेको थियो, बन्द हुँदा छटपटी भएकाहरू बिहीबारदेखि नै रेस्टुरेन्ट आएका छन्,’ अध्यक्ष भण्डारीले भने । 

काठमाडौंमा मात्रै २५ सय रेस्टुरेन्टहरू रहेको अनुमान गरिएको छ । काठमाडौंको ठमेलमा समेत केही रेस्टुरेन्ट खुलेका छन् । यता दरबारमार्ग, बानेश्वर, ललितपुरको झम्सिखेल, भक्तपुरमा समेत अधिकांश रेस्टुरेन्ट खुलेका छन् । देशभर १० हजार रेस्टुरेन्ट रहेको अनुमान छ । सौराह र पोखरामा समेत खुलेको जानकारी आएको अध्यक्ष भण्डारीले बताए । ‘कतिले तयारी गर्न नभ्याएकाले शनिबार सबैजसो रेस्टुरेन्ट खुल्नेछ,’ अध्यक्ष भण्डारीले भने ।