मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असोज १ बिहीबार २१:३५:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीका असुरक्षित हिरासत : प्रहरीघेरामै थुनुवाको मृत्यु भइरहँदा सुधारमा छैन चासो

हिरासतमा हुने आत्महत्याका ९० प्रतिशत घटना शौचालयमा, रोकिएन हिरासतमा यातना

Read Time : > 5 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असोज १ बिहीबार २१:३५:००

गत १७ असारमा तत्कालीन महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली जावलाखेलस्थित महानगरीय प्रहरी परिसर, ललितपुरको नयाँ भवन उद्घाटन गर्दै थिए । कार्यक्रमस्थलमा एकाएक हल्लीखल्ली मच्चियो । कारण थियो– परिसरको हिरासतमा रहेका २४ वर्षका दुर्गेश यादव शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा फेला पर्नु । युवती बलात्कार आरोपमा पक्राउ परेको तेस्रो दिन उनले हिरासतमै आत्महत्या गरे । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्यांगिङ’ देखिएपछि मृतकका आफन्तले ठूलो गलफत्ती गरेनन् । तर, महानिरीक्षक नै प्रहरी एकाइमा उपस्थित रहेको समयमा थुनुवाले आत्महत्या गरेको घटनाले हिरासत कक्षमा सुधारको पाटो कागजमै सीमित रहेको उजागर गरिदियो ।

हिरासतमा शंकास्पद मृत्युका कतिपय घटनामा त शंकाको सुई प्रहरीतिर नै सोझिँदै आएको छ । ११ भदौमा रौतहटमा दलित युवक विजय रामको मृत्यु त्यसको पछिल्लो कडी हो । गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा चरम यातनाका कारण उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाविरुद्ध मधेसको दलित समुदाय आन्दोलनमा छ ।

रौतहट प्रहरीका तत्कालीन एसपी रविराज खड्का, इलाका प्रहरी गरुडाका तत्कालीन डिएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सइ वीरेन्द्र यादव तथा हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध मृतकको परिवारले किटानी जाहेरी नै दर्ता गराएको छ । उनलाई यातना दिएको आरोपमा प्रहरी निरीक्षक सिंह तथा हवल्दारद्वय धुनियाँ र सिंहलाई निलम्बन गरेर प्रहरीले आन्तरिक कारबाही थालेको छ । उनीहरूविरुद्ध ज्यान मुद्दा नचलाएसम्म शव बुझ्न मृतकको परिवारले अस्वीकार गरेको छ । यो घटनाले सिंगो प्रहरीको छवि धुमिल बनेको छ ।

रौतहट घटनामा छानबिन जारी रहँदा २६ भदौमा जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासतमा दलित युवक रोशन विकको मृत्यु भयो । उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । तर, प्रहरीले हत्या गरेको दाबी गर्दै आफन्तजन आन्दोलनमा उत्रिएका छन् । २७ भदौमा  जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका सुवास वाइबाले झुन्डिएर आत्महत्या प्रयास गरेका थिए ।

पछिल्ला यी तीन घटनाले पनि प्रहरी हिरासतको सुरक्षामा गम्भीर प्रश्न उठाएका छन् । प्रहरी हिरासतको सुरक्षा लामो समयदेखि बहसमा छ । तर, पटक्कै सुधार हुन नसकेको यी घटनाले देखाउँछन् । हिरासतको सुरक्षा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय मुद्दा नै हो । हिरासतमा थुनुवाको मृत्युलाई लिएर अमेरिका, बेलायतलगायत मुलुकले सम्बन्धित प्रहरी एकाइ र अधिकृतलाई कालोसूचीमै राख्दै आएका छन् । तर पनि प्रहरी अधिकारीहरूले चेतेको पाइँदैन ।

शंकास्पद मृत्युका शृंखला
हिरासतमा थुनुवाको शंकास्पद मृत्युका घटनाले प्रहरीको सुरक्षा घेरामाथि बारम्बार प्रश्न उठेको छ । झापा बिर्तामोडस्थित इलाका प्रहरी, अनारमनीको हिरासतमा १ वैशाख ०७६ मा किरण कार्कीढोली (१५ वर्ष) को शंकास्पद मृत्यु भएको घटनाले पनि प्रहरीमाथि प्रश्न उठेको थियो । मोबाइल र पैसा चोरी आरोपमा पक्राउ परेका उनी हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले उनले आत्महत्या गरेको बतायो, परिवारले घटना शंकास्पद भएको बताउँदै छानबिन माग ग¥यो । छानबिनबाट उनले आत्महत्या नै गरेको निष्कर्ष निस्कियो ।

०००
भदौ ०७५ मा जिल्ला प्रहरी कार्यालय, बर्दियाको हिरासतमा बेहोस भएका सिके राउतका कार्यकर्ता राममनोहर यादवको काठमाडौंमा उपचारका क्रममा मृत्यु भयो । बाँके जानकी गाउँपालिका–६ का ३० वर्षीय यादव ७ भदौ ०७५ मा तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा जिल्ला समन्वय समिति, बर्दियाको हलबाट पक्राउ परेका थिए । काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार क्रममा उनको मृत्यु भयो । उनलाई राज्यविरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको थियो । अधिकारकर्मीहरूले घटना छानबिन गर्न माग गरे । सरकारले परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिएपछि घटना सामसुम बन्यो ।

०००
यस्तै, मदिरा सेवन गरी गाडी छेकेको आरोपमा पक्राउ परेका गणेश पालीको पनि डोटी जोरायल गाउँपालिका–१ गैरास्थित प्रहरी चौकीको हिरासतमा ८ मंसिर ०७६ मा शंकास्पद मृत्यु भयो । पिसाब गर्न भन्दै शौचालय गएका उनले औषधि खाएर निस्केका थिए । शौचालयबाहिर ढलेको अवस्थामा भेटिएपछि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भयो । कुटपिटबाट मृत्यु भएको बताउँदै उनका आफन्तले प्रहरी कार्यालयमा नाराबाजी गरेका थिए ।

०००
१ मंसिर ०७६ मा चितवन मुग्लिन स्थायी घर भएका नेपाली सेनाका जवान राम कँडेलको पनि अस्थायी प्रहरी पोस्ट फिस्लिङपरिसरमा मृत्यु भयो । इच्छाकामना मेलाबाट फर्कने क्रममा गाडीमा एक प्रहरी जवानसँग झगडा भएपछि उनी पक्राउ परेका थिए । पक्राउ परेको केही समयपछि प्रहरी भवनको दुई तलाबाट खसेर उनको मृत्यु भएको थियो । प्रहरीबाट भाग्न खोज्दा खसेको हुन सक्ने शंका गरिए पनि कुटपिटबाट मृत्यु भएको बताउँदै स्थानीय बासिन्दाले प्रहरी चौकी घेरा हाले । हिरासतमा रहेका व्यक्तिको सुरक्षामा ध्यान नदिनुको परिणाम थियो, यो घटना पनि ।

०००
भारतीय नागरिक सन्दीप शाह (३० वर्ष)को पनि १७ फागुन ०७५ जिल्ला प्रहरी कास्कीको हिरासतमा मृत्यु भयो । भारत मोतिहारी घर भई पोखरा–८ सुन्दर मार्ग बस्दै आएका उनी लागुऔषध मुद्दामा पक्राउ परेका थिए । हिरासतमा एक्कासि बान्ता गरेका उनलाई तत्काल अस्पताल पु¥याइयो । तर, चिकित्सकले बचाउन सकेनन् ।

यस्तै, २५ वैशाख ०७५ मा चितवन रत्ननगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा झुन्डिएर आत्महत्या प्रयास गरेका समीर घिसिङको तीन दिनपछि मृत्यु भयो । उनी चोरी आरोपमा पक्राउ परेका थिए । घटनापछि स्थानीयवासीले प्रहरी कार्यालयमा ढुंगामुढा गर्दै राजमार्ग पनि अवरुद्ध गरेका थिए ।

०००
गत २७ भदौमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा एक अभियुक्तले आत्महत्या प्रयास गरेका थिए । हत्या आरोपमा पक्राउ परेका सुवास वाइबा शौचालयमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीले अस्पताल पु¥याएर बचाएका थिए । हाल चितवनमा उनको उपचार भइरहेको छ । 

०००
गत २८ असोजमा इलाका प्रहरी कार्यालय सबैलाको थुनामा रहेका शम्भु सदाको शौचालयमा मृत्यु भएको थियो । प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले प्रहरी कार्यालयमै आक्रमण गरी आन्दोलन गरेका थिए । 

०००
११ भदौ २०७४ मा खोटाङ दिप्सुङ घर भई धरान–५ देउरालीमा बस्दै आएका श्रीधन विश्वकर्मा (३३ वर्ष)ले इलाका प्रहरी कार्यालय धरानमा हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या  गरे ।  आफन्तलाई नै बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।  त्यो घटनामा प्रहरीको ड्युटीमा कमजोरी देखिएको थियो ।

०००
१३ कात्तिक ०७४ मा भाइ हत्याको आरोपमा पक्राउ परेकी किशोरीले पनि प्रहरी कार्यालयमै आत्महत्या गरिन् । सिराहा  कर्जन्हा नगरपालिका २ की प्रियंका यादवले विष्णुपुर प्रहरी चौकीको हिरासतको शौचालयमा झुन्डिएर आत्महत्या गरेकी हुन् । एक युवकसँगको शारीरिक सम्बन्ध भाइ भवेशकुमारले थाहा पाएपछि युकवसँग मिलेर भाइको हत्या गरेकी थिइन् । पक्राउ परेको पाँच दिनमै उनले आत्महत्या गरिन् ।

०००
३० चैत ०७४ मा साढे ३३ किलो सुन तस्करीका आरोपीमध्ये एक प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा आत्महत्या गरे । बाथरुममा ट्रयाकसुटको पासो लगाएर झुन्डिएको अवस्थामा उनको मृत्यु भएको थियो ।

सरोकारवालासँग छैन तथ्यांक
घटनाहरू केलाउँदा बर्सेनि औसत १० जनाले प्रहरी हिरासतमा ज्यान गुमाएको पाइन्छ । तीमध्ये कतिपय घटना प्रहरीको यातनाका कारण हुने गरेका छन् । र, अधिकांश आत्महत्या हुने गर्छन् । हिरासतमा हुने ९० प्रतिशत आत्महत्या शौचालयमा भएका छन् । प्रहरीको अभिलेखअनुसार शौचालयका डन्डी र धारामा झुन्डिएर थुनुवाले आत्महत्या गर्ने गरेका छन् ।

सुरक्षा दिनुपर्ने दायित्व रहेको निकायकै घेरामा सर्वसाधारणको मृत्युका घटना बढ्दा पनि सुधारको पाटोमा चासो देखिँदैन । प्रहरीकै हिरासत असुरक्षित बनेपछि सर्वसाधारणको आक्रोशलाई स्वाभाविक मान्नुपर्ने अधिकारकर्मीहरूको भनाइ छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत हिरासतको सुरक्षामा प्रहरी गम्भीर रहेको दाबी गर्छन् । अधिकांश घटनामा आत्महत्या देखिएको बताउने उनी थुनुवाको सुरक्षाको पाटोमा सुधार प्रयास भइरहेको पनि दाबी गर्छन् ।

अनौठो के छ भने प्रहरी, महान्यायाधिवक्ता कार्यालय मात्र होइन, राष्ट्रिय मानव अधिकार आयोगसँग पनि हिरासतमा भएका मृत्युसम्बन्धी तथ्यांक उपलब्ध छैन । जब कि, आयोग र महान्यायाधिवक्ता कार्यालय हिरासतको सुरक्षा अनुगमन गर्नुपर्ने जिम्मेवार निकाय हुन् । हिरासतमा सर्वसाधारणको मृत्यु हुनु चिन्ताजनक रहेको आयोगकी सदस्य मोहना अन्सारी बताउँछिन् । भन्छिन्, ‘हिरासतको सुरक्षामा प्रहरी गम्भीर हुन सकेको देखिएन ।’

महान्यायाधिवक्ता अग्नि खरेल भने विगतको तुलनामा हिरासत कक्षमा धेरै सुधार भएको बताउँछन् । भन्छन्, ‘कोरोना संकट सुरु हुनुअघि हामीले पनि अनुगमन गरी सुधारका लागि निर्देशन दिएका थियौँ, प्रहरीलाई यसमा सचेत पाएको छु ।’

हिरासतभित्र आत्महत्या रोक्न प्रहरीले शौचालयका ग्रिल हटाउने, शौचालयको ढोका आधा खुला राख्ने र कपडा राख्न नदिने गरेको छ । तर, कतिपय हिरासतमा यस्ता मापदण्ड लागू हुन सकेको छैन ।

विगतभन्दा धेरै सुधार : अग्नि खरेल, महान्यायाधिवक्ता

महान्यायाधिवक्ता कार्यालयले प्रहरी हिरासतको नियमित अनुगमन गर्दै आएको छ । अभिलेख खोतल्ने हो भने सबैभन्दा धेरै अनुगमन गर्ने महान्यायाधिवक्ता म नै हुँला । विषम परिस्थितिका कारण फागुनयता अनुगमन हुन सकेको छैन । हिरासतमा मृत्युका घटना थाहा पाउनासाथ जानकारी लिने गरेका छौँ । कैलाली र रौतहटका पछिल्ला घटनाबारे बुझिरहेका छौँ । हिरासतबाट पंखा र शौचालयका ग्रिल हटाइएको छ । पक्राउ परेपछि आत्मग्लानीले कतिपयले हिरासतमा आत्महत्या गरेको देखिन्छ । प्रहरीले यातना दिने विषय स्विकार्य छैन । त्यस्ता घटनामा छानबिन र कारबाही हुँदै आएको छ ।

अपराध अनुसन्धान शैलीमै परिवर्तन आवश्यक :  पिताम्बर अधिकारी, पूर्वडिआइजी

प्रहरीले अपराध अनुसन्धानको शैलीमा परिवर्तन गर्नु जरुरी छ । अनुसन्धानका क्रममा अभियुक्तको मनोवैज्ञानिक पक्षमा बेवास्ता हुने गरेको छ । अपराध पत्ता लगाउन कुटपिट नै गर्नुपर्छ भन्ने छैन । उनीहरूको मनोविज्ञान बुझेर सोधपुछ गर्न सकिन्छ । परामर्श अभावकै कारण कतिपयले आत्महत्या गरेको हुन सक्छ । आत्महत्याका घटना हुन नदिन हिरासत कक्षमा सुधार ल्याउन जरुरी छ । कतिपय पुराना भवनमा रहेका हिरासतमा मापदण्ड नपुगेको हुन्छ । हिरासत ड्युटीमा खटाइएका प्रहरीले विशेष सतर्कता अपनाउनु आवश्यक छ ।