मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १ बिहीबार १८:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शपथ लिँदै वामदेवले भने–मैले नै सदस्यता दिएको थिएँ, कार्यकर्ता अध्यक्ष हुँदा छाती फुलेको छ 

Read Time : > 1 मिनेट
२०७७ असोज १ बिहीबार १८:५३:००

नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफैँले पार्टी सदस्यता दिएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबाट राष्ट्रिय सभा सांसदको शपथ लिएका छन् । शपथ लिएपछि सिंहदरबारस्थित उनको कार्यकक्षमा प्रतिबद्धता मन्तव्य राख्दै गौतमले कुनै वेला आफैँले सदस्यता दिएको राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाबाट शपथ लिन पाएकोमा छाती फुलेको भन्दै आभार व्यक्त गरे । ‘मलाई यो सभामा उपस्थित गराएर शपथ गराउने अध्यक्षज्यू कुनै वेला मेरो कार्यकर्ता हुनुहुन्थ्यो र मैले नै पार्टी सदस्यता प्रदान गरेको थिएँ,’ गौतमले प्रतिबद्धता मन्तव्यमा भने, ‘मैले सदस्यता प्रदान गरेको एकजना कमरेड राष्ट्रिय सभाको अध्यक्ष हुनु ज्यादै ठूलो खुसीको कुरा हो, मेरो छाती फुलेको छ  । उहाँप्रति हार्दिक आभार प्रकट गर्दछु ।’ 

त्यस्तै, सांसद सिफारिसका लागि आग्रह गर्ने आफ्नै पार्टी नेकपा, मनोनयनका लागि राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली र मनोनयन गर्ने राष्ट्रपति भण्डारीप्रति पनि गौतमले आभार प्रकट गरे ।

उनले राष्ट्रिय सभाको गरिमा बढाउनका निम्ति, नेपालको संविधान र नियमावलीबमोजिम राष्ट्रिय सभामा जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता पनि जनाए । ‘राष्ट्रिय सभा सदस्य रहँदासम्म यसको गरिमा र प्रतिष्ठा गिराउने गरी कुनै पनि क्रियाकलाप गर्ने छैन, नेपालको स्वतन्त्रता, राष्ट्रियता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सदैैव वफादार भएर कर्तव्य निर्वाह गर्नेछु,’ गौतमले प्रतिबद्धता मन्तव्यमा भने, ‘हाम्रो पार्टी नेकपाले नेपालमा समाजवाद स्थापना गर्ने संकल्प गरेको छ । त्यही संकल्पबमोजिम यहाँबाट के–कति भूमिका निर्वाह गर्न सकिन्छ, गर्नेछु ।’

गौतमले बिहीबार अपराह्न ४ बजे राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाबाट शपथ लिए । उनको शपथमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालसहित स्थायी कमिटी र केन्द्रीय कमिटीका केही सांसद पनि सहभागी थिए । गौतमलाई बधाई दिन नेकपाका थुप्रै नेता–कार्यकर्ताहरू उनको निवास भैंसेपाटी पनि पुगेका छन् ।