१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १ बिहीबार १८:१६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेटर ललितको सफल शल्यक्रिया  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १ बिहीबार १८:१६:००

राष्ट्रिय सिनियर पुरुष क्रिकेट टोलीका युवा खेलाडी ललितसिंह भण्डारीको बिहीबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया भएको छ । गत आइतबार मोटरसाइकल दुर्घटनामा ललितको दायाँहात हात र खुट्टा भाँच्चिएको थियो । टोखास्थित ग्रान्डी अस्पतालका अर्थोपेडिक्स डा. चक्रराज पाण्डे र उनको टोलीले क्रिकेटर ललितको शल्यक्रिया गरेको हो । यता क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ललितको सफल शल्यक्रियासँगै अवस्था सामान्य रहेको जनाएको छ । 

अस्पतालले भने ललित पुरानै अवस्थामा फर्किन धेरै समय लाग्ने जनाएको छ । सक्रिय रूपमा मैदानमा फर्कन ललितले कम्तीमा एक वर्षभन्दा बढी समय मिहिनेत गर्नुपर्नेछ । गत आइताबर धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ललित सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । धनगढी तथा नेपालगन्जमा उपचार सम्भव नभएपछि उनलाई सोमबारै काठमाडौं ल्याएको थियो । यसअघि उनको उपचार धनगढीको निसर्ग अस्पताल र नेपालगन्जको मेडिकल कलेजमा भएको थियो । 

यसैबीच ललितको उपचारार्थ सिप्यानले आर्थिक संकलनको आह्वान गरेको छ । ललितको उपचारमा राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्थिक सहयोग गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ललितको उपचारकै लागि आपतकालीन आर्थिक कोष बनाउने भएको छ । खेलाडीलाई आउने समस्याको समाधान गर्न आपतकालीन कोष खडा गरेको हो । 

ललितले २०१८ मा नेदरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीमा डेब्यु गरेको खेलमै उनले दुई विकेट हात पारे । ललितले २०१३ मा यू–१९ टोलीमै डेब्युको अवसर पाएका थिए । 

घरेलु फ्रेन्चाइज टी–२० प्रतियोगिताकै चर्चित खेलाडी ललित पछिल्लो समय चोटका कारण नै राष्ट्रिय टोलीबाट बाहिर थिए । गत वर्ष सञ्चालित सबै टी–२० लिगमा उनले प्रतिस्पर्धा गरेका थिए ।