Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
५७ वर्षपछि जग्गाधनी प्रमाणपूर्जा पाएको खुसी आँशुबाट व्यक्त गर्दै लालसिंह राई
२०७७ असोज १ बिहीबार १०:२८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

५७ वर्षपछि सुकुम्बासीबाट जग्गाधनी बन्दा थामिएनन् पाटापुरबासीका आँखामा आँसु  

Read Time : > 2 मिनेट
२०७७ असोज १ बिहीबार १०:२८:००

इलामको पूर्णदक्षिण रोङ–६ पाटापुरका लालसिंह राई (६३)ले ५७ वर्ष सुकुम्बासी भएर बिताए । चुरे क्षेत्रमा बसेका यी राईले जग्गाधनी प्रमाणपूर्जाको पर्खाईमा जीवनका साढे पाँच दशक बिताए । सुकुम्बासी भए पनि भोगचलन गर्दै गरेको जग्गामा कृषि गरेर परिवार धान्दै थिए । तर, सुकुम्बासी भएर जीवन चलाउँदा अनेक बाधा थिए ।  ५७ वर्षपछि लालसिंहले खनजोत गर्दै आएको १३ रोपनी जग्गाको लाजपूर्जा पाए । लालपूर्जा पाएपछि उनको खुसी थामिसक्नु थिएन । 

पाटापुरमा २०२० सालबाट बसोबास गर्दै आएका लालसिंह बल्ल जग्गा धनी भएका छन् । ५७ वर्षपछि जग्गाधनी बन्दा उनको आँखामा आशु थामिएन । ‘अब त हामी पनि जग्गा धनी भयौँ । सुकुम्बासी भनेर कसैले हेप्न पाएन’, उनी भक्कानिए, ‘अहिलेसम्म दुःख गरेर बसियो । जाउँ भने कहाँ जानु ? बुबाले धनीपूर्जाका लागि पेस गर्नुभएको थियो । बुबा लालपूर्जा नदेखी बित्नुभयो मैले पाएँ । यो त ठूलो हतियार भयो नि !’ 

जग्गा धनीप्रमाणपूजाए पाएपछि खुसी देखिएकी ७० वर्षीया इन्द्रमाया राना

इन्द्रमाया रानामगर(७०)लाई सुकुम्बासी नै भएर जीवन बिताउनुपर्छ कि भन्ने चिन्ता थियो । तर, जीवनको उत्तरार्धमा २० रोपनीको जग्गाको धनी बन्दा उनका खुसी सुनाइसक्नु छैन । ‘अब त मर्दा पनि सुखले सास जाने भयो । मर्ने वेलामा जग्गा धनी भएँ । खुसी त कति छ कति’, उनी भन्छिन्, ‘यत्रो वर्ष धनीपूर्जा नपाउँदा अब त पाइँदैन भन्ने नै लागेको थियो ।’ 

बलबहादुर कटुवालकी श्रीमती दोमन्ता कटुवाल लालपूर्जाको पर्खाईमा बितिन् । अहिले श्रीमानको हातमा ६ रोपनीको धनीपूर्जा हुँदा उनको नाममा १८ रोपनीको छ । ‘श्रीमती जीउँदै हुँदा लालपूर्जा पाएको भए कति खुसी हुन्थी ?’, उनी भक्कानिए, ‘अहिले भए पनि पायौँ । खुसीको त सीमा छैन । जग्गा नहुँदा कसैले ऋणसम्म दिन मान्दैन थिए । अब त बैंकमा जग्गा राखेर भए पनि केही काम गर्नसक्छौँ ।’

जंगल छेउमा बस्ती बनाएर बसेका पाटापुर बासीले जीवनमा अनेक समस्या भोग्नुपर्‍यो । तत्कालीन समयमा वनका कर्मचारीले पटकपट दुःख दिन्थे । ‘पहिला वनका कर्मचारीले तिमीहरूलाई खेदाउँछौँ भन्थे । पैसा माग्थे, पैसा नदिए हात्ती लगाएर खेदाउँछौँ भन्थे’, उनी भन्छन्, ‘ हातमा लालपूर्जा थिएन । कति डर थियो, थियो । अब त हातमा लालपूर्जा छ । संसार जीते जस्तो भएको छ ।’ 

लामो प्रतिक्षापछि लालपूर्जा पाएर दंग परेका बलबहादुर कटुवाल

पाटापुरमा ८७ घर परिवार सुकुम्बासी छन् । तीमध्ये पहिलो चरणमा २० जनाले जग्गाधनी प्रमाणपूर्जा पाएको गाउँपालिका अध्यक्ष शमसेर राईले बताए । बाँकीको पनि नियमित प्रक्रियामा रहेको उनले बताए । २० घर परिवारको धनीपूर्जा गाउँपालिकाले स्थानीयको घर–घरमा पुर्‍याएको थियो । ‘जनप्रतिनिधि र कर्मचारी दैनिक काममै व्यस्त हुँदा समस्या समाधान गर्न सकेनौँ । त्यसैले हामीले व्यवस्थित बसोबास समिति गठन गरेर सबै समस्याको चुरो खोजेर समितिले प्रतिवेदन बुझायो’, उनले भने, ‘समितिको प्रतिवेदनको आधारमा पाटापुरको समस्या मालपोतमा रोकिएको रहेछ । सो प्रक्रियालाई स्थानीय सरकारको तर्फबाट समन्वय गरेर काम गर्‍यौँ । हाम्रो चाहाना जनताले कम खर्च र सास्ती नपाई धनीपूर्जा पाउन् भन्ने हो ।’ 

 मालपोत रहेको इलाम सदरमुकाम झापा भएरै जानुपर्ने र त्यहाँ पुगेर सानो समस्याले फर्कन नपरोस् भन्नलाई एक जना कर्मचारी मालपोतमै खटाइएको उनले बताए । रोङ गाउँपालिका भरि रहेका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको तथ्यांक समेत संकलन गरिएको अध्यक्ष राईले बताए । सो तथ्यांकलाई सम्बन्धित निकायमा विवरणसहित परिपत्र गरेको राईको भनाइ छ । 

पाटापुरको सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया ०५२ सालदेखि नै सुरु भए पनि चासो गर्ने मान्छे नहुँदा सुकुम्बासीले धनीपूर्जा नपाएको रोङ–६ का वडाध्यक्ष मणिकुमार स्याङ्बोले बताए । ‘सुकुम्बासी समाधान आयोगले २०५२ सालमै विभिन्न सर्तसहित जग्गा दिने निर्णय गर्‍यो । ती सर्तबारे हालसम्म न निर्वाचित जनप्रतिनिधिलाई थाहा भयो न स्थानीयलाई । त्यसयता स्थानीयले पनि बारम्बार आग्रह गरे । नेताले पनि चुनावी नारासहित आश्वासन दिन छाडेनन्’, उनी भन्छन्, ‘म वडाध्यक्षको हैसियतले जनतासँग माफी माग्छु । यो काम २०५४ सालभित्र गरेको भए मोलपोतमा भारी छुट हुने थियो । तर, खोजी गरिदिने कोही नभएकाले लघुवित्तबाट ऋण लिएर मोलपोत तिर्न जनता बाध्य भए ।’