मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १ बिहीबार ०६:४६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वाणिज्य बैंक छाडेर बढ्यो नेप्से : बैंकमा कर्जा र निक्षेप दुवैको ब्याजदर सस्तो हुँदा बजारलाई लाभ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १ बिहीबार ०६:४६:००

विभिन्न बैंकहरूले सबैखाले कर्जाको वार्षिक ब्याजदर अधिकतम १३–१४ प्रतिशत हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेसँगै सेयर बजारमा समेत उत्साह बढेको छ । बुधबार वाणिज्य बैंकबाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ ।  

लगानीकर्ताले सेयर धितो राखेर पाउने कर्जाको ब्याजदरसमेत अधिकतम १४ दशमलव ५ प्रतिशतसम्म छ । एनआइसी एसिया बैंकले ७ दशमलव ७५ प्रतिशतमै १५ करोडसम्म (धितोको ७० प्रतिशत) सेयर धितोमा कर्जा दिने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि न्यूनतम ७ प्रतिशतदेखि अधिकतम ८ दशमलव ८ प्रतिशतमै सेयर धितोमा कर्जा दिने भएको छ । बैंकहरूबाट पाइने कर्जा सस्तो भएपछि पनि लगानीकर्ता सेयर बजारतर्फ आकर्षित हुन्छन् । बैंकमा निक्षेपकर्ताले बचत खातामा औसतमा ३ र मुद्दती खातामा औसत ८ प्रतिशत ब्याज पाइरहेका छन् । 

सेयर बजारमा कतिपयले एकै दिनमा मूल्य परिवर्तनबाट १० प्रतिशतसम्म कमाउन सफल भइरहेका छन् । बुधबार मात्रै २९ कम्पनीका सेयरधनीले न्यूनतम ८ दशमलव ३३ देखि अधिकतम १० प्रतिशतसम्म आम्दानी गरेका छन् । मूल्य कम भएका जलविद्युत् र केही होटेल कम्पनीमा लगानीकर्ता आकर्षित भएका छन् । 
मूल्य उच्च दरमा बढ्ने २९ कम्पनीमा एनआरएन लघुवित्त, रिलायन्स इन्स्योरेन्सबाहेक सबै जलविद्युत् र होटेल कम्पनी रहेका छन् । होटेल र जलविद्युत् समूहको परिसूचक क्रमशः ९ र ४ प्रतिशतले वृद्धि भएको हो । जलविद्युत् समूहको परिसूचक बजार बन्द हुँदा भने अन्तरदिनको उच्च बिन्दुबाट भने ७ अंक घटेको छ । 

कारोबार रकम भने १ अर्ब ८४ करोड रुपैयाँमा सीमित भएको छ । करिब १३ प्रतिशतले कारोबार रकम घटेको हो । कारोबार रकममा सोमबारयता दैनिक रूपमा कमी आएको हो । केही दिनदेखि कारोबार प्रणालीमा आएको समस्याले समयमै राफसाफ हुन नसक्दा लगानीकर्ताले सेयर बिक्री गरेर पनि रकम हात पार्न सकिरहेका छैनन् । आइतबारको बिहानीसत्रमा समेत प्रणालीमा समस्या आउँदा दोहोरिएको कारोबार अलग्याउन सकिएको छैन । यसले पनि लगानी रकम घटिरहेको देखिन्छ । 

‘कारोबार रकममा धेरै कमी आएको छैन,’ सेयर दलाल संघका अध्यक्ष भरत रानाभाटले भने, ‘राफसाफले पनि लगानीकर्ताले समयमै सेयर र रकम नपाउँदा केही लगानी घटेको हुन सक्छ ।’

सेयर बजारमा वाणिज्य बैंक समूहको परिसूचकबाहेक सबै समूहगत परिसूचकमा सुधार भएको छ । बुधबार १ सय ७ कम्पनीको मूल्य बढ्दा वाणिज्य बैंकबाट एभरेस्ट, सिटिजन्स र प्राइम कमर्सियल बैंकको मात्र मूल्य बढेर कारोबार भएको छ । 

पुँजी आधारलगायतका तुलनात्मक रूपमा बलिया मानिएका वाणिज्य बैंकहरूको नाफा रकम कम भएपछि मूल्य घटिरहेको भए पनि अन्य समूहमा भने लगानीकर्ताले कम्पनीका आधारभूत पक्षहरूलाई समेत बिर्सिएर लगानी गरिरहेका छन् । वित्तीय अवस्था नै थाहा नभएको र सञ्चित नोक्सान रहेका जलविद्युत् कम्पनीमा समेत लगानीकर्ता खेलिरहेका छन् । अंकित मूल्यभन्दा कम र आसपास मूल्य रहेकै आधारमा लगानीकर्ता जलविद्युत् कम्पनीमा रणनीति बनाएर कारोबार गरिरहेका छन् ।